रहेनन् पूर्वमन्त्री थारु

सात पटक मन्त्री बनेका फत्तेह सिंह थारुको निधन, आज शुक्रबार राप्ती किनारमा अन्त्येष्टि गरिंदै

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक वरिष्ठ नेता, पूर्वमन्त्री तथा बाँकेका अग्रज राजनीतिक व्यक्तित्व फत्तेह सिंह थारुको ८६ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।

उपचारका लागि नेपालगन्जस्थित वेस्टर्न अस्पताल आफै पुगेका थारुको उपचारकै क्रममा निधन भएको हो । सक्रिय जीवनयापन गरिरहेका उनी सधैजसो विहीवार विहानैपनि ‘मर्निङ वाक’मा निस्किएका थिए । दैनिक नेपालगन्जका नियमित पाठक उनी कार्यालयमै पुगेर कमीकमजोरीबारे सम्पादकीय सजगतामा सचेत गराउँथे ।

राप्रपा नेतृ मीना श्रेष्ठले विहीवार बिहान नियमित मर्निङ वाकबाट घरवारीटोलस्थित आफ्नै निवास फर्किएका उनी सामान्य असहज महसुस गरेपछि आफै अस्पताल पुगेका थिए । लुम्बिनी प्रदेश सभा सदस्यसमेत रहेकी श्रेष्ठले दैनिक नेपालगन्जसँग भनिन्, ‘रुटिन चेकअपका लागि पुगेका बेला वरिष्ठ चिकित्सक डा. विकास नेपालले अवस्था बिग्रिएको बताएपछि सघन उपचारमा लागिएको रहेछ ।’ उपचारका क्रममा केही बेरमै उनको निधन भएको घोषणा चिकित्सकले गरेका थिए ।

परिवारका अनुसार, थारुको अन्तिम दाहसंस्कार शुक्रबार राप्ती नदीको सिधनियाघाटमा गरिने भएको छ । उनका दुई पत्नी र चार छोराछोरी छन् । राप्रपा सहमहामन्त्री ऋषिराज देवकोटाले राष्ट्रिय सम्मानका साथ पार्टीले श्रद्धान्जली अर्पण गर्ने र त्यसका लागि पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु नेपालगन्ज आइपुग्ने बताए ।

बाँकेको राजनीतिलाई लामो समयसम्म प्रभाव पार्ने थारु राष्ट्रिय राजनीतिमा पनि परिचित अनुहार थिए । पञ्चायत व्यवस्था र बहुदलीय व्यवस्थादेखि नै सक्रिय राजनीतिक यात्रा बनाएका उनले शिक्षा, सञ्चार, कृषि, रक्षा, उद्योग तथा वाणिज्यसहित सात पटक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

पञ्चायतकालमा उनी २०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए । बहुदलीय व्यवस्था स्थापनापछि २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

राजनीतिक जीवनको सुरुआत उनले पञ्चायतकालमै गरेका थिए । विसं २०२३ सालमा बाँकेको हस्नापुर गाउँ पञ्चायतको प्रधानपञ्च निर्वाचित भएपछि उनले सक्रिय राजनीति थालेका थिए । त्यसपछि तीन पटक बाँके जिल्ला पञ्चायतको सभापति बने । गाउँफर्क राष्ट्रिय अभियान केन्द्रीय समितिको सदस्यको जिम्मेवारी पनि एक पटक सम्हालेका थिए ।

साहित्यकार खगेन्द्र गिरि कोपिलाका अनुसार थारु पश्चिम नेपालको थारु समुदायबाट एमए डिएफए गर्ने पहिलो व्यक्ति थिए । उनी तराईमूलका समुदायबाट नेपालको रक्षामन्त्री बन्ने पहिलो व्यक्ति पनि रहेको कोपिलाले बताए ।

फत्तेह सिंह थारुको जन्म विसं १९९६ सालमा थपुवा गाउँमा भएको थियो । दैनिक नेपालगन्ज आफ्नो असल पाठक, देशको चिन्तक गुमाएकोमा भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछ ।

Exit mobile version