कांग्रेस एकताको आह्वान

नेपाली काग्रेसका संस्थापक, पूर्व प्रधानमन्त्री विपी कोइरालाको ४४ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बाँके क्षेत्र नं ३ ले सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा प्रदेश सभापति अमर सिंह पुन, जिल्ला स्थित नेता, कार्याकर्ता लगायत ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीभित्र विचारमा फरक मत हुन सक्ने भए पनि अन्ततः सबै नेता–कार्यकर्ता चारतारे झण्डा र रुख चिन्हकै वरिपरि एकताबद्ध हुनुपर्ने बताएका छन् । उनले कांग्रेसका सम्पूर्ण कार्यकर्ताको भविष्य पार्टीको झण्डा र चुनाव चिन्हसँग जोडिएको उल्लेख गर्दै आन्तरिक मतभेद अन्त्य गरी संगठनलाई थप बलियो बनाउन आग्रह गरे ।

नेपाली कांग्रेसका पूर्व सभापति तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४४औँ स्मृति दिवस तथा पार्टीले विसं २०८३ वैशाख १ गतेदेखि सञ्चालन गरेको ‘जरा अभियान’ समापन कार्यक्रमलाई बुधबार नेपालगन्जमा सम्बोधन गर्दै सभापति पुनले यस्तो धारणा राखेका हुन् ।

‘पार्टीभित्र मतभेद हुन सक्छन् । तर अन्तिम गन्तव्य चारतारे झण्डा, यही रुख र यही समाज हो,’ उनले भने, ‘यताउता नसोची पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ । बाँके कांग्रेसलाई पनि एक ढिक्का बनाएर अघि बढाउन म सबैसँग आग्रह गर्छु ।’

संविधानसभा सदस्यसमेत रहेका पुनले वीपी कोइरालालगायतका अग्रज नेताहरूको त्याग, संघर्ष र तपस्याले नेपाली कांग्रेस निर्माण भएको स्मरण गरे । त्यस्तो इतिहास बोकेको पार्टीको कार्यकर्ता हुन पाउनु आफैंमा गौरवको विषय भएको उल्लेख गर्दै उनले पार्टीको आदर्श र संगठनप्रति प्रतिबद्ध रहन नेता–कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रम नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा जरा अभियानका लागि बाँकेमा खटिएका केन्द्रीय प्रतिनिधि महेन्द्रराज शर्मा र नेपाल महिला संघका केन्द्रीय प्रतिनिधि उमा रावतले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रममा उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने सचिव सुधांशु कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Exit mobile version