वीपी कोइरालालाई अर्को कोणबाट

वीपी कोइरालाको विषयमा हुने गरेका केही चर्चा :-

१) सन् १९४२ मा भारतीय कांग्रेसको कार्यकर्ता र भारतीय नागरिकको रुपमा जेल परेका थिए वीपी।

२) नेपालको राणा विरोधी आन्दोलनको प्रसङ्गमा एक पटक भारतमा जेल परेको बेला “म नेपाली होइन भारतीय नागरिक हुँ” भनेर उनी जेलबाट छुटेका थिए।

३) वीपीले एमए एलएलवी पढेको कुरो सत्य होइन। उतिखेर एलएलवी पढेका सूर्यप्रसाद उपाध्याय, भगवतीप्रसाद सिंह, डम्बरशमशेर थापा, कालिप्रसाद उपाध्याय, धनेन्द्रबहादुर सिंह र शम्भुप्रसाद ज्ञवाली जस्ता विद्वान पढेलेखेका वकिलहरुले कि पटना, कलकत्ता या इलाहावादमा बसेर वकालत गरेका थिए कि स्वदेश फर्किएका थिए। तर वीपी भने दार्जिलिङ पुगेका थिए। दार्जिलिङमा उनलाई दाइ पर्ने धरणीधर कविले हरिप्रसाद प्रधानको ल फर्ममा लेखनदासको काम मिलाइदिएका थिए। वीपीले त्यहाँ वकालत गरेनन् । एलएलवी नगरेकोले त्यो अधिकार पाएनन् । लेखनदासको काम मात्रै गरेका हुन्। एलएलवी गरेका भए त कलकत्ता, पटना र इलाहावादका हाइकोर्टमै बसेर शानसंग वकालत गर्दा हुन्। यस्तो भन्नेहरु पनि धेरै छन्।

-२००७ सालभन्दा अगाडि राणा विरोधी आन्दोलनमा लागेका व्यक्तिहरू अधिकांश २०/२५ वर्ष वा त्यो भन्दा कम उमेरका युवा थिए। तर वीपी, मातृका, सुवर्ण शमशेर, सूर्यप्रसाद र महेन्द्र विक्रमहरु ३०/३५ वर्षको उमेर नाँघेपछि अरुले तयार पारेको धरातलमा खेल्न आएका थिए भन्नेहरु पनि थुप्रै छन्।

-वीपीले आफ्नो धरातल र आफ्नै संगठन कहिल्यै निर्माण गर्न सकेनन् । केवल अरुले बनाएको भवन कब्जा गरेका मात्रै हुन्। उनले २००३ सालमा देवीप्रसाद सापकोटाले बनाएको “अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस” कब्जा गरेर बालचन्द्र शर्मा र डिल्लीरमणको भाग खोसिदिएका थिए भने २००५ सालमा सुवर्ण, सूर्यप्रसाद र महेन्द्र विक्रमको भाग खोसिदिएका थिए । यसो भन्नेहरु पनि थुप्रै भेटिन्छन्।

-भारतमा नेपालीहरुले कांग्रेस शब्द नामको पछिल्तिर जोडेका दुईटा संगठन खोलेपछि ती संगठन आफ्नै छत्रछायामा बसुन् भनेर नेहरुले वीपीलाई ती संगठनमा पठाएका थिए। नेहरुले एकैचोटि अध्यक्ष नबनाएर कहिले स्थानापन्न अध्यक्ष त कहिले कार्यवाहक अध्यक्ष बनाएर पदको लोभी नभएको जस्तो देखाएर वीपीलाई बिस्तारै नेपाली कांग्रेसको सुप्रिमो बनाएका हुन् । यसो पनि कोहिकोहि भन्दा रहेछन्।

-२००६ साल फागुनमा नेपाली प्रधानमन्त्री मोहनशमशेर राणा दिल्लीको भ्रमणबाट फर्केको दुई दिनपछि वीपीले “द स्टेटम्यान” भन्ने भारतीय पत्रिकामा वक्तव्य छाप्दै भनेका थिए– ‘नेपाल पनि भारतकै सांस्कृतिक अंग भएकाले नेपालको वैदेशिक र सुरक्षा नीति छुट्टै राख्न आवश्यक छैन, त्यो भारतसँग नै एकीकृत गरिनुपर्छ ।’
उनले यो कुरा २०११ सालमा श्री ५ महेन्द्रले मातृकाको सरकार विगठन गरेर शाही सल्लाहकार परिषद गठन गरेपछि पनि सार्वजनिक वक्तव्य दिदै दोहोर्‍याएका थिए।

-उनले २००३ साल माघमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको सम्मेलनमा दिएको भाषणमा भनेका थिए- “वास्तवमा नेपाल र भारत दुई देश होइनन् । नेपाल जातीय, धार्मिक र आर्थिक दृष्टिबाट भारतकै अंग रहेको देखिन्छ।”

-२००७ साल फाल्गुण ७ गते वीपी र कांग्रेसी मन्त्रीहरुले हिन्दिमा शपथ खाएका थिए। राणा पक्षका मन्त्रीहरुले नेपालीमा शपथ खाएका थिए। मन्त्रीहरु शपथ खाएर नारायणहिटीबाट बाहिर निस्किदा कांग्रेसी मन्त्रीहरुले मोटरमा कांग्रेस दलको झण्डा र राणा पक्षका मन्त्रीहरुले राष्ट्रिय झण्डा फहराएका थिए। ढोकामा उभिएका सेनाले राष्ट्रिय झण्डा फहराएका मन्त्रीलाई मात्रै सलाम गरेका थिए।

-गृहमन्त्री हुँदासम्म वीपी नेपाली राम्ररी लेख्न र बोल्न जान्दैन थिए । उनलाई दौरा सुरुवाल र टोपी लाउन पनि आउँदैन थियो। गृहमन्त्री हुँदा उनले नेहरुको जस्तो अचकन र सुरुवाल लाएरै शपथ खाएका थिए।

-वीपीका भाषण, वक्तव्य र चिठी २००७ साल भन्दा अगाडि नरेन्द्र रेग्मी र गोपालप्रसाद भट्टराईले लेखिदिन्थे। २००७ सालपछि त्यो काम डा. तुल्सी गिरिले गरे। २०२५ सालमा जेल मुक्त भएर बनारस गएपछि वीपीको कलमको काम तारिणी कोइरालाले गरे। यसो भन्ने पनि थुप्रै छन्।

-वीपीले भारतमा रहुन्जेल कुर्ता सुरुवाल मात्रै लाउँथे। पान मात्रै खान्थे। उनलाई पान छुटाएर रक्सी ख्वाउन सिकाउने र टाइसुट तथा दौरा सुरुवाल लाउन सिकाउने वसन्त शमशेर राणा हुन्। २००७ साल पछि उनी लामो समय वसन्त शमशेरको घरमा डेरा लिएर बसेका थिए। वीपीलाई फुटबल, ब्याडमिन्टन खेल्न र गाडी चलाउन वसन्त शमशेरले नै सिकाएका थिए। तर डेराभाडा नतिरेको हुनाले वीपीकी पत्नी र वसन्त शमशेरकी पत्नीको झगडा पनि परेको थियो। पछि त्यो भाडा सल्लाहकार सभाका उपाध्यक्ष शिवपतिप्रताप शाहले तिरिदिएका थिए। यसो भन्नेहरु पनि थुप्रै भेटिन्छन्।

-२००८ साल कार्तिकमा गृहमन्त्रीबाट फुस्किएपछि वीपीलाई चढ्न भनेर सजिलो होस् भन्दै डा. तुल्सी गिरिले आफ्नो मोटर उपहार दिएका थिए।

-वीपी गृहमन्त्री हुँदा कांग्रेसका मन्त्रीहरुले मन्त्रिपरिषदको बैठकमा आफ्नो पार्टी र नातेदारहरुलाई मात्रै “नियुक्ति र ठेक्का” दिने प्रस्ताब गरेको देखेर प्रधानमन्त्री मोहन शमशेरले दिक्क मान्दै भनेका थिए -“तपाईंहरु हामीहरुलाई जहानियाँ पारिवारिक शाशक भन्नु हुन्थ्यो। तर हामीभन्दा बढी जहान-परिवारलाई पद र सुविधा त तपाइँहरु पो दिनु हुँदोरहेछ”!

-युवराज महेन्द्र र अधिराजकुमार हिमालय-वसुन्धराहरु पहिले वीपीलाई “सक्षम र केही गर्न सक्ने” ठान्थे। तर २००९ सालमा श्री ५ महेन्द्रको विहेको बेलामा वीपीले महेन्द्रलाई “पिताको विरुद्ध सैन्य विद्रोह गर्न” उक्साएपछि यो मान्छे शक्तिको लागि जे पनि गर्न सक्छ भनेर वीपीलाई त्यसपछि शंकाको घेरामा राख्न थालिएको थियो।

-राणाकालमा सेनाभित्र विद्रोह गरेर कर्णेलको पदबाट जागिर खोसिएका तोरण शमशेर राणालाई २००७ सालमा गृहमन्त्री भएपछि वीपीले एकैचोटि दुई तह नाघेर रथी (लेज) मा नियुक्त दिने निर्णय गराएका थिए। त्यतिखेर क्रान्ति गरेर आएको दलको नेताको कुरोलाई राजा र प्रधानमन्त्रीले नाइँ भन्न सकेनन्। यो काम विश्वव्यापी सैन्य परम्पराको विपरित थियो। तर वीपी नियम भाँचेर निर्णय गराउँदा “नयाँ समय अनुसार चल्नु पर्छ” भनेर तर्क दिने गर्थे। उनी आफ्नो निर्णयलाई “सिंगो पार्टीको निर्णय हो” भन्न सिपालु थिए। तिनै तोरण शमशेर २०१३ साल जेठमा प्रधान सेनापति हुन पुगे। २०१४ श्रावणमा डा. केआई सिंह राजाद्वारा प्रधानमन्त्री नियुक्त भए। डा. सिंहको नियुक्ति वीपी र तोरण शमशेर दुबैलाई मन परेको थिएन। २०१४ साल भाद्र ४ गते रानी श्री ५ रत्नको जन्मदिनको भोजमा वीपी पनि आमन्त्रित थिए। राजपरिवारका सदस्यहरु फर्किएपछि भोज चल्दै गर्दा रक्सी पिएको सुरमा वीपीले तोरणलाई भनेछन् -“cc साहेब ! यी दुबै टेडा ठकुरीहरु (राजा र केआई सिंह ) हामी दुबैलाई मन पर्दैनन्। टेडोलाई ढाल्न टेडो औला नगरि हुन्न। तपाई कुनै उपाय गर्नु होस् न। मेरो सहयोग रहने छ।”

यो कुरो कतैबाट राजाको कानमा पनि पुग्यो होला। सेनालाई भड्काउने कुरो भएकोले दरवारले ती दुबै जनालाई केही कार्वाही गर्ने तयारी गरेको पनि सुनियो। तर यही बिच वीपीले “चुनाव छिटो गर्नु पर्‍यो भनेर भद्र अवेज्ञा आन्दोलन” आरम्भ गरेर विषयलाई मोडी दिए। र राजालाई असजिलोमा पारिदिए।

-भनिन्छ श्री ५ महेन्द्रकी आमा राजमाता कान्ति वीपीलाई कत्ती मन पराउनु हुन्थेन। “यो मान्छे खतरनाक छ! दोहोरो कुरा गर्छ। योसंग धेरै हेलमेल र संगै बसेर खानपिन नगर्नू । यसले बाबू छोराको झगडा पार्ला जस्तो छ” भनेर आमाले हकारेपछि महेन्द्रले वीपीसंगको अनौपचारिक सम्बन्ध बन्द गरेका थिए रे !

-२०१५ को संसदीय चुनावमा कांग्रेसमा प्रधानमन्त्रीका तीन जना दावेदार थिए। सूर्यप्रसाद उपाध्यायलाई चुनाव हराइएपछि सुवर्ण र वीपी मात्रै दावेदार रहे। सुवर्ण शमशेर भद्र र छुचो नबोल्ने हुनाले सबैको रोजाईमा थिए। सुवर्णलाई अमेरिकी लवीले र काठमाडौका सम्भ्रान्तहरुले अति मन पराउँथे। भारत पनि वीपी भन्दा सुवर्ण नै प्रधानमन्त्री भएको ठिक छ भन्ने पक्षमा पुगिसकेको थियो।
तर त्यतिखेर सुवर्ण शमशेर प्रधानमन्त्री बन्नु दरवारको लागि रुचिकर भएन। किनकि प्रधानमन्त्री र प्रधान सेनापती दुबै पदमा राणा (सुवर्ण र तोरण) नै हुनु शक्ति सन्तुलनको दृष्टिकोणले दरवारको लागि राम्रो थिएन। तसर्थ दरवारले धेरै सोच विचार गरेर त्यतिखेर सुवर्ण भन्दा वीपी नै प्रधानमन्त्री हुनु ठिक छ भन्ने निष्कर्ष निकालेको थियो।
त्यतिखेर राजाले वीपीलाई प्रधानमन्त्री बनाउन चाहेका थिएनन् भन्ने कुरो सत्य होइन।

-२०१७ सालपछि वीपीले लामो समय जेल बसेर बहुदलीय व्यवस्थाका लागि अडान लिएपछि उनको उचाइ बढेको हो र व्यक्तित्व माझिएको हो। तर प्रधानमन्त्री हुँदासम्म वीपीलाई सैद्धान्तिक राजनीति गर्नु भन्दा अवसर छोप्ने र बाहिर र भित्र फरक फरक चरित्र भएको नेता मानिन्थ्यो।

कार्यशैली भने वीपीको कहिल्यै पनि सफा र पारदर्शी थिएन। एकातिर उनी राष्ट्रवादको पक्षमा छु भन्थे, अर्कोतिर भारतीय गुप्तचर संस्था “रअ” र सोसलिस्ट इन्टरनेशनल जस्ता संस्थाको सहयोग लिन हिच्किचाउँदैन थिए।

-शास्त्रीय र सैद्धान्तिक रुपमा राष्ट्रवाद, समाजवाद र उदार प्रजातन्त्रको धरातल र परिभाषा नै फरक हो। तर वीपीले यी तीन वटै विरोधाभाषी विचारहरु अँगालेर आफ्नो राजनीतिक अनुहारलाई “ककटेल” बनाइदिएका थिए। यो ककटेल सिद्धान्तले काँग्रेसलाई अवसरवादी चरित्रतिर उन्मुख गराउँदै लग्यो र यो अवस्थामा पुग्यो।

-वीपीको राजनीतिक यात्रा २००३ सालदेखि २०१७ सालसम्म सिद्धान्तवादी भन्दा पनि अवसरवादी प्रवृत्तिको थियो। यी १४ वर्षमा वीपीले सबैलाई प्रयोग गर्न मात्रै खोजे। कुनै एउटो अडानमा बस्न सकेनन्। “वीपीले हामीलाई प्रयोग मात्रै गर्छन्” भन्ने मनन गरेर कांग्रेसका ८० प्रतिशत भन्दा धेरै संस्थापकहरु र वीपीका निकट रहेका अधिकांश मुख्य सहयोगीहरुले २०१६/१७ सालसम्म कांग्रेस र वीपीलाई त्यागिसकेका थिए।
२००३ सालदेखि २०१५ सालको चुनावसम्म वीपी सबैसंग टाढिए पनि नेहरुबाट भने टाढिएका थिएनन्। पहिलो आम चुनावमा वीपीको कांग्रेसलाई नेहरुले सहयोग गरेर दुई तिहाई बहुमत ल्याउन सहयोग गरेकै हुन्। तर प्रधानमन्त्री भएपछि वीपीलाई समाजवादी नेताको रुपमा नेहरु भन्दा माथि जाने महत्वकांक्षा जागेपछि उनको र नेहरुको दुरी बढेको हो। पश्चिम जर्मनीका बिलिब्रान्ट र इजरायलका डेभिड भान गुरेनजस्तै समाजवादी चिन्तक बन्ने नशा चढेपछि वीपीले नेपालको भूराजनीतिक स्थिति बिर्सिदै गएका हुन्। उनले प्रधानमन्त्री हुँदा नीति र कार्यक्रमहरु सबै पुंजीवादी सिद्धान्त अनुसार कै ल्याए पनि मुखले भने समाजवादी बन्ने रहर गरेको हुँदा उनको सरकार लामो समय टिक्क सकेन। त्यो समय समाजवादप्रति सशंकित हुने समय नै थियो।

-प्रधानमन्त्री हुँदा वीपी राजालाई थाह नदिएर, सरकारी संयन्त्रलाई सूचना नदिएर धेरै पटक सुटुक्क भारत गएका थिए। देशको प्रधानमन्त्रीले यसो गर्न मिल्दैन थियो। दरवारले यस कुरालाई गम्भीरतापूर्वक लियो। भारतसंग कुनै गोप्य षडयन्त्र हुन लागेको शंका पनि गर्‍यो। वीपीको सरकार ढल्नुको एक मुख्य कारण यो पनि हो भन्नेहरु पनि थुप्रै छन्।

-२०१७ साल पुस १ गते वीपीको सरकार ढालेपछि भारतीय स्थल सेनाध्यक्षले -“राजाले लोटावाले को हटा के ठिक किया” भनेर प्रतिक्रिया दिएको कुरो निकै चर्चित भएको थियो।

Exit mobile version