४४ औं विपि स्मृति दिवस मनाइयो

साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस, ज्ञानको केन्द्रका रूपमा पुस्तकालय विकास गर्नुपर्नेमा जोड कोहलपुर, बाँके। ४४औँ वी.पी. स्मृति दिवसको अवसरमा ‘लेखक, साहित्य र पुस्तकालयको अन्तरसम्बन्ध’ विषयक साहित्यकार तथा लेखकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर–११, बाँकेको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष एकराज शर्माले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वरिष्ठ राजनीतिक विश्लेषक, साहित्यकार तथा लेखक नरेन्द्र जंग पिटर रहनुभएको थियो । कार्यक्रममा उपस्थित साहित्यकार तथा लेखकहरूलाई धन्यवाद दिँदै हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालले विश्वेश्वर प्रसाद कोइरालाको साहित्यिक, दार्शनिक र राजनीतिक व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य महानन्द ढकाल र प्रलेसका केन्द्रीय सचिव डा. हरिप्रसाद तिमिल्सिना, बाँसगढी सामुदायिक पुस्तकालयका अध्यक्ष बलराम भुजेल, त्रिभुवन सामुदायिक पुस्तकालयका अध्यक्ष यज्ञबहादुर वली, भेरी साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर वस्नेत, साहित्यकार सागर गैरे, शेखर दहित लगायतले सम्बोधन गरेका थिए । प्रमुख अतिथि नरेन्द्रजङ्ग पिटरले सूचना र ज्ञान प्राप्तिका माध्यम तथा स्रोतहरू परिवर्तन भइरहेका वर्तमान अवस्थामा पुस्तकालयहरूका सामु पठन संस्कृतिको विकास चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले पुस्तकालयले आम नागरिकमा जिज्ञासा, प्रश्न गर्ने संस्कार र ज्ञान प्राप्तिको उत्कट चाहना जगाउने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। पुस्तकालयलाई केवल पुस्तक राख्ने स्थलका रूपमा नभई ज्ञान, बहस र वैचारिक संवादको केन्द्रका रूपमा संस्थागत विकास गर्न आवश्यक रहेको उहाँको भनाइ थियो। ज्ञान र सत्ताबीचको संघर्षमा पुस्तकालय पनि महत्त्वपूर्ण ‘ज्ञान–युद्धस्थल’ का रूपमा रहेको उल्लेख गर्दै उहाँले वी.पी. कोइरालाको साहित्यमा देखिने अराजकतावादी विमर्श र नेपाली साहित्यमा उहाँको योगदानबारे समेत चर्चा गर्नुभयो । कार्यक्रममा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष समेत रहनुभएका डा. खोपीराम वली क्षेत्रीले ‘वि.पी. कोइरालाको साहित्यिक योगदान’ विषयमा विचारपत्र प्रस्तुत गर्नुभयो । उहाँले वी.पी.का कृतिहरूमा प्रगतिशील चेतनाले विशेष स्थान पाएको उल्लेख गर्दै तीन घुम्ती उपन्यासकी पात्र इन्द्रमायाको चरित्रलाई त्यसको सशक्त उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो । आफूले गरेको अध्ययन र अनुसन्धानका आधारमा वी.पी. कोइरालालाई प्रगतिशील दृष्टिकोणबाट पनि मूल्याङ्कन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य महानन्द ढकालले ज्ञानलाई प्रत्येक पाठक, व्यक्ति र समुदायसम्म पुर्याउने सबैभन्दा प्रभावकारी माध्यम पुस्तकालय भएको बताउनुभयो । साहित्यिक कृति, दस्तावेज र बौद्धिक सम्पदालाई दीर्घकालसम्म सुरक्षित राख्न पुस्तकालयको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले साहित्य र पुस्तकालयबीचको अन्तरसम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । यस्तै प्राज्ञ सदस्य डा. हरिप्रसाद तिमिल्सिनाले वी.पी. कोइरालाको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै उहाँ राजनीतिक परिवर्तनका संवाहक र राजनीतिक इमान्दारिताका आदर्श व्यक्तित्व रहेको बताउनुभयो । कथाकारका रूपमा मनोवैज्ञानिक गहिराइ र उपन्यासकारका रूपमा यौन मनोविज्ञानलाई सन्तुलित ढंगले प्रस्तुत गर्ने सशक्त आख्यानकारका रूपमा वी.पी.को मूल्याङ्कन गर्नुभयो । उहाँले वी.पी.का कृतिहरूमा स्वतन्त्रताप्रेमी पात्रहरूको चयनमार्फत प्रगतिशील चेतनालाई प्राथमिकता दिइएको उल्लेख गर्दै साहित्यकार र पुस्तकालय एकअर्काका परिपूरक भएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमको प्रारम्भमा अध्यक्ष एकराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य र वी.पी. कोइरालाले नेपाली साहित्यमा पु¥याउनुभएको योगदानबारे प्रकाश पार्नुभयो । समापनका क्रममा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालले धन्यवाद ज्ञापन गर्दै नेपाली राजनीति र साहित्य दुवै क्षेत्रमा वी.पी. कोइरालाले पुरायाउनुभएको विशिष्ट योगदानको स्मरण गर्नुभयो । उहाँले पुस्तकालयलाई जीवन्त र प्रभावकारी बनाउन विद्यालय, कलेजका विद्यार्थी, लेखक, साहित्यकार र समाजको अपनत्व हुनुपर्ने बताउँदै पूर्णिमा र ज्ञानोदयको विगतदेखिको आत्मीय अन्तर्सम्बन्ध आगामी दिनमा अझ प्रगाढ़ बन्ने बताउनुभयो ।

कार्यक्रममा भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर बस्नेत, साहित्यकार सागर गैरे, शेखर दहित, हरी सुवेदी, पत्रकार जे. पाण्डे लगायतले पनि कार्यक्रमको विषयवस्तुमा केन्द्रित रहेर आफ्ना धारणा राख्नुभएको थियो । अन्तरक्रियामा सहभागी वक्ताहरूले साहित्य र पुस्तकालयबीचको सम्बन्धलाई ज्ञान उत्पादन, संरक्षण र प्रसारको आधारका रूपमा व्याख्या गर्दै बदलिँदो सूचना–प्रविधिको युगमा पनि पुस्तकालयलाई समाजको बौद्धिक, सांस्कृतिक तथा लोकतान्त्रिक चेतनाको केन्द्रका रूपमा सुदृढ बनाउन आवश्यक रहेको साझा निष्कर्ष व्यक्त गरेका थिए ।

बाँके बर्दिया क्षेत्रका साहित्यकार, पुस्तकालयका प्रमुख, समाजसेवी र सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन ज्ञानोदयका सहसचिव ईश्वर शर्माले गर्नुभएको थियो ।

Exit mobile version