विगत पाँच बर्षदेखि निरन्तर ओरालो भन्सार

मुलुकको प्रमुख स्थल नाकामध्ये एक नेपालगन्ज भन्सार कार्यालयले पछिल्लो पाँच आर्थिक वर्षमध्ये कुनै पनि वर्षमा सरकारले निर्धारण गरेको राजस्व लक्ष्य पूरा गर्न सकेको छैन । तथ्यांकले लक्ष्य र वास्तविक असुलीबीच उल्लेख्य अन्तर देखाएको छ ।

कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा २५ अर्ब २१ करोड ६ लाख ६२ हजार रूपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो । तर कार्यालयले २२ अर्ब ३१ करोड ८३ लाख ३८ हजार रूपैयाँ मात्र संकलन गर्न सक्यो, जुन लक्ष्यको ८८.५३ प्रतिशत हो । पछिल्ला पाँच वर्षमध्ये यो नै लक्ष्य प्राप्तिको सबैभन्दा उच्च उपलब्धि हो ।

आर्थिक वर्ष २०७९÷०८० मा भने अवस्था झन् कमजोर बन्यो । २९ अर्ब ३२ करोड ९५ लाख ३९ हजार रूपैयाँ लक्ष्य दिइएकोमा १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार रूपैयाँ मात्र राजस्व उठ्यो । यस वर्ष लक्ष्यको ६२.०५ प्रतिशत मात्र राजस्व संकलन भएको देखिन्छ, जुन पाँच वर्षकै सबैभन्दा न्यून उपलब्धि हो ।

आर्थिक वर्ष २०८०÷०८१ मा लक्ष्य केही घटाएर २८ अर्ब ६६ करोड २५ लाख २९ हजार रूपैयाँ निर्धारण गरिए पनि राजस्व संकलनमा उल्लेखनीय सुधार आउन सकेन । यस अवधिमा १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार रूपैयाँ मात्र असुली हुँदा लक्ष्य प्राप्ति ६३.३५ प्रतिशतमा सीमित रह्यो ।

त्यसपछिका दुई वर्षमा भने लक्ष्य प्राप्तिको प्रतिशत क्रमशः सुधार हुँदै गएको देखिन्छ । आर्थिक वर्ष २०८१÷०८२ मा २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार रूपैयाँ लक्ष्य रहेकामा २० अर्ब २८ करोड ७२ लाख रूपैयाँ राजस्व उठाउँदै कार्यालयले ७४.६४ प्रतिशत लक्ष्य हासिल गर्यो ।

त्यस्तै, आर्थिक वर्ष २०८२÷०८३ मा लक्ष्य थप घटाएर २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रूपैयाँ निर्धारण गरिएको थियो । उक्त वर्ष २० अर्ब ११ करोड ५५ लाख १ हजार रूपैयाँ राजस्व संकलन भएको छ, जुन लक्ष्यको ८१.९५ प्रतिशत हो । यद्यपि यो पछिल्ला तीन वर्षकै राम्रो उपलब्धि भए पनि कार्यालय लक्ष्यभन्दा करिब साढे ४ अर्ब रूपैयाँले पछाडि रह्यो ।

लक्ष्य र असुलीबीच ठूलो अन्तर

पाँच वर्षको तथ्यांक हेर्दा नेपालगन्ज भन्सार कार्यालयले कुनै पनि आर्थिक वर्षमा शतप्रतिशत लक्ष्य हासिल गर्न सकेको छैन । विशेषगरी आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८१ मा लक्ष्यको करिब दुई तिहाइ मात्र राजस्व उठेको देखिन्छ ।

यद्यपि पछिल्ला दुई आर्थिक वर्षमा लक्ष्य प्राप्तिको प्रतिशतमा क्रमिक सुधार देखिए पनि लक्ष्य पूरा हुन नसक्नुले भन्सार प्रशासन, आयात व्यापार तथा समग्र आर्थिक गतिविधिमा देखिएको सुस्तताको संकेत गर्ने विश्लेषण गरिएको छ ।

किन पुग्न सकेन लक्ष्य ?

भन्सार क्षेत्रका जानकारहरूका अनुसार पछिल्ला वर्षहरूमा आयातमा लगाइएका नीतिगत नियन्त्रण, विदेशी मुद्रा सञ्चिति जोगाउन अपनाइएका उपाय, आन्तरिक बजारमा देखिएको मागको कमी, निर्माण तथा औद्योगिक गतिविधिमा आएको मन्दी तथा उपभोगमा आएको गिरावटले राजस्व संकलनमा प्रत्यक्ष असर परेको छ ।

नेपालगन्ज नाका हुँदै हुने आयातको परिमाण घट्नु, केही वस्तुको आयात अन्य नाकातर्फ सर्नु तथा समग्र आर्थिक गतिविधि अपेक्षित रूपमा विस्तार हुन नसक्नु पनि लक्ष्य प्राप्ति हुन नसक्नुका प्रमुख कारणका रूपमा हेरिएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले आ.व. २०८२÷०८३मा राजश्व कम संकलन हुनुमा पेट्रोलियम पदार्थको आयातमा कमी, भारतले चिनीमा लगाएको प्रतिबद्ध लगायत रहेको बताएका छन् ।

नेपालगन्जका व्यवसायीहरूले भने भन्सार राजश्व संकलन नहुनुमा तस्करी ठूलो कारक रहेको बताउँदै आएका छन् । पछिल्लो समय मुख्य नाकामा कडाई भएपनि भित्री नाकाबाट भैरहेको तस्करी रोकिएको छैन ।

‘लक्ष्य निर्धारण गर्दा वास्तविक व्यापारिक अवस्था, आयातको प्रवृत्ति र समग्र आर्थिक गतिविधिलाई आधार बनाइए मात्र राजस्व लक्ष्य यथार्थपरक हुने र लक्ष्य प्राप्तिको सम्भावना बढ्नेछ’, भन्सार अधिकारीहरूले बताउँदै आएका छन् ।

व्यापार घाटा ९२.२५ प्रतिशत

नेपालगञ्ज भन्सार कार्यालयको आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्मको तथ्यांकले आयात–निर्यातमा ठूलो अन्तर देखाएको छ । जसका कारण नेपालगन्ज भन्सारबाट हुने कारोबार व्यापारघाटा ९२ प्रतिशत बढी रहेको छ । पछिल्ला दुई आ.व.को तुलना गर्ने हो भने व्यापार घाटामा कमी आएको तथ्यांकले देखाएको छैन ।

गत आर्थिक बर्ष २०८२÷०८३ मा व्यापार घाटा ९२.२५ प्रतिशत पुगेको छ । त्यस अघिको आ.व.मा व्यापार घाटा ९२.०६ प्रतिशत रहेको थियो ।

कार्यालयका अनुसार गत आ.व. २०८२÷०८३ मा रु. ८७ अर्ब ९ करोड ४ लाख ५३ हजार बराबरको वस्तु आयात भएको छ भने निर्यात रु. ३ अर्ब ५१ करोड १० लाख ७८ मा सीमित रहेको छ । आयात त्यसअघिको आ.व.को तुलनामा १२.२६ प्रतिशत र निर्यात ९.४४ प्रतिशत बढे पनि आयातको तुलनामा निर्यात निकै न्यून रहेकाले व्यापार असन्तुलन कायमै रहेको तथ्यांकले देखाएको छ । आयात–निर्यात अनुपात २४.१८ प्रतिशतबाट बढेर २४.८० पुगेको छ ।

Exit mobile version