बाल सुधार गृहमा हरियाली अभियान

रोपिए विभिन्न प्रजातिका बिरुवा र केराका बोट

डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बाल सुधार गृह परिसरमा शनिबार विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा र केराका बोट रोपेर वृहत् हरियाली अभियान सञ्चालन गरिएको छ । बास नेपाल वातावरण विभागको आयोजनामा भएको कार्यक्रममा वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण र साउन महिनालाई हरित महिनाका रूपमा मनाउने सन्देश प्रवाह गरिएको हो ।

कार्यक्रमअन्तर्गत जिल्ला वन डिभिजन कार्यालयको सहयोगमा पारिजात, अर्जुन, कटहर, सितलचिनी, कल्की लगायतका वातावरणीय तथा बहुउपयोगी बिरुवा रोपिएका छन् । फलफूल उत्पादनसँगै परिसरलाई हराभरा बनाउने उद्देश्यले केराका बिरुवासमेत रोपिएको आयोजकले जनाएको छ ।

वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले बिरुवा रोप्दै वातावरण संरक्षणलाई व्यवहारमा उतार्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले भने, ‘बिरुवा रोप्नु भनेको भावी पुस्ताको जीवन सुरक्षित गर्नु हो ।’ उनले जलवायु परिवर्तनका चुनौती सामना गर्न प्रत्येक नागरिकले वर्षमा कम्तीमा एक बिरुवा रोपेर त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए । ‘प्रकृतिप्रतिको जिम्मेवारी पूरा गर्नु नै दिगो विकासको आधार हो,’ उनले भने ।

कार्यक्रमका सभापतिले जयन्दु बाल सुधार गृहमा केराका बिरुवा तथा विभिन्न प्रजातिका वृक्ष रोपिएको उल्लेख गर्दै यस्ता अभियानले बालबालिकामा प्रकृतिप्रतिको माया, जिम्मेवारी र आत्मनिर्भरताको भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने बताए । उनले वातावरण संरक्षणका क्षेत्रमा बास नेपालले निरन्तर सञ्चालन गर्दै आएका अभियानको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने धारणा राखे ।

सहभागीहरूले वृक्षारोपण अभियानले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र सामाजिक उत्तरदायित्वलाई एउटै अभियानमार्फत जोडेको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार यसले बाल सुधार गृहको परिसरलाई थप हराभरा बनाउनुका साथै बालबालिकालाई प्रकृतिसँग जोड्ने अवसर पनि सिर्जना गरेको छ ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले आगामी दिनमा पनि यस्ता वृक्षारोपण अभियानलाई निरन्तरता दिइने जानकारी दिए। उनका अनुसार वातावरण संरक्षणलाई व्यवहारमै स्थापित गर्ने उद्देश्यले विभिन्न स्थानमा हरित अभियान सञ्चालन गरिनेछ ।

कार्यक्रममा जग्गादाता तथा संरक्षक जेकेएस सिंह, नागरिक समाज संयोजक कृष्णप्रसाद श्रेष्ठ, लाइन्सका पूर्व गभर्नर मधुसूदन शर्मा, नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय महामन्त्री मीनबहादुर मल्ल, लुम्बिनी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष हंश खनाल, अन्तरालका अध्यक्ष जयनारायण शाह, बास नेपालका अध्यक्ष शिवकुमार वर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, हेमराज भट्ट, हरित अभियन्ता तथा बास नेपाल वातावरण विभागका संयोजक हेमन्तराज काफ्ले, समाजसेवी कमल काफ्ले, दैलेखी समाजका डिबी थापा तथा रविन्द्र बोहरालगायतको सहभागिता रहेको थियो ।

आयोजकका अनुसार कार्यक्रममा रोपिएका ५० भन्दा बढी केराका बिरुवा देबेन्द्र अधिकारीले सहयोग गरेका थिए । वृक्षारोपण कार्यक्रममा सामाजिक व्यक्तित्व तथा वातावरण अभियन्ताको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।

Exit mobile version