कोहलपुरमा हरियाली अभियान

सामुदायिक वन संरक्षणसँगै पूर्वाधार विकासको माग

बाँकेको कोहलपुर नगरपालिका–९ स्थित उषा हरियाली सामुदायिक वन क्षेत्रमा वातावरण संरक्षण, जैविक विविधताको प्रवर्धन र हरियाली विस्तारलाई केन्द्रमा राख्दै २ हजार ४ सय बिरुवा रोप्ने अभियान सुरु गरिएको छ । सामुदायिक वनको दिगो व्यवस्थापनसँगै वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित वृहत् वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको आर्थिक सहयोग, क्लिन अप नेपालको समन्वय तथा एट बिलियन ट्रिज नेपालका नेपाल निर्देशक हेमन्तराज काफ्लेको व्यवस्थापनमा अभियान सुरु भएको हो । अभियानअन्तर्गत महुवा, अर्जुन, हर्रो, सतिसाल, अमला, सितलचिनी, जामुन र खयरलगायतका २ हजार ४ सय बिरुवा रोप्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

‘सामुदायिक वन जोगाऔँ, हरियाली बढाऔँ, सुखी समृद्धि बनाऔँ’ भन्ने मूल नारासहित भएको कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणका यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले जैविक विविधताको संरक्षण, हरित वातावरण निर्माण र सामुदायिक वनको दिगो व्यवस्थापनका लागि सरकारी, निजी तथा स्थानीय समुदायबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल यादव थिए । लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले वन संरक्षण, जैविक विविधता र भावी पुस्ताका लागि हरियालीको महत्वबारे धारणा राखिन् ।

नेपाली कांग्रेस बाँकेका जिल्ला सचिव सुधांशु कोइरालाले चीन भ्रमणका क्रममा देखिएका हरित विकासका अनुभव सुनाउँदै सामुदायिक वनमा फलफूलका बिरुवा रोप्न विशेष प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘हरियाली विस्तारसँगै स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रम आवश्यक छन् ।’

नागरिक समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठले वातावरण संरक्षण र सामुदायिक वनको विकासमा सबै पक्षको साझा सहकार्य अपरिहार्य रहेको बताए ।

Exit mobile version