नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बाँकेले लामो समयपछि आफ्नो नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । निर्वाचन प्रक्रिया शुरु भएको झण्डै डेढ महिनापछि मंगलबार निर्वाचन समितिले सर्वसम्मत नेतृत्व घोषणा गर्दै नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र प्रदान गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा अधिवक्ता कपिल देव शर्मा, उपाध्यक्षमा अधिवक्ता युगबहादुर गुरुङ, सचिवमा अधिवक्ता पूर्णप्रसाद ढकाल तथा कोषाध्यक्षमा अधिवक्ता भानुभक्त रिजाल सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यमा अधिवक्ता सतीश अधिकारी, अधिवक्ता मयाराम धमला, अधिवक्ता सरिता पौडेल, अधिवक्ता कोहिनुर मल्ल, अधिवक्ता बसन्त श्रेष्ठ, अधिवक्ता सुनीलराज शर्मा, अधिवक्ता सुर्जेलाल थारु, अधिवक्ता हरि सुवेदी र अधिवक्ता तोपेन्द्र मल्ल सर्वसम्मत रूपमा चयन भएका छन् ।
निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता भोलासिंह हमालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, कानुन व्यवसायीबीचको व्यावसायिक एकता र कानुन व्यवसायीहरूको हकहित संरक्षणमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, ‘लोकतान्त्रिक मूल्य–मान्यता र कानुन व्यवसायीहरूको साझा हितलाई केन्द्रमा राखेर नयाँ कार्यसमितिले संगठनलाई अझ सशक्त बनाउनेछ ।’
नवनिर्वाचित सचिव अधिवक्ता पूर्णप्रसाद ढकालले आफूलाई दिइएको जिम्मेवारी इमान्दारिता, निष्पक्षता, पारदर्शिता र व्यावसायिक निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘संस्थाको गरिमा अभिवृद्धि, कानुन व्यवसायीहरूको हकहितको संरक्षण तथा संगठनलाई अझ बलियो र प्रभावकारी बनाउन निरन्तर सक्रिय रहनेछु ।’
कार्यक्रममा वरिष्ठ अधिवक्ता सुनील श्रेष्ठ, कानुन व्यवसायी परिषद्का पार्षद ईश्वरी ज्ञवाली, उच्च अदालत बार एसोसिएसनका अध्यक्ष पवन गुप्ता, जिल्ला अदालत बार एसोसिएसन बाँकेकी अध्यक्ष पूनम श्रेष्ठलगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । वक्ताहरूले लोकतान्त्रिक कानुन व्यवसायीहरूको संगठनलाई अझ सक्रिय, व्यवसायिक र प्रभावकारी बनाउन नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा डिएलए नेपालका केन्द्रीय प्रतिनिधि, वरिष्ठ अधिवक्ता, विभिन्न बार एसोसिएसनका पदाधिकारी तथा बाँकेका उल्लेखनीय संख्यामा कानुन व्यवसायीको सहभागिता थियो । सहभागीहरूले सर्वसम्मत नेतृत्व चयनले संगठनभित्रको एकता, आपसी सहकार्य र लोकतान्त्रिक संस्कृतिलाई थप मजबुत बनाएको धारणा राखेका थिए ।
कार्यक्रमको सञ्चालन डिएलए बाँकेका निवर्तमान सचिव अधिवक्ता राकेश सोनीले गरेका थिए । गत जेठ २१ गते अधिवेशनको निर्वाचन प्रक्रिया शुरु भएपनि अहिले आएर नेतृत्व चयन प्रक्रिया टुंगिएको हो ।
