आज शनिवार नेपालगन्ज कोरा २०२६ आयोजना गरिदैछ । नेपालगन्ज साइक्लिङ क्लबले आज बिहान ७ बजेदेखि नेपालगन्ज–गणेशपुरस्थित बौद्ध गुम्बाबाट कोराको औपचारिक शुभारम्भ हुने जनाएको छ । कार्यक्रममा बाँकेका १०० भन्दा बढी साइकल राइडर स्वस्फूर्त रूपमा सहभागी हुने क्लबले जानकारी दिएको छ ।
नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष कविराम बुढाथोकीले कोराको सम्पूर्ण व्यवस्थापकीय तयारी सकिएको बताए । ‘नेपालगन्ज कोरा २०२६ का सबै तयारी पूरा भइसकेका छन्,’ उनले भने, ‘बाँकेका १०० भन्दा बढी साइकल राइडरहरूको उत्साहजनक सहभागिता रहनेछ ।’
कार्यक्रम संयोजक सुनिल सिंह हमालका अनुसार, यस वर्षको कोरा २५ किलोमिटर, ५० किलोमिटर र १०० किलोमिटर गरी तीन विधामा सञ्चालन हुनेछ । सहभागीहरूले आफ्नो क्षमता र रोजाइअनुसार तीनमध्ये कुनै एक दूरीमा साइकल यात्रा गर्नेछन् ।
२५ किलोमिटर समूहलाई अजय केसी र प्रकाश बिष्टले नेतृत्व गर्नेछन् । ५० किलोमिटर समूहको रुट गाइड तथा कमान्डिङको जिम्मेवारी आर्यन बाहुन र अशोक दीक्षितले सम्हाल्नेछन् । त्यसैगरी १०० किलोमिटर समूहलाई दिनेश थापा र बाबुराम विश्वकर्माले नेतृत्व गर्ने क्लबका कोषाध्यक्ष राजेशकुमार गुप्ताले जानकारी दिए ।
बागेश्वरीबाट शुरु हुने कोरा एकलैनीको जामे मस्जिद, चारबाहिनी चोक, गणेशमान चोक हुँदै भेरी प्राविधिक चोक पुगेर पश्चिमतर्फ रहेको ज्योति चर्चलाई दाहिने पार्दै गुरुद्वारातर्फ यात्रा अघि बढ्नेछ । त्यहाँबाट धम्बोजी, फूलटेक्रा, उरैयानी र घियागाउँ हुँदै साइकलिस्टहरू बेतनी पुग्ने कार्यक्रम रहेको छ ।
क्लबका सहसचिव विष्णु कँडेलले ब्रेकफास्टपछि सम्पूर्ण साइकलिस्ट डुडुवा किनार हुँदै उत्तरपूर्वतर्फको मिलनचोक पुग्ने जानकारी दिए । उनले १०० किलोमिटर दूरीमा सहभागी हुने साइकलिस्टहरू त्यसपछि सिधनिया घाट, फत्तेपुर, बिनौना, बैजापुर, घुर, भवानियापुर मन्दिर हुँदै अगैया पुगेर दिउँसोको भोजन गर्ने कार्यक्रम रहेको बताए ।
त्यसपछि १०० किलोमिटर समूह शम्शेरगन्ज, जिरो, कचनापुर गाउँ, समशेरगन्ज बजार, ढकेरी र कोहलपुर हुँदै पुनः नेपालगन्ज फर्किनेछ । सोहीसँगै नेपालगन्ज कोरा २०२६ को औपचारिक समापन हुने जनाइएको छ ।
क्लबका सल्लाहकार प्रदीपकुमार सापकोटाले कोरा केवल साइकल यात्रा मात्र नभई सामाजिक अभियान पनि भएको बताए । ‘कोराले समाजमा धार्मिक सहिष्णुता, सद्भाव, आपसी सम्बन्ध, वातावरण संरक्षण, स्वास्थ्य सचेतना र खेलकुद संस्कृतिको प्रवद्र्धनमा निरन्तर योगदान दिँदै आएको छ,’ उनले दैनिक नेपालगन्जसँग भने ।
