अदालत जलाइँदा न्याय प्रभावित

भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा गरिएको आगजनीका कारण न्याय सेवा प्रभावित भएको छ । आगजनीको क्षतिका कारण आर्थिक बर्ष २०८२/०८३ सकिंदासम्म पनि अदालत पूर्ववत् अवस्थामा सञ्चालनमा आउन सकेको छैन ।

आगजनीमा अदालतमा रहेका मिसिल, भवन, पूर्वाधार, विभिन्न प्राविधिक सामानहरू जलेका थिए । जसले गर्दा अदालतले आगजनी पूर्वको अवस्थामा न्याय सम्पादनका काम गर्न नसकेको हो ।

‘अत्यावश्यक सेवा आगजनीको केही समयपछि सुरु भएपनि चार महिना मुद्दाको सुनुवाई रोकिएको थियो’, अदालतको प्रमुख जिम्मेवारीमा रहेका न्यायाधीश बामदेव ज्ञवालीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘आगजनीमा अदालतका ७ सय ५३ वटा मिसिल जलेका थिए ।’ न्यायाधीश ज्ञवालीले उक्त मिसिल प्राप्ति र प्रमाणीकरण गरिएको बताए । ‘अदालतमा जलेका मिसिलहरू पुनः प्राप्ति गरेका छौं’, उनले भने, ‘मुद्दामा रहेका कागजातहरू अर्को निकायबाट संकलन गरेका छौं ।’

अदालत आगजनी पछि अहिले पनि इजलास पूर्वतत् सञ्चालनमा छैनन् । जसले मुद्दाको फस्र्यौट प्रभावित भएको छ । विगत तीन आर्थिक वर्षको तथ्यांकले फछ्र्यौट दरमा कमी आएको देखाएको छ । आर्थिक वर्ष २०८०÷८१ मा ७१.४१ प्रतिशत र २०८१÷८२ मा ७५.७४ प्रतिशत
फछ्र्यौट भएको थियो भने आर्थिक वर्ष २०८२÷८३ मा यो दर घटेर ६२.६० प्रतिशतमा झरेको छ ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास न्यायाधीश ज्ञवालीले गत आर्थिक वर्ष २०८२÷८३ मा कुल लगत रहेका २ हजार १ सय ६३ मुद्दामध्ये १ हजार ३ सय ५४ वटा मुद्दा फछ्र्यौट गरिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा आर्थिक बर्ष २०८१÷०८२ बाट जिम्मेवारी सरेका ६ सय ४२ र आ.व. २०८२÷०८३ मा दर्ता भएका १ हजार ५ सय २१ गरी कुल २ हजार १ सय ६३ मुद्दा लगतमा रहेका थिए । तीमध्ये १ हजार ३ सय ५४ मुद्दा फछ्र्यौट भएको ८ सय ९ मुद्दा चालु आ.व. २०८३÷०८४ का लागि सरेका छन् ।

वार्षिक कार्ययोजना अनुसार अदालतले २ हजार ४ सय ९० मुद्दाको लगत रहने अनुमान गर्दै १ हजार ७ सय ४३ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेको थियो । सोही आधारमा लक्ष्य अनुसार ७७.७ प्रतिशत उपलब्धि हासिल भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

यस्तै बाँके र बर्दिया जिल्ला अदालतमा आर्थिक वर्ष २०८२÷८३ मा दर्ता तथा जिम्मेवारी सरेका मुद्दामध्ये बाँकेमा २ हजार ७ सय ३३ र बर्दियामा १ हजार ३ सय १२ मुद्दा फछ्र्यौट भएका छन् ।

बाँके जिल्ला अदालतमा कुल ७ हजार ४७ वटा मुद्दामध्ये २ हजार ७ सय ३३ मुद्दा फछ्र्योट भएको छ भने ४ हजार ३ सय १४ मुद्दा अझै विचाराधीन रहेका छन् । यस अनुसार बाँके जिल्ला अदालतको फछ्र्याैट दर करिब ३८.८ प्रतिशत रहेको देखिन्छ ।

त्यस्तै, बर्दिया जिल्ला अदालतमा कुल १ हजार ९ सय ९४ मुद्दामध्ये १ हजार ३ सय १२ मुद्दा फछ्र्यौट भएको छ भने ६ सय ८२ मुद्दा बाँकी रहेका छन् । बर्दिया जिल्ला अदालतको फछ्र्योट दर करिब ६५.८ प्रतिशत रहेको छ ।

उच्च अदालत तुलसीपुर नेपालगन्जका न्यायाधीश ज्ञवालीले भवन मर्मतका सम्बन्धमा गरिएको प्रश्नमा प्रदेश सरकारबाट ६ लाख र सर्वोच्च अदालतबाट प्राप्त २५ लाख बजेट अनुसारको मर्मत, सम्भारको काम भएको र क्षतिग्रस्त भवन नयाँ बनाउने प्राविधिक सुझाव आएको जानकारी दिए । ‘अब भवनको काम सम्बन्धित निकायबाट हुन्छ’, उनले भने ।

अदालतकी शाखा अधिकृत अमृता केसीले सञ्चालन गरेको कार्यक्रममा न्यायाधीशहरू मुनेन्द्र प्रसाद अवस्थी, शकुन्तला घिमिरे, कोशलचन्द्र सुवेदी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो ।

Exit mobile version