सीमामा समातिए अमेरिकी

भारत–नेपाल सीमा अन्तर्गत बाँकेको सीमावर्ती भारतीय क्षेत्र रुपैडिहामा सशस्त्र सीमा बल (एसएसबी) र भारतीय प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको कारबाहीमा प्रतिबन्धित संगठन ‘वारिस पञ्जाब दे’सँग सम्बन्धित एक फरार अभियुक्त पक्राउ परेका छन्। सोही कारबाहीका क्रममा नेपाल हुँदै अवैध रूपमा भारत प्रवेश गर्न खोजेका एक अमेरिकी नागरिक तथा सीमा पार गराउन सहयोग गरेको आरोपमा अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको छ।भारतीय सुरक्षा निकायका अनुसार रुपैडिहा सीमा चौकीमा नियमित जाँचका क्रममा पक्राउ परेका मुख्य अभियुक्त पञ्जाबको रूपनगर निवासी विक्रमजीत सिंह हुन्। उनी सन् २०२३ मा अजनाला प्रहरी कार्यालयमा भएको आक्रमण घटनाका फरार अभियुक्त रहेको जनाइएको छ। उनी नक्कली परिचय र कागजातको सहारामा नेपालमा लुकेर बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भारतीय सुरक्षा निकायले जनाएको छ।यसै कारबाहीमा पञ्जाबको मोगा मूल घर भएका अमेरिकी नागरिक मनवीर सिंह ढिल्लोंलाई पनि पक्राउ गरिएको छ। उनी वैध भिसाबिनै नेपाल हुँदै भारत प्रवेश गर्न खोजिरहेको अवस्थामा पक्राउ परेका हुन्। भारतीय पक्षका अनुसार उनकी अमेरिकी नागरिक पत्नी र बालकसँग भने आवश्यक वैध यात्रा कागजात रहेकाले अध्यागमन नियमअनुसार भारत प्रवेश गर्न अनुमति दिइएको छ।अवैध रूपमा सीमा पार गराउन सहयोग गरेको आरोपमा सुरेश कुमार पाठक, दिलीप उपाध्याय तथा सवारी चालक राहुल कुमारलाई पनि नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ। उनीहरूले सीमा पार गराउने र सवारी साधनको व्यवस्था मिलाएको आरोप लगाइएको छ।घटनापछि एसएसबी, स्थानीय प्रहरी, गुप्तचर विभाग र अध्यागमन निकायले पक्राउ परेका सबै व्यक्तिसँग संयुक्त रूपमा सोधपुछ गरिरहेका छन्। यस घटनासँग सम्बन्धित थप व्यक्ति वा सम्भावित सञ्जालबारे अनुसन्धान जारी रहेको भारतीय सुरक्षा निकायले जनाएको छ।

Exit mobile version