लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका अपराधका घटनाको पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक तथ्यांकले ज्यान, आत्महत्या, संगठित तथा आर्थिक अपराध र सवारीसम्बन्धी कसुरका घटना बढ्दो क्रममा रहेको देखाएको छ । यता महिला तथा बालबालिकाविरुद्धका अपराध र चोरीका घटनामा भने कमी आएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा ज्यानसम्बन्धी १ हजार ४ सय ६७ मुद्दा दर्ता भएका छन् । यो संख्या आर्थिक वर्ष २०८०/८१ मा १ हजार ३ सय ९० र २०८१/८२ मा १ हजार ४ सय १४ रहेको थियो ।
आत्महत्याका घटना पनि निरन्तर बढेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा १ हजार ३ सय ११ रहेको संख्या २०८१/८२ मा १ हजार ३ सय २६ र २०८२/८३ मा १ हजार ३ सय ७६ पुगेको छ ।
त्यस्तै, विविध अपराध अन्तर्गतका मुद्दा आर्थिक वर्ष २०८१/८२ मा घटे पनि पछिल्लो वर्ष पुनः बढेर आर्थिक वर्ष २०८२/०८३ मा १ हजार ३ सय ५७ पुगेका छन् । आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक अपराधका मुद्दा पनि १ हजार १ सय ७४ मा पुगेको छ । जुन त्यसअघिको आर्थिक बर्ष २०८१/८२ मा १ हजार ८ र २०८०/८१ मा १ हजार ९० रहेको थियो ।
सबैभन्दा उल्लेख्य वृद्धि संगठित तथा आर्थिक अपराध मुद्दामा देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा ७ सय ४८ रहेको यस्तो अपराध २०८१÷८२ मा १ हजार २१ पुगेको थियो भने २०८२÷८३ मा बढेर १ हजार २ सय ६५ पुगेको छ । यसले वित्तीय तथा संगठित अपराध नियन्त्रण प्रहरीका लागि चुनौती बन्दै गएको देखिन्छ ।
यता चोरीका मुद्दा भने घट्दो क्रममा देखिएका छन् । आर्थिक वर्ष २०८०÷८१ मा ५ सय ९९ रहेको चोरीका घटना २०८१/८२ मा ५ सय २४ मा झरेको थियो भने पछिल्लो आर्थिक वर्षमा सामान्य वृद्धि भई ५ सय ९४ रह्यो ।
त्यसैगरी महिला तथा बालबालिकाविरुद्धका अपराध लगातार घटेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा ७ सय २९ रहेको यस्तो अपराध २०८१/८२ मा ६ सय १४ र २०८२/८३ मा ५ सय ८२ मा झरेको तथ्यांकले देखाएको छ ।
