गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको नवनिर्वाचित कार्यसमितिले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेको छ । यससँगै निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई प्रमाणपत्र पनि वितरण गरिएको छ।
महासंघको असार १४ गते भएको १०औँ अधिवेशन तथा २३औँ साधारणसभाबाट मन भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । पदभार ग्रहणसँगै नयाँ कार्यसमितिले आगामी कार्यकालको जिम्मेवारी सम्हालेको हो ।
कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहले गैरसरकारी संस्थाहरू सामाजिक रूपान्तरणका महत्वपूर्ण साझेदार भएकाले महासंघलाई अझ सशक्त, एकताबद्ध र परिणाममुखी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए। उनले सदस्य संस्थाको क्षमता अभिवृद्धि, नीति वकालत, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै अघि बढ्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरे।
महासंघ बाँके शाखाका पूर्वअध्यक्ष तेजविक्रम शाहले महासंघले विगतमा निर्माण गरेको संस्थागत गरिमा र विश्वसनीयतालाई थप सुदृढ बनाउनुपर्ने बताए। अनुभव र नयाँ ऊर्जाको समन्वय गर्दै सबै सदस्य संस्थालाई समेटेर महासंघलाई जिल्लाको साझा नागरिक संस्थाका रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ थियो।
नवनिर्वाचित अध्यक्ष मन भण्डारीले आफूलाई नेतृत्वको जिम्मेवारी सुम्पने सम्पूर्ण सदस्य संस्था र प्रतिनिधिप्रति आभार व्यक्त गर्दै महासंघलाई सबै सदस्य संस्थाको साझा मञ्चका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए। सदस्य संस्थाको हकहित संरक्षण, संस्थागत क्षमता अभिवृद्धि, नीति वकालत, सुशासन प्रवद्र्धन तथा स्थानीय सरकार र सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्दै महासंघलाई थप सक्रिय र प्रभावकारी बनाइने उनले बताए।
निर्वाचन समितिका संयोजक केशव कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई प्रमाणपत्र वितरण गरेको थियो। कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य हेमराज भट्टले गरेका थिए।
