सरकारले बजेटसँगै ल्याएको नयाँ आर्थिक ऐन अनुसार, केही क्षेत्रमा कर लगाएको छ भने केही क्षेत्रमा राहत दिएको छ । सरकारले लगाएको कर र छुट सम्बन्धी व्यवस्था नयाँ आर्थिक बर्ष २०८३/०८४ आज सुरु भएसँगै लागु हुनेछ ।
आर्थिक ऐन अनुसार आजबाट आयकर ऐनमा परिवर्तन आउनेछ । आयकरमा प्राकृतिक व्यक्तिले गर्ने १० लाख रूपैयाँसम्मको आम्दानीमा एक प्रतिशत मात्रै कर लाग्नेछ । त्यसभन्दा माथि आयकरको स्ल्याब र दर समेत परिवर्तन हुनेछ ।
अबदेखि कुनै १० लाखसम्मको आम्दानीमा १ प्रतिशत, १० देखि १५ लाखसम्मको आयमा १० प्रतिशत, १५ लाखदेखि २५ लाखसम्म २० प्रतिशत, २५ लाखदेखि ४० लाख रूपैयाँसम्मको आम्दानीमा २७ प्रतिशत र ४० लाखभन्दा बढी आम्दानी हुँदा बढी हुने आम्दानीको २९ प्रतिशत कर लाग्ने व्यवस्था लागु हुनेछ । हाल यस्तो दर ३९ प्रतिशतसम्म रहेको छ भने एक प्रतिशतको स्ल्याब समेत ५ लाख रूपैयाँ मात्रै छ । यसबाहेकका दरहरू भने उपभोक्तालाई भर पर्ने खालका छन् ।
आजदेशि विलासिता शुल्क, सीप प्रवद्र्धन शुल्क, शिक्षा समता शुल्क, स्वास्थ्य समाता शुल्क, क्यासिनोको रोयल्टी र राइड सेयरिङ शुल्क शुक्रबारदेखि नै लागु हुनेछन् ।
शिक्षा समता शुल्क आज देखि लागु हुनेछ । आजदेखि निजी शैक्षिक संस्थाले विद्यार्थीका अभिभावकसँग लिने सबै शुल्कमा ३ प्रतिशतको दरमा यस्तो शुल्क लाग्नेछ ।
त्यस्तै, स्वास्थ्य समता शुल्कको नाममा लगाइएको शुल्कले निजी स्वास्थ्य संस्थामा उपचार गर्दा लाग्ने खर्चमा अबदेखि ३ प्रतिशत थप शुल्क लाग्नेछ ।
आज शुक्रबारदेखि क्यासिनोहरूले तिर्नुपर्ने रोयल्टी पनि बढेको छ । हालसम्म वार्षिक डेढ करोड रूपैयाँ रोयल्टी तिर्दै आएका यस्ता मिनी क्यासिनोहरूले अब वार्षिक ३ करोड रूपैयाँ रोयल्टी तिर्नु पर्नेछ ।
सरकारले यसपटकदेखि मासिक ५० युनिटभन्दा धेरै विद्युत्को खपतमा ५ प्रतिशत कर लगाउने व्यवस्था गरेको छ । यो करको सम्बन्धमा विरोध भएपछि सरकारले अन्तिम उपभोक्तामा भार नपर्ने गरी व्यवस्था गर्ने भने पनि अहिलेसम्म त्यस्तो कुनै वैकल्पिक व्यवस्था गरेको छैन । नयाँ व्यवस्था नभएको अवस्थामा यो शीर्षकको भार समेत उपभोक्तालाई थप हुनेछ ।
