जिल्ला प्रहरी कार्यालय बाँकेले संगठित रूपमा श्रृंखलाबद्ध मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरी भएका दुई वटा मोटरसाइकल समेत बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार, गत साउन ९ गते दिउँसो नेपालगन्ज उपमहानगरपालिका–१० स्थित रेष्ट्रोकप क्याफेको गेट बाहिर पार्किङ गरी राखिएको भे ११ प ६८२७ नम्बरको होण्डा साइन मोटरसाइकल चोरी भएको सूचना प्राप्त भएपछि खोजतलास सुरु गरिएको थियो । सोही दिन साँझ करिब ७ बजे नम्बर प्लेट परिवर्तन गरी चोरी भएको मोटरसाइकल चलाइरहेका ईन्द्र प्रसाद थारु र सन्जु रेश्मी मगरलाई नियन्त्रणमा लिइएको थियो ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरका अनुसार, अनुसन्धानका क्रममा उक्त मोटरसाइकल बाँकेको डुडुवा गाउँपालिका–४ निवासी २२ वर्षीय समिर बागवानले चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । चोरीपछि मोटरसाइकल नेपालगन्ज–१८ कारकादोस्थित जे.के. स्टिकर हाउसमा लगेर नम्बर प्लेट परिवर्तन गरिएको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले सिसीटिभी फुटेज तथा अन्य प्राविधिक प्रमाणहरूको विश्लेषण गर्दा समिर बागवान अन्य मोटरसाइकल चोरीका घटनामा समेत संलग्न रहेको देखिएको जनाएको छ । थप अनुसन्धानका क्रममा साउन ११ गते उनले चोरी गरी बिक्री गरेको भे ७ प ७७६८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल खरिदकर्तासहित बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी उक्त चोरीको घटनामा डुडुवा गाउँपालिका–४ का समिर बागवान, कोहलपुर नगरपालिका–७ का ईन्द्र प्रसाद थारु, नेपालगन्ज उपमहानगरपालिका–२० का सन्जु रेश्मी मगर, जे.के. स्टिकर हाउसका सञ्चालक जाकिर हुसेन कवडिया तथा डुडुवा गाउँपालिका–३ का सैमुद खाँ रहेका छन् ।
प्रहरीले बरामद भएका भे ११ प ६८२७ नम्बरको होण्डा साइन र भे ७ प ७७६८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
