क्यान्सर अस्पतालसम्म नगरबस

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालसम्म पुग्न सार्वजनिक यातायातको अभाव झेलिरहेका बिरामीलाई लक्षित गर्दै बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चोकदेखि अस्पतालको क्यान्सर गेटसम्म नगरबस सेवा सञ्चालन गर्ने भएको छ ।

क्यान्सर अस्पतालको आग्रहपछि बिरामीको आवतजावत सहज बनाउने उद्देश्यले नगरबस सञ्चालन गर्ने निर्णय गरिएको हो । यस सम्बन्धमा शुक्रबार अस्पताल परिसरमा अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराई र बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्यबीच सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सहकोषाध्यक्ष शोभाखर पौडेलले जानकारी दिए ।

‘अर्को सातादेखि सुरु हुने सेवाले विशेषगरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामीलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ,’ स्थानीयवासी समेत रहेका खजुराका पत्रकार शरण कर्माचार्यले दैनिक नेपालगन्जसँग भने ।

बागेश्वरी यातायात प्रालिका अध्यक्ष आचार्यले अस्पतालसम्म सिधै पुग्ने सार्वजनिक सवारी नहुँदा बिरामीले लामो समयदेखि सास्ती खेपिरहेको भन्दै अस्पतालको आग्रहलाई प्राथमिकता दिएर सेवा सुरु गर्न लागिएको बताए । उनले भने, ‘पहिलो चरणमा सम्झना चोकदेखि क्यान्सर गेटसम्म २ वटा नगरबस सञ्चालन गर्छौं, बिरामीको चाप र आवश्यकताका आधारमा आगामी दिनमा सेवा विस्तार गर्न सकिन्छ ।’

अस्पतालका कार्यकारी निर्देशक डा. भट्टराईले सार्वजनिक यातायातको अभावका कारण अस्पतालसम्म पुग्न बिरामीले अनावश्यक दुःख भोग्दै आएको उल्लेख गर्दै नगरबस सञ्चालनको निर्णय स्वागतयोग्य भएको बताए ।

अध्यक्ष आचार्यका अनुसार अर्को सातादेखि सञ्चालनमा आउने नगरबसको भाडादर पनि निर्धारण गरिएको छ । क्यान्सर गेटदेखि नेपालगन्जसम्म ४० रुपैयाँ, राँझा चोकसम्म ५० रुपैयाँ, कोहलपुरसम्म १ सय रुपैयाँ र सम्झना चोकसम्म १२५ रुपैयाँ सेवा शुल्क लाग्नेछ ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट दैनिक ठूलो संख्यामा बिरामी उपचारका लागि आउने गरेका छन् । तर, अस्पतालसम्म सिधै पुग्ने सार्वजनिक सवारी साधन नहुँदा उनीहरूलाई गन्तव्यसम्म पुग्न पटक–पटक सवारी फेर्नुपर्ने र अतिरिक्त सास्ती व्यहोर्नुपर्ने अवस्था रहँदै आएको थियो । नगरबस सेवा सञ्चालन भएपछि उक्त समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको पत्रकार कर्माचार्यको भनाइ छ ।

Exit mobile version