विद्यार्थी बढेपछि फेरि थपियो भवन

देउतादिन माविमा स्मार्ट कक्षासहित नयाँ शैक्षिक पूर्वाधार

विद्यार्थी संख्या निरन्तर बढ्न थालेपछि नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित देउतादिन माध्यमिक विद्यालयमा करिब ५८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको चारकोठे नयाँ शैक्षिक भवन शनिबार उद्घाटन गरिएको छ । नयाँ भवनमा स्मार्ट बोर्ड र वातानुकूलित कक्षाको व्यवस्था गरिएको छ ।

नयाँ भवन उद्घाटन गर्दै वडाध्यक्ष दीपककुमार वर्माले वडा नम्बर १८ ले सडक र भौतिक पूर्वाधारसँगै शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले विद्यालयको भौतिक संरचनामात्र नभई शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै भविष्यमा उच्च माध्यमिक तह सञ्चालन गर्ने लक्ष्यका साथ योजना अघि बढाइएको जानकारी दिए ।

‘हाम्रो उद्देश्य भवन मात्रै बनाउनु होइन । सामुदायिक विद्यालयलाई संस्थागत विद्यालयभन्दा पनि गुणस्तरीय बनाउने हो,’ वर्माले कार्यक्रममा भने, ‘पूर्वाधारसँगै शिक्षाको गुणस्तर सुधार गरेर यस विद्यालयलाई उदाहरणीय शैक्षिक संस्थाका रूपमा विकास गर्ने अभियानमा छौ ं।’

उनका अनुसार, विद्यालयमा आधुनिक प्रविधिमैत्री सिकाइ वातावरण तयार पार्न स्मार्ट बोर्डसहित वातानुकूलित कक्षाको व्यवस्था गरिएको छ । विद्यालयले पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर सुधारमा समेत ध्यान दिएकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पनि राम्रो संख्यामा विद्यार्थी उत्तीर्ण हुन थालेका उनले बताए ।

वडाध्यक्ष वर्माले गत वर्ष पनि यही विद्यालयमा चारकोठे नयाँ भवन निर्माण गरिएको स्मरण गराउँदै विद्यार्थी संख्या निरन्तर बढ्दै गएकाले अहिले फेरि अर्को भवन निर्माण गर्नुपरेको बताए । विद्यार्थी चाप बढेकै कारण विद्यालयमा थप शिक्षकको आवश्यकता रहेको भन्दै त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकासँग माग गरिएको जानकारी पनि उनले दिए ।

भवन उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदप्रकाश वर्मा (बब्लु), प्रधानाध्यापक सतिशकुमार हरिजन, पूर्वप्रधानाध्यापक, शिक्षक, वडा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

वडाध्यक्ष वर्माले आगामी दिनमा पनि विद्यालयको पूर्वाधार विकासलाई निरन्तरता दिइने र सामुदायिक शिक्षाप्रतिको अभिभावकको विश्वास अझ मजबुत बनाउने गरी लगानी बढाइने प्रतिबद्धता व्यक्त गरे ।

Exit mobile version