मल गोदाममा मन्त्री–सांसद, सरकारको ध्यानाकर्षण

बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य मो. इस्तियाक राईले किसानले खेतीका बेला रासायनिक मल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

लुम्बिनी प्रदेशका मन्त्री भण्डारीलाल यादव र सांसद भण्डारी कृषि सामाग्री कम्पनी लिमिटेड नेपालगन्जमा पुगेर रासायनिक मलको स्टक र आपूर्तिको अवस्थाबारे जानकारी समेत लिएका छन् ।

बाँके–२ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री इस्तियाक राईले धान रोपाइँका बेला मल अभावले किसान समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले संसदमा मल अभावको विषय उठाएपछि बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित निकायसँग सहज मल आपूर्तिबारे छलफल गरेका हुन् ।

लुम्बिनी प्रदेशका मन्त्री भण्डारीलाल यादव सहित भएको छलफलमा सांसद राईले देशभित्र मल नपाइरहेका बेला सीमापारी भारतबाट किसानले मल ल्याउन नदिइएकोप्रति असन्तुष्टि जनाए ।
‘तस्करी रोक्नुहोस्, अवैध काम छेक्नुहोस् तर देशभित्र मल नपाएर तड्पिएका कृषकले एक बोरा मल पारीबाट ल्याउँदा दुःख दिने काम नगर्नुहोस्,’ सांसद राईले सीमापारबाट मल ल्याउँदा किसानले उत्पादन बढाउने र त्यसबाट देशको खाद्य सुरक्षा कायम रहने भएकाले त्यसलाई अपराधको दृष्टिले नहेर्न सरकारी निकायलाई आग्रह गरे ।

‘देशभित्रै मल पाइन्छ भने सीमाका जनता अनेक कष्ट झेलेर एक बोरा मल ल्याउन अर्काको देशमा जाँदैनन् । तर हाम्रो सरकारले मलको व्यवस्था गर्न सकेन, परिणाम कृषक मलका लागि अनेक उपाय खोजिरहेका छन्’, उनीहरुले भने ।

Exit mobile version