नेतृत्वमा पोखरेल
बाँकेका ५२ वटा विभिन्न समाज सम्बद्ध संघसंस्थाको साझा छाता संगठन, एकीकृत समाज सञ्जाल बाँकेको अध्यक्षमा माधवप्रसाद पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार नेपालगन्जमा भएको सञ्जालको प्रथम अधिवेशनले पोखरेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
निर्वाचन समितिका संयोजक अधिवक्ता विश्वजित तिवारीका अनुसार, अधिवेशनले सबै पदाधिकारी र सदस्यलाई सर्वसम्मत रूपमा चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपेन्द्रकुमार जोशी, उपाध्यक्षमा राम चिडीमार, महासचिवमा राजाराम सुवेदी, सचिवमा दशरथ चन्द, कोषाध्यक्षमा रामप्यारी वर्मा तथा सहकोषाध्यक्षमा नानीमाया पुरी चयन भएका छन् ।
त्यसैगरी कार्यसमितिका सदस्यमा पूर्णकुमारी थापा, मनिष कर्माचार्य, सीता राणा बन्जाडे, चिन्तामणि शर्मा, प्रकाशसिंह ठकुरी र मीना पुन मगर चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले सञ्जालको गतिविधिलाई जिल्लाभर विस्तार गर्ने योजना रहेको बताए । उनले बाँकेका आठवटै स्थानीय तहमा पालिका स्तरीय समिति गठन गरी सामाजिक संघसंस्थाबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाइने जानकारी दिए । उनका अनुसार सञ्जालले जिल्लाभित्र रहेका विभिन्न सामाजिक संस्थाबीच साझा मुद्दामा सहकार्य गर्दै सामाजिक अभियानलाई संगठित रूपमा अघि बढाउने लक्ष्य लिएको छ ।
एकीकृत समाज सञ्जाल बाँकेमा हाल जिल्लाभित्र क्रियाशील ५२ वटा विभिन्न सामाजिक संघसंस्था सदस्यका रूपमा आबद्ध छन् ।
प्रथम अधिवेशनको उद्घाटन अछामी सेवा समाज बाँकेका अध्यक्ष पुष्करबहादुर खड्काले गरेका थिए । कार्यक्रमको अध्यक्षता सञ्जालका संस्थापक अध्यक्ष माधवप्रसाद पोखरेलले गरेका थिए ।
