‘इतिहास मेटाउने होइन, संरक्षण गर्ने हो’

कसैले पनि इतिहास मेटाउनु हुँदैन । किनभने जसले इतिहास मेटाउन खोज्छ, कुनै दिन उसको पनि इतिहास मेटिन सक्छ । लोकतान्त्रिक आन्दोलनका क्रममा राजनीतिक दलहरूले तत्कालीन राजतन्त्रसँग सम्बन्धित केही इतिहास मेटाउने प्रयास गरे । आज हाम्रो इतिहास पनि कसैले मेटाउन खोजेको देखिन्छ । त्यसैले, जसले आज अरूको इतिहास मेटाउन खोज्छ, उसले आफ्नै इतिहास पनि कुनै दिन मेटिन सक्छ भन्ने कुरा बुझ्नुपर्छ ।

इतिहासको संरक्षण गर्नु सबैभन्दा पहिले स्थानीय सरकारको दायित्व हो । जबसम्म हामी राष्ट्रिय विभूतिहरूको योगदानको संरक्षण गर्न सक्दैनौं, इतिहासलाई सम्झन सक्दैनौं र त्यसलाई अनुशासन तथा संस्कृतिसँग जोड्न सक्दैनौं, तबसम्म देशको सभ्य संस्कृति जोगिन सक्दैन । त्यसैले यस्ता व्यक्तित्व र सम्पदाको संरक्षण गर्दै आगामी पुस्ताले पनि उनीहरूलाई सम्झन सक्ने वातावरण निर्माण गर्नु आवश्यक छ ।

लोकतन्त्र र गणतन्त्रका पक्षधर राजनीतिक दलहरूले विगतमा केही ऐतिहासिक व्यक्तित्वहरूको योगदानलाई ओझेलमा पार्ने प्रयास गरेका थिए । वीरेन्द्रकै कुरा गर्ने हो भने, उनले त्यतिबेला जनताको आन्दोलन स्वीकार नगरेको भए ठूलो रक्तपात हुन सक्थ्यो । संवैधानिक राजतन्त्र र प्रजातन्त्र सहज रूपमा स्थापित हुन सक्दैनथ्यो । तर, उनले जनताको आन्दोलनलाई सहर्ष स्वीकार गरे । त्यसैले राजा, जनता र राजनीतिक दल सबैको सहकार्यबाट प्रजातन्त्र पुनःस्थापित हुन सम्भव भयो ।

यदि हामीले उनको इतिहास मेटाउने प्रयास ग¥यौं भने भोलि हाम्रो इतिहास पनि कसैले मेटाउन सक्छ । हामीले त्यो अवस्था देखिसकेका छौं । त्यसैले इतिहास मेटाउने प्रवृत्तिले अन्ततः आफ्नै इतिहास पनि जोखिममा पर्न सक्छ भन्ने हेक्का सबैले राख्नुपर्छ । यही कारणले हामीले कसैको पनि इतिहास बिर्सनु हुँदैन ।

इतिहास भनेको आफ्ना आमा–बुबा र पुर्खाको सम्झना जस्तै हो । कुनै पनि धर्म र संस्कृतिले आफ्ना पुर्खालाई सम्झन र सम्मान गर्न सिकाउँछ । संसारका धेरै देशमा विगतका शासकदेखि राष्ट्रिय व्यक्तित्वसम्मका तस्बिर र स्मारक संरक्षण गरिएका हुन्छन् । त्यसको उद्देश्य इतिहासलाई जीवित राख्नु र नागरिकलाई आफ्ना विगतसँग जोडिराख्नु हो । आखिर इतिहासलाई सम्झने माध्यम पनि त यिनै सम्पदा हुन् । इतिहासबाट सिक्दै त्यसका सकारात्मक पक्षलाई व्यवहारमा उतार्नु नै हाम्रो दायित्व हो ।

(जेनजी आन्दालनका क्रममा ध्वस्त पारिएको बीपीको सालिक नयाँ निर्माण गरि अनावरण गरेपछि दैनिक नेपालगन्जका लागि पत्रकार झलक गैरेसंगको संवाद अंश । लोकतान्त्रिक आन्दोलनका क्रममा ढालिएका राजा वीरेन्द्रको सालिक दुई दशकपछि पुनःनिर्माण गरि अनावरण गर्न जाने क्रममा उक्त संवाद भएको हो ।)

Exit mobile version