भेरी अस्पताल : यस्तो छ बिरामीको चाप

भेरी अस्पताल नेपालगन्जमा बिरामीको संख्या बढ्दै गएको छ । अस्पताल उपचार सेवामा भैरहेको वृद्धि र प्रविधिको प्रयोगका कारण बिरामीहरूको चाप बढ्दै गएको हो । अस्पतालले धान्न नसक्ने अवस्थामा बिरामी पुग्ने गरेपछि अस्पतालमा बेड नपाएर कतिपय बिरामी अन्यन्त्र जानु परेको गुनासो पनि बेलाबेला सार्वजनिक हुने गरेको छ । सीमित बेडमा सञ्चालित सरकारी अस्पताल भएकाले सहुलियतमा उपचारका लागि पुग्ने इमरजेन्सीमा बिरामीहरूको चाप व्यवस्थापन अस्पताललाई चुनौति बन्दै गएको छ ।

अस्पतालले ओपिडि, इमरजेन्सी मात्रै होइन सरकारले प्रवाह गर्ने अन्य स्वास्थ्यका सेवाका कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गर्दै आइरहेको छ । भेरी अस्पताल नेपालगन्जमा बाँकेमा पश्चिमका २४ जिल्लाका बिरामीहरू उपचारका लागि आउने गरेका छन् । त्यसैले अस्पतालमा पूर्वाधार र जनशक्ति अझै थप्न आवश्यक रहेको माग पटकपटक उठाइँदै आएको छ ।

भेरी अस्पताल नेपालगन्ज नेपालगन्जमा बिरामीको संख्या बढ्दै गएको तथ्यांकले देखाउँछ । गत आर्थिक बर्ष २०८२÷०८३ मा भेरी अस्पताल नेपालगन्जबाट ओपिडि तर्फ १ लाख ७२ हजार ७ सय ७९ बिरामीले सेवा लिएका थिए । उक्त तथ्यांक आर्थिक बर्ष २०८१÷०८२ मा १ लाख ६६ हजार ४ सय ७६ जना रहेको थियो ।

आर्थिक बर्ष २०८२÷०८३ मा ४१ हजार १ सय ७४ बिरामीले इमरजेन्सी सेवा लिएका थिए । उक्त तथ्यांक त्यसअघिको आ.व. २०८१÷०८२ मा इमरजेन्सी सेवा लिने बिरामीको संख्या ३५ हजार ३ सय ३९ रहेको थियो ।

अस्पतालले आर्थिक बर्ष २०८०÷८१ मा १ लाख ६१ हजार ४ सय ५५ जनालाई ओपिडि सेवा दिएको थियो । उक्त आ.व.मा इमरजेन्सीमा सेवा लिने बिरामीको संख्या २८ हजार ५ सय ७५ रहेको अस्पतालको तथ्यांक रहेको छ । भेरी अस्पतालले आ.व. २०७९÷०८० मा १ लाख ४० हजार ६ सय ९० लाई ओपिडी, २८ हजार ५ सय ७४ लाई इमरजेन्सी सेवा प्रदान गरेको थियो ।

अस्पतालमा आर्थिक बर्ष २०८२÷०८३ मा ३ हजार ८ सय ९४ बिरामीको मेजर अपरेशन भएको थियो । उक्त तथ्यांक आर्थिक बर्ष २०८१÷०८२ मा मेजर अपरेशन ३ हजार ३ सय ९९ वटा, २०८०÷०८१ मा मेजर अपरेशन २ हजार ८ सय ६०, आर्थिक बर्ष २०७९÷८० मा २ हजार ४ सय ८१ रहेको थियो ।

Exit mobile version