कुरुवालाई योग अभ्यास

बिरामीको उपचारका लागि अस्पतालका कोठा र बार्लीहरूमा अहोरात्र खटिने कुरुवा आफन्तहरू प्रायः आफ्नै स्वास्थ्य, मानसिक तनाव र थकाइलाई बिर्सिन बाध्य हुन्छन् । बिरामीको चिन्ता, अनिद्रा र अस्पतालको उकुसमुकुस वातावरणका बीच कुरुवाहरू स्वयं नै मानसिक तथा शारीरिक रूपमा अस्वस्थ बन्ने जोखिम उच्च रहन्छ । यही संवेदनशील पक्षलाई दृष्टिगत गर्दै भेरी अस्पताल, नेपालगन्जले आफ्नो १३६ औँ स्थापना दिवसको अवसरमा कुरुवा आफन्तहरूको समग्र स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले सोमबारदेखि ‘योग कक्षा’ को शुभारम्भ गरेको छ ।

भेरी अस्पतालको सभाकक्षमा बिहान ५ः०० बजेदेखि ६ः३० बजेसम्म सञ्चालन गरिएको उक्त योग कक्षामा योग प्रशिक्षक तथा अधिवक्ता बसन्त गौतमले सहभागीहरूलाई सूक्ष्म क्रिया, विभिन्न योग आसन, प्राणायाम तथा ध्यानका विधिहरू व्यावहारिक रूपमा सिकाएका थिए । कार्यक्रममा ४० भन्दा बढी बिरामीका कुरुवाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कुरुवाहरूसँगै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाल, नर्सिङ प्रमुख पदमा देवकोटा, नर्सिङ अधिकृत शिला शर्मा, अस्पताल नर्सिङ निरीक्षक त्रय बसुन्धरा ज्ञवाली सबिना अधिकारी र दिव्येश्वरी न्यौपाने सिनियर अहेव राधिका कठायत लगायतका स्वास्थ्यकर्मी एवं कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।

तनावका बीच पाइएको नवीन ऊर्जा

अस्पतालको उकुसमुकुस वातावरणमा बिरामी कुरुवा बसेका आफन्तहरू बिहानीको रमणीय वातावरणमा योग र ध्यानमा सरिक हुन पाउँदा असाध्यै हर्षित देखिन्थे ।

कक्षा समापनका अवसरमा बोल्दै अधिकांश सहभागीहरूले जीवनमै पहिलोपटक यसरी औपचारिक योग कक्षामा बस्ने अवसर पाएको र यसले आफूहरूलाई नयाँ स्फूर्ति दिएको प्रतिक्रिया दिए । सरकारी अस्पताल भन्नेबित्तिकै देखिने परम्परागत छापभन्दा फरक भेरी अस्पतालले गुणस्तरीय सेवाका साथै कुरुवाको स्वास्थ्यप्रति देखाएको यो चासो र सुविधाको उनीहरूले प्रशंसा गरे । तनाव र चिन्ताका बीच योगका विभिन्न विधिहरू सिक्न पाउँदा मानसिक रूपमा ठूलो हलुकापन महसुस भएको उनीहरूको भनाइ थियो ।

सकारात्मक सोच र निरन्तरता

कार्यक्रमकी संयोजक तथा नर्सिङ प्रमुख, पदमा देवकोटाले बिरामीका कुरुवा आफन्तहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई मजबुत बनाउन नै यो योग कक्षाको शुभारम्भ गरिएको जानकारी दिइन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले भेरी अस्पताल सदैव गुणस्तरीय एवं प्रविधियुक्त स्वास्थ्य सेवा प्रदान गर्न तल्लीन रहेको उल्लेख गरे । बिरामी कुरुवाहरूको पीडा र मानसिक तनाव कम गर्न योग अभ्यासले अद्वितीय योगदान पु¥याउने विश्वास व्यक्त गर्दै उनले भने, ‘मानिसको मस्तिष्कमा जस्तो विचार आउँछ, दिमागले त्यस्तै हर्मोन उत्पादन गर्छ । त्यसैले अस्पताल जस्तो संवेदनशील ठाउँमा पनि सकारात्मक सोचको विकास गर्न योग अनिवार्य छ ।’

डा. दर्नालले बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बिरामीका कुरुवा आफन्तहरूको स्वास्थ्य प्रवद्र्धनका लागि योग कक्षालाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

योगको महत्व र नसर्ने रोगविरुद्धको बलियो सहयोगी
कार्यक्रमका योग प्रशिक्षक अधिवक्ता बसन्त गौतमले नियमित योग अभ्यासले मानिसलाई शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा पूर्ण रूपले स्वस्थ राख्न मद्दत गर्ने बताए । पछिल्लो समय खानपान र अस्तव्यस्त जीवनशैलीका कारण नसर्ने रोगहरू (जस्तैः उच्च रक्तचाप, मधुमेह, मुटुरोग, डिप्रेसन आदि) को महामारी तीव्र रूपमा फैलिरहेको अवस्थामा योग, ध्यान र प्राणायाम प्रत्येक व्यक्ति र परिवारका लागि अनिवार्य बनेको उनले बताए ।

Exit mobile version