भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गर्दै आएको ‘भरोसा मेहेन्दी उत्सव २०८३’ सुरु भएको छ ।
महिलाको सम्मान र साउन महिनाको पावन अवसर पारेर वर्षेनी मेहेन्दी उत्सव आयोजना गर्दै आएको भरोसा बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रवारदेखि चौथो संस्करण आयोजना गरेको हो । पहिलो दिन शुक्रवार उत्सव निकै उल्लासमय रहेको आयोजकले जनाएको छ ।
साउन ८ गतेसम्म चल्ने यो आयोजना महिलाहरुका लागि एउटा उत्सवनै भएको आयोजक भरोसाका प्रमुख कार्यकारी अधिकृत तेजबहादुर रावलले जानकारी दिए । ‘यसलाई वित्तीय साक्षरतासँगै महिलाहरुले मनाउँदै आएको साउने पर्वसँग पनि जोडेर उत्सवको आयोजना गरिएको हो,’ स्थापनाकाल देखिनै मेहन्दी उत्सव मनाउँदै आएको भरोसाले यसको निरन्तरता दिइरहेको जानकारी दिंदै रावलले भने ।
संस्थाका अनुसार, मेहेन्दी उत्सव प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । जहाँ कलात्मक महेन्दीदेखि उपहारसम्मका कार्यक्रम गरिएका छन् । ‘यो पूर्ण रुपमा निःशुल्क हो,’ भरोसाका प्रमुख कार्यकारी अधिकृत रावलले दैनिक नेपालगन्जसँग भने, ‘नेपाली संस्कृतिमा साउन महिना र मेहेन्दीको विशेष महत्त्वलाई मध्यनजर गर्दै महिला दिदीबहिनीहरूका लागि यो कार्यक्रम ल्याइएको हो ।’
