भ्रष्टाचार र सुशासनको पक्षमा गत भाद्र २३ र २४ गते आन्दोलन भएपनि भ्रष्टाचार उजुरीमा कमी आएको पाइँदैन ।
गत भाद्र यता भ्रष्टाचारका उजुरी र अख्तियारको कारवाहीको तथ्यांकले भ्रष्टाचार नियन्त्रण हुन नसकेको आंकलन गर्न सकिन्छ । गत जेनजी आन्दोलनमा सरकारी कार्यालयमा भएको आगजनीका कारण भ्रष्टाचार मुद्दामा कागजात माग्दा आगजनी भयो भन्ने जवाफ आउने अख्तियारका अधिकारीहरूले बताउँदै आएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा चालु आर्थिक बर्ष २०८२÷०८३ मा ३३ हजार बढी उजुरी दर्ता भएका छन् । अख्तियारले आफ्नो वेभसाइटमा सार्वजनिक गरेको तथ्यांक अनुसार, देशभर गत आर्थिक बर्षमा ३३ हजार ६ सय ९१ उजुरी दर्ता भएका छन् ।
अख्तियारमा गत आ.व.को जेठ महिनामा ३ हजार ९ सय १३ वटा उजुरी दर्ता भएका हुन् । त्यस्तै, गत बैशाखमा ३ हजार ५ सय २२, चैत्रमा ३ हजार १ सय ९०, फागुनमा १ हजार ३ सय ४५, माघमा २ हजार १ सय २८ वटा भ्रष्टाचार सम्बन्धी उजुरी दर्ता भएका हुन् । गत पुस महिनामा २ हजार ६ सय ७६, मंसिरमा २ हजार ६ सय २९, कार्तिकमा १ हजार ९ सय ४५, असोजमा २ हजार २, भाद्रमा २ हजार २ सय ७६ र गत साउन महिनामा ७ सय ४८ उजुरी दर्ता भएको अख्तियारको तथ्यांक रहेको छ ।
अख्तियार दुरूपयोग आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा गत आ.व.मा ४ सय ४२ उजुरी दर्ता भएको विवरण गत असार मसान्तमा वेभसाइट मार्फत सार्वजनिक गरेको थियो । चार वटा जिल्लाको जिम्मेवारी बहन गर्दै आएको सम्पर्क कार्यालयमा गत असारमा ३९, जेठ महिनामा ५४, वैशाखमा ४३, चैत्रमा ३५, फागुनमा २४, माघमा २६, पुसमा ३५, मंसिरमा ३५, कार्तिकमा २१, असोजमा २५, भाद्रमा ५०, साउनमा २४ उजुरी दर्ता भएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा परेका उजुरीको फस्र्यौट बढ्दो क्रममा रहेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयमा परेका उजुरीहरू सोही आ.व.मा फस्र्यौट हुने प्रतिशत वृद्धि भैरहेको तथ्यांकले देखाएको छ ।
अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले आ.व. २०७९÷८० मा परेका उजुरी मध्ये ६१.४५ प्रतिशत, आ.व. २०८०÷०८१ मा परेका उजुरी मध्ये ८३.८१ प्रतिशत, आ.व. २०८१÷०८२ मा परेका उजुरी मध्ये ८७.७५ प्रतिशत उजुरी फस्र्यौट भएको हो ।
अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जमा आ.व. २०७९÷८० मा ८ सय १२ उजुरी परेकोमा ४ सय ९९, आ.व. २०८०÷०८१ मा १ हजार ४४ उजुरी परेकोमा ८ सय ७५, आ.व. २०८१÷०८२ मा परेका उजुरी मध्ये ७ सय ८८ उजुरी सोही आ.व.मा फस्र्यौट भएका थिए ।
