देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

राष्ट्रियस्तरको ‘लुम्बिनीएक्स’ ह्याकाथन श्रावण २३ देखि, उत्कृष्ट १० टोलीबीच ४८ घण्टे प्रतिस्पर्धा

सजल गैरे

विद्यार्थीमा नवप्रवर्तन, सिर्जनशील सोच तथा वास्तविक समस्या समाधान गर्ने क्षमता विकास गर्ने उद्देश्यले राष्ट्रियस्तरको ४८ घण्टे लुम्बिनीएक्स’ ह्याकाथन आगामी श्रावण २३ देखि २५ गतेसम्म रूपन्देहीस्थित लुम्बिनी सिटी कलेजमा आयोजना हुने भएको छ।

लुम्बिनी सिटी कलेजका विद्यार्थीद्वारा स्थापित प्रविधिमूलक समुदाय लुम्बिनी एलिटको आयोजनामा हुन लागेको ह्याकाथन ‘Spirituality Meets Innovation’ नारासहित सञ्चालन हुनेछ।प्रतियोगितामा देशभरका विद्यालय र स्नातक तहमा अध्ययनरत विद्यार्थीले तीनदेखि चार सदस्यीय टोलीमार्फत सहभागिता जनाउने अवसर पाउनेछन्।

आयोजकका अनुसार देशभरबाट आवेदन संकलन भइरहेको छ। प्राप्त आवेदनमध्ये उत्कृष्ट १० टोली छनोट गरी लुम्बिनीमा प्रत्यक्ष प्रतिस्पर्धाका लागि आमन्त्रण गरिनेछ।

कार्यक्रम पर्यवेक्षक निशान भुर्तेलले हालसम्म अपेक्षाभन्दा धेरै टोलीले दर्ता गरिसकेको जानकारी दिँदै उत्कृष्ट १० टोली छनोट गर्नु चुनौतीपूर्ण हुने बताए।

“अहिलेसम्म निकै उत्साहजनक दर्ता भएको छ। उत्कृष्ट १० टोली मात्र छनोट गर्नुपर्ने भएकाले प्रतिस्पर्धा निकै कडा हुनेछ। हाम्रो टोलीले विभिन्न राष्ट्रिय ह्याकाथनमा सहभागिता जनाएर पुरस्कारसमेत जितेको अनुभवका आधारमा निष्पक्ष रूपमा उत्कृष्ट टोली छनोट गर्नेछौं,” उनले भने।

कार्यक्रम नेतृत्वकर्ता आयुष चापागाईंले पहिलो संस्करणमै उत्कृष्ट कार्यक्रम आयोजना गर्ने लक्ष्यसहित तयारी भइरहेको बताए। उनका अनुसार प्रायोजक व्यवस्थापनलगायत आवश्यक तयारी तीव्र रूपमा अघि बढिरहेको छ।

“यो हाम्रो पहिलो संस्करण भए पनि यसलाई राष्ट्रियस्तरमै उदाहरणीय बनाउने लक्ष्यका साथ काम गरिरहेका छौं। सबै पक्षको सहयोग र सहभागिताले कार्यक्रम अझ प्रभावकारी बन्ने विश्वास लिएका छौं,” उनले भने।

त्यस्तै कार्यक्रम संयोजक अभिष्कार ढेंगाले विभिन्न ह्याकाथनमा सहभागी भएर प्राप्त अनुभवलाई आधार बनाएर यस प्रतियोगिताको अवधारणा तयार गरिएको बताए।

“हामीले विभिन्न ह्याकाथनमा सहभागी हुँदा मन परेका पक्ष र सुधार गर्नुपर्ने विषयलाई समेटेर यो कार्यक्रम तयार गरेका छौं। सहभागीलाई उत्कृष्ट अनुभव दिने हाम्रो प्रयास हुनेछ,” उनले भने।

प्रतियोगिता सुरु हुनुअघि छनोट भएका टोलीलाई भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विशेष भ्रमण गराइनेछ। साथै उत्कृष्ट १० टोलीलाई परियोजना विकास र प्रस्तुतीकरण प्रभावकारी बनाउन Claude ProCanva Pro को सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ।

४८ घण्टासम्म सञ्चालन हुने ह्याकाथनमा सहभागीहरूले उद्योग क्षेत्रका विज्ञ तथा अनुभवी मेन्टरको मार्गदर्शनमा वास्तविक समस्यामा आधारित प्रविधिमूलक समाधान विकास गर्नेछन्। तयार भएका परियोजनाको निर्णायक समितिसमक्ष प्रस्तुतीकरण गरिनेछ, जहाँ उत्कृष्ट टोलीहरू छनोट हुनेछन्।

प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख रुपैयाँ रहेको छ। उत्कृष्ट टोलीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिने आयोजकले जनाएको छ।

लुम्बिनी एलिटले जारी गरेको सन्देशमा भनिएको छ, लुम्बिनीएक्स ह्याकाथन केवल प्रतिस्पर्धा मात्र होइन, विद्यार्थीलाई नवप्रवर्तन, सहकार्य र उद्यमशीलतासँग जोड्ने साझा प्लेटफर्म हो। यसले नेपालको प्रविधि तथा स्टार्टअप इकोसिस्टमलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने हाम्रो विश्वास छ।”

आयोजकका अनुसार ह्याकाथनले विद्यार्थीमा सिर्जनशील सोच, टोलीगत कार्य, नेतृत्व क्षमता र वास्तविक समस्याको प्रविधिमार्फत समाधान खोज्ने अभ्यासलाई प्रवर्द्धन गर्नेछ। साथै युवा प्रतिभालाई उद्योगसँग जोड्दै नयाँ स्टार्टअप तथा नवप्रवर्तनका सम्भावनालाई समेत प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले www.lumbinix.com मार्फत अनलाइन दर्ता गर्न सक्नेछन्। थप जानकारीका लागि contact@lumbinix.com मा इमेल गर्न वा ९७६५५७३१७७, ९८२७५०५२६० तथा ९८२७०७८८०० नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

Exit mobile version