खेलकुदको सामाजिक भूमिकामाथि मन्थन
बाँकेका अग्रज खेलाडी तथा खेलकर्मीलाई सम्मान गर्दै खेलकुदले समाज निर्माणमा पार्ने प्रभावबारे नेपालगन्जमा आज शनिबार व्यापक छलफल हुने भएको छ । महेन्द्र पुस्तकालयले ‘खेलकुदले बनाउने समाज’ विषयमा ‘समाज मन्थन’ आयोजना गर्दै खेल क्षेत्रसँग जोडिएका व्यक्तिलाई एकै मञ्चमा ल्याउन लागेको हो ।
त्यसक्रममा बाँकेमा लामो समयदेखि खेलकुदको विकास र प्रवद्र्धनमा योगदान पु¥याएका अग्रज खेलाडी तथा खेलकर्मीलाई पुस्तकालयबाट बृहत सम्मान गरिने आयोजकले जनाएको छ । खेलकुद र समाजबीचको सम्बन्ध, खेल पूर्वाधारको उपयोग, खेल संस्कृतिको विकास तथा नेपालगन्जको खेलकुदको भावी दिशाबारे छलफलसँगै सम्मान कार्यक्रम आयोजना गरिएको पुस्तकालयको भनाइ छ ।
जुमा स्पोट्र्स क्लबसँगको सहकार्यमा महेन्द्र पुस्तकालयको सामाजिक सरोकार उपसमितिले कार्यक्रम आयोजना गरिरहेको हो । प्रतिनिधिसभा सदस्य मो. इस्तियाक राई, नगर प्रमुख प्रशान्त विष्ट, पूर्व खेलकुद मन्त्री महेश्वर गहतराज, दलका जिल्लास्थित नेतृत्व, युवा खेलाडी, पूर्व खेलाडी लगायत समाजका अगुवाहरुको सहभागितामा कार्यक्रम गरिने आयोजकको भनाइ छ ।
सामाजिक सरोकार उपसमितिका संयोजक नरेन्द्रजंग पिटरले खेलकुदलाई प्रतियोगितामा मात्र सीमित गरेर हेर्न नहुने बताए । उनका अनुसार, खेल सामाजिक सद्भाव, अनुशासन, सहकार्य र समुदाय निर्माणसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले त्यसबारे गम्भीर बहस आवश्यक छ ।
उनले कार्यक्रमबारे दैनिक नेपालगन्जसँग भने, ‘समाज र खेलकुदबीचको सम्बन्धलाई नयाँ ढंगले उठान गर्न हामीले समाज मन्थन आयोजना गरेका हौं । खेलकुद प्रतियोगितामा मात्र सीमित विषय होइन । यो सामाजिक सद्भाव, अनुशासन, सहकार्य र समुदाय निर्माणसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो । त्यसैले यसबारे गम्भीर छलफल आवश्यक ठानेका छौं ।’
