सार्वजनिक भयो ‘नेपालको जलस्रोत’

नेपाल जलसम्पन्न राष्ट्र भए पनि त्यसको उपयोग राष्ट्रिय आवश्यकता र दीर्घकालीन योजनाअनुसार हुन नसकेको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई समग्र आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्न आग्रह गरेका छन्। उनले जलस्रोतलाई विद्युत् उत्पादनमा मात्र सीमित नराखी कृषि, सिँचाइ, खानेपानी, उद्योग, वातावरण संरक्षण र आर्थिक रूपान्तरणसँग जोडेर दीर्घकालीन राष्ट्रिय रणनीति बनाउनुपर्ने धारणा राखे।

आइतबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा नेपाली र अंग्रेजी भाषामा लेखिएको पुस्तक ‘नेपालको जलस्रोत’ सार्वजनिक गर्दै यादवले नेपालको जलसम्पदाको वैज्ञानिक, योजनाबद्ध र राष्ट्रिय हितअनुकूल उपयोगमा अझै पर्याप्त ध्यान पुग्न नसकेको बताए। उनले भने, ‘जलस्रोतलाई केवल ऊर्जा उत्पादनसँग मात्र सीमित नराखी कृषि, खानेपानी, सिँचाइ, उद्योग, वातावरण संरक्षण तथा समग्र आर्थिक रूपान्तरणसँग जोडेर दीर्घकालीन राष्ट्रिय रणनीति निर्माण गर्न आवश्यक छ।’

पुस्तकका लेखक महाजन यादवले नेपालमा जलस्रोतसम्बन्धी नीतिगत बहसलाई थप तथ्यपरक बनाउने उद्देश्यले पुस्तक तयार गरिएको बताए। उनका अनुसार नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी तथा यस क्षेत्रका सरोकारवालालाई उपयोगी सन्दर्भ सामग्री उपलब्ध गराउने लक्ष्यका साथ पुस्तक लेखिएको हो। उनले भने, ‘यो पुस्तकले नेपालको जलस्रोत विकासको ऐतिहासिक पृष्ठभूमिदेखि भविष्यका अवसर र चुनौतीसम्मको विस्तृत विश्लेषण प्रस्तुत गरेको छ। साथै जलवायु परिवर्तनको युगमा अपनाउनुपर्ने नीतिगत तथा व्यावहारिक उपायहरूलाई पनि समेटिएको छ।’

लेखकका अनुसार पुस्तकमा नेपालको जलस्रोत विकासको वर्तमान अवस्था, नीतिगत चुनौती, जलवायु परिवर्तनले पारेको प्रभाव, जल व्यवस्थापन, ऊर्जा, सिँचाइ तथा दिगो विकासका विविध पक्षलाई तथ्य र विश्लेषणका आधारमा समेटिएको छ। जलस्रोत क्षेत्रसँग सम्बन्धित नीति निर्माण, अध्ययन तथा अनुसन्धानमा पुस्तक उपयोगी सन्दर्भ सामग्री बन्ने अपेक्षा आयोजकले गरेको छ।

पुस्तकको लोकार्पण प्रमुख अतिथि उपेन्द्र यादवसहित विभिन्न विशिष्ट अतिथिले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जलस्रोत तथा ऊर्जा क्षेत्रका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, सरकारी अधिकारी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Exit mobile version