आँप सीमामा कडाइ, बजारमा निर्बाध बिक्री

सिराज खान

भारतबाट व्यक्तिगत उपभोगका लागि आँप ल्याउन कडाइ गरिए पनि नेपालगन्जका बजारमा भारतीय आँप भने खुलेआम बिक्री भइरहेको पाइएको छ । जमुनाहा नाकाबाट दुई किलो आँप लिएर आएका सर्वसाधारणलाई समेत सुरक्षाकर्मीले फर्काइरहेका बेला बजारका विभिन्न स्थानमा भारतीय आँप खुलेआम बिक्री हुन थालेपछि यसको आपूर्तिमाथि प्रश्न उठेको छ ।

नेपालगन्जका उपभोक्ताले सीमामा सर्वसाधारणमाथि कडाइ गरिए पनि ठूलो परिमाणमा भारतीय आँप बजारसम्म कसरी आइपुगिरहेको छ भन्ने विषयमा छानबिन हुनुपर्ने माग गरेका छन् । नेपालगन्ज–११ ईदगाह रोडका राजु जसगढले त्रिभुवन चोकदेखि अस्पताल रोड, धम्बोझी चोक, त्रिवेणी मोड र बीपी चोकलगायतका स्थानमा साइकल, ठेला र पसलमार्फत भारतीय आँप बिक्री भइरहेको बताए। उनले भने, ‘भारतबाट दुई किलो आँप किनेर ल्याउँदा सुरक्षाकर्मीले फर्काइदिए। तर यति धेरै आँप बजारमा कसरी आयो भन्ने प्रश्न उठेको छ ।’

नेपालगन्ज सदरलाइनका जावेद राईले पनि नाकाबाट उपभोक्तालाई आँप ल्याउन नदिइए पनि बजारमा भारतीय नागरिकले भारतीय आँप बिक्री गरिरहेको दृश्य देख्दा उपभोक्ता आश्चर्यमा पर्ने गरेको बताए । सीमामा लागू गरिएको व्यवस्था र बजारको वास्तविक अवस्था एकअर्कासँग मेल नखाएको उनको भनाइ छ ।

नेपालगन्ज र आसपासका क्षेत्रमा आँप उत्पादन न्यून रहेकाले स्थानीय उपभोक्ता हरेक वर्ष भारतबाट आउने आँपमै निर्भर रहने गरेका छन् । यस वर्ष सीमाबाट आँप ल्याउन नपाउँदा उपभोक्ताले बजारमा महँगो मूल्य तिरेर आँप किन्नुपरेको गुनासो गरेका छन्। अहिले नेपालगन्ज बजारमा भारतीय आँप प्रतिकिलो २०० देखि २५० रुपैयाँसम्ममा बिक्री भइरहेको स्थानीयले बताएका छन् ।

नेपालगन्ज–७ गगनगन्जका दिनेश मानन्धरले रुपैडिहामा ७० देखि ८० रुपैयाँ प्रतिकिलोमा पाइने आँप नेपालगन्जमा २०० रुपैयाँभन्दा बढी तिरेर किन्नुपरेको बताए। सीमाबाट उपभोक्तालाई ल्याउन रोक लगाएपछि बजारमा मूल्य अस्वाभाविक रूपमा बढेको उनको भनाइ छ ।

यता, नेपालगन्जको त्रिभुवन चोकमा भारतीय आँप बिक्री गरिरहेका भारतको नवाबगन्जका रमेश मौर्यले नाकामा रोक भए पनि विभिन्न उपाय अपनाएर आँप नेपाल ल्याउने गरेको स्वीकार गरे। उनले दैनिक एकदेखि दुई क्यारेटसम्म आँप ल्याउने गरेको बताए। उनका अनुसार एक क्यारेटमा २० किलो आँप हुन्छ ।

सीमापारिबाट खानका लागि आँप ल्याउन नपाएपछि यस वर्ष पर्याप्त मात्रामा आँप खान नपाएको गुनासो अधिकांश स्थानीयले गरेका छन्। सीमामा लागू गरिएको कडाइले सर्वसाधारण प्रभावित भए पनि बजारमा भारतीय आँपको बिक्री भने रोकिएको देखिएको छैन ।

जमुनाहा नाकामा खटिएका सुरक्षाकर्मीले केरा र आँप नेपाल भित्र्याउन रोक लगाइएको बताएका छन् । ड्युटीमा रहेका एक प्रहरीले केरा, आँपलगायत प्रतिबन्धित वस्तु नेपाल ल्याउन कडाइ गरिएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले भारतबाट केरा, आँपलगायत रोक लगाइएका वस्तु नेपाल ल्याउन नदिइएको बताए । उनले बजारमा भारतीय आँप कसरी बिक्री भइरहेको छ भन्ने विषयमा आवश्यक छानबिन गरिने जानकारी दिए ।

Exit mobile version