नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले बाँकेका ग्रामीण क्षेत्रमा सञ्चालन गरेको विद्युत चुहावट नियन्त्रण अभियानका क्रममा १४ थान बेवारिसे मिटर फेला परेका छन् । ती मिटरबाट करिब २ लाख ५० हजार युनिट बराबरको विद्युत खपत भएको पहिचान गरिएको हो । उक्त परिमाणलाई राजश्वको दायरामा ल्याई लगत कायम गर्ने प्रक्रिया सुरु गरिएको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण खजुरा उपवितरण केन्द्रका इन्चार्ज दिनेश वलीका अनुसार, अभियानका क्रममा विभिन्न स्थानमा गरिएको फिल्ड निरीक्षणबाट बेवारिसे मिटर फेला परेका हुन् । उनले भने, ‘बेवारिसे मिटरबाट करिब दुई लाख पचास हजार युनिट बराबरको विद्युत खपत पहिचान गरी त्यसलाई राजश्व दायरामा ल्याइ लगत कायम गर्ने प्रक्रिया सुरु गरिएको छ ।’
अभियानका क्रममा मिटरमा स्वीकृत क्षमता ५ एम्पियर मात्रै भए पनि नियमविपरीत १६ एम्पियर र ३२ एम्पियरसम्मका एमसिबी प्रयोग गरिरहेको अवस्थामा ७४३ जना ग्राहक भेटिएको उपवितरण केन्द्रले जनाएको छ । ती ग्राहकबाट नेपाल विद्युत प्राधिकरणको प्रचलित नियमअनुसार आवश्यक रकम असुल गर्ने प्रक्रिया अघि बढाइएको इन्चार्ज वलीले बताए ।
चुहावट नियन्त्रणसँगै सेवा सुधारलाई पनि अभियानको मुख्य प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ । ग्राहकका गुनासा र विद्युत आपूर्तिसम्बन्धी समस्या फिल्डमै पुगेर सुनुवाइ गर्ने तथा तत्काल समाधान गर्ने कामलाई समानान्तर रूपमा अघि बढाइएको वलीले बताए ।
उनका अनुसार लामो समयदेखि आवाजविहीन तथा पहुँचबाहिर रहेका ग्राहकका समस्यासमेत स्थलगत रूपमा पहिचान गरिएको छ । धेरै स्थानमा तत्काल समाधानसमेत गरिएको उनले बताए । उनले भने, ‘आवाजविहीन तथा पहुँचबाहिर रहेका ग्राहकहरूको समस्यासमेत पहिचान गरी धेरै स्थानमा तत्काल समाधान गरिएको छ । आवश्यकता भएका स्थानहरूमा नयाँ ट्रान्सफर्मर जडान, पोल तथा तार विस्तार, क्षमता अभिवृद्धि तथा नयाँ लाइन विस्तारका कार्यहरू तीव्र गतिमा सञ्चालन भइरहेका छन्, जसले आगामी दिनमा विद्युत आपूर्तिलाई अझ सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ ।’
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रका अनुसार, इन्चार्ज वलीको नेतृत्वमा रहेको टोली गाउँगाउँ पुगेर स्थलगत निरीक्षण, मिटर परीक्षण, विद्युत प्रयोगको अनुगमन तथा सेवा सुधारका काम गरिरहेको छ । अभियानलाई नियमित रूपमा निरन्तरता दिइएको उनले बताए ।
मिश्रका अनुसार चुहावट नियन्त्रणबाट प्राधिकरणको राजश्वमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । अभियानका कारण आगामी दिनमा अझ ठूलो आर्थिक उपलब्धि हासिल हुने विश्वास पनि उनले व्यक्त गरे ।
