बाँके मात्र नभएर देशकै राजनीतिमा लामो समयसम्म आफ्नो प्रभाव छाड्न सफल राजनीतिज्ञ फतेहसिंह थारुको देहावसान भएको पनि आज तेरह दिन भैसक्यो । ‘मान्छेको मनमस्तिष्कमा ‘फत्तेसिंह’ भएर बसेका उनको भौतिक शरीर पञ्चतत्वमा विलिन भैसक्यो तर उनको प्रभाव र चर्चा भने जनमानसबाट हराएको छैन ।
‘कुन दिन राजाले फतेहसिंह थारुलाई यो देशको प्रधानमन्त्री बनाइदिने हुन् !’ पञ्चायतकालको उत्तरार्धमा पंचहरूको समूहमा यस्तो चर्चा पनि हुने गथ्र्यो । राजाले उनलाई बिस्तारै माथिल्ला जिम्मेवारी दिदै गरेको कारणले पनि उनको विषयमा यस्ता चर्चा चल्ने गर्थे । उनी राजाको आँखामा परेका नेतामै गनिन्थे । यद्यपि उनी राजा, दरवार वा पंचायती संगठनहरूको आर्शिवादले नभएर आफ्नै सामथ्र्यले उभिएका नेता हुन् । उनी जनतामा आफ्नो व्यक्तिगत प्रभाव छाड्न सकेका केही सीमित पंचायतकालिन नेतामा गनिन्थे ।
‘थारु समुदायका ठूला नेता परशुनारायण चौधरीलाई पंचायत व्यवस्थामा प्रवेश गराएर मन्त्री बनाएपछि फतेहसिंह थारु पछाडि धकेलिएका हुन्’ भनेर पनि त्यतिखेर धेरैले टिप्पणी गरेका थिए । उनको स्पष्टवादी र विद्रोही स्वभावको कारणले उनी लाभको पदमा धेरै टिक्दैन थिए । उनको रुचि मनोनयन भन्दा जनताले छान्ने पदप्रति नै बढी थियो ।
बाँकेको थपुवा गाउँमा १९९६ साल असोज ३ गते जन्मेका फतेहसिंह थारु आजन्म समाजका अनेक आयाममा क्रियाशील रहे । उनी जुनसुकै भूमिकामा पनि सुहाउने र सफल हुने नेतामा गनिन्थे । उनको राजनीतिक जीवनले अनेकौँ आरोहअवरोह झेलेको थियो । २७ वर्षको उमेरमा उनको जीवनमा महत्वपूर्ण घुम्ती आयो । २०२३ सालमा लखनौबाट राजनीतिशास्त्रमा एमए र कुटनीतिशास्त्रमा डिप्लोमाका डिग्री बोकेर आफ्नो गाउँ फर्केका फतेहसिंहले ख्यालख्यालमैँ राजनीतिमा हाम फाले । हुन त उनी परराष्ट्र सेवामा काम गर्न खोज्थे ।
‘त्यसको लागि मैले काठमाडौँ गएर लोकसेवाको फारम पनि भरिसकेको थिएँ, तर गाउँ आएपछि मेरो सोँच र योजना परिवर्तन भयो । मैले आफ्नो पिछडिएको समुदायको उत्थान र देशको सेवा परराष्ट्र सेवामा काम गरेर भन्दा राजनीतिमा लागेर झन् राम्ररी गर्न सक्छु भन्ने लागेर अनायास राजनीतिमा लागेको हुँ’ भन्ने गर्थे उनी ।
२०२३ सालमा पंचायतका स्थानिय तहहरूको निर्वाचन हुँदा उनी हसनापुर गाउँ पंचायतको प्रधानपंचको निर्वाचनमा उठे र जिते । पहिलो प्रयासमैं भएको यस सफलताले उनी उत्साहित भए । त्यतिखेर बाँकेको राजनीतिमा ललित चन्दको एकछत्र प्रभाव थियो । शहीदका भाइ, प्रजापरिषद र काँग्रेसको राजनीति गरेर आएका, मन्त्री, राष्टिय पंचायतको अध्यक्ष तथा राजसभा स्थायी समितिको सभापतिको रूपमा राजा महेन्द्रको नजिक भएर काम गरेका र नेपालगन्जका प्रभावशाली राणापरिवारसित नाता सम्बन्ध जोडेका कारणले दुई दशकदेखि बाँकेको राजनीतिलाई ललित चन्दले आफ्नो अनुकुल नचाइरहेका थिए । त्यतिखेर उनीसित प्रतिस्पर्धा गर्ने प्रयत्न गरिरहेका थिए मूलचन्द आजादले ।
पंचायती व्यवस्था निर्दलिय भए पनि पंचहरू निर्वाचन हुँदा समुह र गुट बनाएर प्रतिस्पर्धा गर्ने गर्थे । बाँकेमा पनि ललित चन्द समुह र मूलचन्द समुह सतहमा देखिएका थिए । शान्ति शमशेर राणाको समर्थन पाएको हुनाले पंचायतको अघिल्लो कालखण्डमा ललित चन्द समुह बलियो देखिन्थ्यो । नियतिले फतेहसिंहलाई मूलचन्दको समुहमा मिसाइदियो । बिस्तारै मूलचन्द आजाद राजनीतिबाट ओझेल पर्दै गएपछि बाँकेमा फतेहसिंहको छुट्टै समुह बन्यो ।
२०२७ सालमा फेरि पंचायतका तहहरूको निर्वाचन हुने भयो । सो निर्वाचनले बाँकेमा फतेहसिंहलाई बलियो नेताको रूपमा उभ्याइदियो । मूलचन्द समुहबाट उनी जिल्ला पंचायत सभापतिमा उठेका थिए, जिते । मूलचन्द भने राष्ट्रिय पञ्चायतको सदस्यमा पराजित हुन पुगे । मूलचन्दले तेस्रोपटक राष्ट्रिय पञ्चायतको सदस्यमा विजयी भएका ललित चन्दका विरुद्ध निर्वाचन विशेष अदालतमा मुद्धा हाले । दुई वर्षपछि सोको फैसला हुँदा अदालतले मूलचन्दलाई विजयी घोषित गरिदियो ।
२०३१ सालको चैत्रमा पंचायतका निकायहरूको चुनाव फेरि हुने भयो । त्यतिखेर बाँकेमा शान्ति शमशेर गुट पनि छुट्टै सतहमा आइसकेको थियो । ललित चन्द गुट र मूलचन्द आजाद गुट क्रियाशील थिए नै । त्यतिखेर चुनावलाई भरसक सर्वसम्मति गर्ने प्रयास गथ्र्यो गाउँफर्क राष्ट्रिय अभियान समितिले । फतेहसिंह त्यतिखेर राष्ट्रिय पञ्चायतको सदस्यमा उठ्न चाहन्थे । तर तीन वटै गुटमा सहमति गरेर ललित चन्द गुटका सफी अहमद शाहलाई राष्ट्रिय पञ्चायतको सदस्य बनाइयो भने मूलचन्द गुटका फतेहसिंहलाई फेरि पनि बाँके जिल्ला पंचायतको सभापति नै बनाइयो ।
त्यतिखेर देशमा पढेलेखेका मान्छे थोरै थिए । राजनीतिमा त झन् अत्यन्त न्युन थिए । एमए गरेको मान्छे त्यतिखेर जिल्ला सभापति भएको घटना दुर्लभ थियो । सभापति चुनिएपछि फतेहसिंह युवा राजा वीरेन्द्रको दृष्टिमा परिहाले । २०२९ सालमा श्री ५ वीरेन्द्रको नेपालगंजमा सवारी हुँदाको घटनालाई सम्झिदै उनी स्वयम् भन्थे — ‘जिल्ला पंचायत सभापतिको नाताले म स्वागत समितिको अध्यक्ष थिएँ । मौसूफमा फूलमाला चढाउने बेलामा मौसूफले मलाई खुट्टादेखि टाउकोसम्म हेरिबक्सेको थियो, मलाई लाग्यो मौसूफले मलाई ध्यानमा राखिबक्सेको रहेछ’ ।
फतेहसिंह पहिलेदेखि नै स्वाभिमानी थिए । स्पष्टवादी थिए । चाकडी गर्ने स्वभाव थिएन । राजा र पंचायती व्यवस्थाप्रति भने हृदयदेखि नै आस्था थियो । दरबारलाई घेरेर बसेका भारादार र प्रशासकहरूसित भने उनको कहिल्यै कुरो मिलेन । त्यही भएर धेरैले उनलाई पंचायत विरोधी भनेर केन्द्रमा रिर्पोटिङ गर्थे । २०३० सालमा सुर्खेतको सवारी शिविरमा राजाको दर्शन गर्न आफूलाई मात्र जान दिने र आफूसंग गएका साथीहरूलाई नदिने भएपछि उनले ‘म एक्लै राजाको दर्शन गर्दिन’ भनेर अडान लिएको घटना त्यो बेला निकै चर्चित भएको थियो ।
सो कुरा राजाको कानमा पनि पुग्यो होला । पछि सबै साथीहरू सहित श्री ५ वीरेन्द्रको दर्शन भेटको अवसर मिलाइयो । उनी अहिले पनि सम्झिन्छन् श्री ५ बाट हुकुम भएको कुरा— ‘हेर फतेहसिंह ! पंचायती व्यवस्थाभित्र सबैलाई जसरी पनि पौडी खेल्ने सुविधा छ । तिमी पनि पंचायतकै सीमाभित्र बसेर आफ्नो इच्छाअनुसारले पौडी खेल न !’ ।
उनलाई राष्ट्रिय राजनीतिमा उठाउने योजना अन्तरगत राजाले २०३२ मंसिर २६ गते गाउँफर्क राष्ट्रिय अभियान समितिको केन्द्रीय समितिको सदस्य मनोनित गरे । फतेहसिंह कुनै पदमा मनोनित भएको त्यो एकमात्र अवसर थियो । सो मनोनयनले बाँकेको परिधिमा सीमित फतेहसिंह राष्ट्रिय राजनीतिमा उक्लिए ।
२०३२ साल मंसिरमा भएको संविधान संसोधनले पंचायतका तहहरूको निर्वाचन चक्रिय प्रणालीले हुने व्यवस्था ग¥यो । बाँकेको निर्वाचन हुने पालो २०३३ सालको हिउँदमा आयो । फतेहसिंह गाउँफर्क राष्ट्रिय अभियान केन्द्रीय समितिको सदस्यबाट त्यागपत्र दिएर फेरि बाँके फर्किए । दुई वर्ष अघि राष्ट्रिय पञ्चायको सदस्य हुन मनोनयपत्र प्रस्तुत गरिसकेर पनि सहमति गर्ने क्रममा नाम फिर्ता लिएर त्याग देखाएका शान्ति शमशेर राणालाई २०३३ मा राष्ट्रिय पञ्चायको सदस्य बनाइयो ।
त्यतिखेर फतेहसिंहले राष्ट्रिय पंचायत सदस्यको चुनाव लड्न खोजेका थिए । त्यतिखेर पंचायतका निकायमा चुनाव लड्न गाउँफर्कको अनुमोदन लिनु पर्ने व्यवस्था थियो । फतेहसिंह थारु रापंस नहोस् भन्ने समुहले उनलाई अनुमोदन नदिने निर्णय ग¥यो । त्यतिखेर उनले अनुमोदनको लागि गाउँफर्क राष्ट्रिय अभियान केन्द्रीय समितिबाट पर्यवेक्षक भएर आएका नरसिंहभक्त तुलाचन र गाउँफर्क राष्ट्रिय अभियान बाँके जिल्ला समितिका अध्यक्ष शेखर शर्मासंग गरेको विवादले ठूलो चर्चा पाएको थियो । अन्ततः सबैलाई समेट्ने गरि सहमति भएपछि फतेहसिंहले जिल्ला पंचायतको सभापति पदमा उठ्ने अनुमोदन पाए । उनी तेस्रो पटक बाँके जिल्ला पंचायतको सभापति नै चुनिए ।
बाँकेको विवाद केन्द्रसम्म पुग्यो । गाउँफर्क राष्ट्रिय अभियान समितिको केन्द्रीय समितिले पंचायतको अनुशासन भंग गरेको कारणले उनलाई निलम्बन ग¥यो । काठमाडौं पुगेर उनले खिचापोखरीस्थित पानोरमा होटेलमा पत्रकार सम्मेलन नै गरे । त्यसले निकै चर्चा भएको थियो । संभवतः त्यो घटना राजाको कानमा पनि पुग्यो होला । केही समयपछि उनको निलम्बन फुकुवा गरियो ।
उनी सभापति हुँदा २०३६ सालको आन्दोलन आयो । सबैसित सामाजिक सम्बन्ध जोड्ने स्वभाव भएका फतेहसिंहको त्यतिखेरका आन्दोलनकारीसित पनि राम्रै सम्बन्ध थियो । उनी आन्दोलनमा लागेर समातिएकाहरूलाई भनसुन गरेर छोडाइदिन्थे । आन्दोलनकारीहरूले उनको सदाशयताको लाभ पनि प्रशस्त उठाए । त्यही बेला उनको जीपमा बहुदलवादीहरूले पर्चा ओसारपसार गरेको आरोप लाग्यो । उनी फेरि निलम्बित भए । ‘राजा र पंचायती व्यवस्थाप्रति आफ्नो पूर्ण आस्था रहेको तर जिल्ला सभापति भएको नाताले सबैसित सम्पर्क राख्नु र सबैलाई सहयोग गर्नु मेरो कत्र्तव्य हो । यसलाई राजा र व्यवस्थाको विरोध गरेको अर्थ लाउनु हुँदैन’ भनेर पुष्टि दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।
२०३८ साल वैसाखमा पंचायतकालिन व्यवस्थापिका राष्ट्रिय पञ्चायतको प्रत्यक्ष वालिग मताधिकारको आधारमा निर्वाचन हुने भएपछि उनी सो निर्वाचनमा उत्साहपूर्वक उठे । यो पटक उनले कसैसित सहमति र मिलेमतो गर्नै परेन । सोझै जनताको दैलो पुगेपछि विकासवादी र काम गरिदिने मान्छे भनेर चिनिएका फतेहसिंहले बाँके जिल्लामा सबै समुदायबाट राम्रो मत पाए । उनले प्रचण्ड मतले चुनाव जिते । सो चुनाबबाट राष्ट्रिय पञ्चायतको सदस्य हुने बित्तिकै उनलाई २०३८ असार २ गते सूर्यबहादुर थापाको मन्त्रिपरिषदमा संचार राज्यमन्त्रीको जिम्मेवारी दिइयो । २०३९ असोज २४ गते भएको मन्त्रीपरिषद पुर्नगठनमा उनी संचार राज्यमन्त्रीबाट पदमुक्त गरिए ।
२०४० असार २९ गते लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा उनलाई शिक्षा तथा संस्कृति राज्यमन्त्री नियुक्त गरियो । उनले २०४२ साल जेठ १ गतेसम्म २२ महिना जति शिक्षा तथा संस्कृति राज्यमन्त्रीको रूपमा काम गरे ।
२०४३ साल वैसाखमा फेरि राष्ट्रिय पंचायतको निर्वाचन सम्पन्न भयो । यस निर्वाचनमा उनी बाँकेबाट पुनः राष्ट्रिय पंचायतको सदस्य निर्वाचित भए । सधैं प्रशासनको विरोध गर्ने र जनताको पक्ष लिने कारणले पंचायतकालमा रापंस हुँदा पनि २०४४ सालमा उनलाई अंचलाधीश नवराज गुरुङले राजकाज मुद्धा लगाएर थुनेका थिए । तर राजकाज मुद्धाको छिनोफानो नहुँदै दुई वर्ष नपुग्दै राजाले उनलाई फेरि मन्त्री नियुक्त गरिहाले ।
२०४६ सालको आन्दोलन चलिरहेको बेला मरिचमान सिंह श्रेष्ठ नेतृत्वको मन्त्रिपरिषदको २०४६ चैत्र १९ गते पुनर्गठन हँुदा फतेहसिंह आवास तथा भौतिक योजनामन्त्री नियुक्त भएका थिए । यो मन्त्रिपरिषद पाँच दिनमैँ विगठन भएको थियो ।
त्यतिखेर पञ्चहरू आन्दोलनकारीको आक्रमणमा पर्ने क्रम चलिसकेको थियो । सोही क्रममा उनलाई आन्दोलनकारी उपद्रवीहरूले कालोमोसो दलेर जुत्ताको माला लगाएर नेपालगंजको बजार घुमाएका थिए । त्यही दिन उनले त्रिभुवनचोकमा कालोमोसो दलेको अनुहार नपखालिकनै भाषण गर्दै भनेका थिए — ‘म छिटै फूलमाला लाएर यही ठाउँमा आइपुग्ने छु’ । नभन्दै त्यसको ४ वर्ष मैं उनी प्रतिनिधि सभाको चुनाव जितेर फूलमाला पहिरेर त्यही चोकमा भाषण गर्न आइपुगेका थिए ।
२०४६ सालको आन्दोलनले पंचायत व्यवस्थालाई विस्थापित ग¥यो । कार्यकाल नपुग्दै राष्ट्रिय पंचायत भंग भयो । त्यतिखेर विद्रोही स्वभावका फतेहसिंह थारुलाई मानिसहरूले कांग्रेस पार्टीमा जान्छन् कि क्या हो ? भनेर अनुमान गरेका थिए । तर उनले आस्था परिवर्तन गरेनन् । २०४७ जेठ १५ गते पूर्व पंचहरूका दुईटा दल खुले राप्रपाकै नाममा । राप्रपामा उनी राप्रपा (थापा) मा लाग्छन् कि भन्ने अनुमान विपरित राप्रपा (चन्द) मा लागे । २०४८ देखि २०७४ सम्मका सबै ६ वटा निर्वाचन उनले बाँके क्षेत्र नं. ३ बाट लडे । तर २०५१ को भन्दा अरू निर्वाचनमा उनले विजय पाउन सकेनन् । तैपनि हरेक निर्वाचनमा उनको आधार मत भने अन्त कतै गएन । २०६४ को माओवादी लहरमा पनि उनले आफ्नो आधार मत गुमाएनन् ।
२०५१ सालमा बाँकेका तीन वटै क्षेत्रमा उनको दलले जितेर कीर्तिमान कोरेको थियो । त्यसमा फतेहसिंहको व्यक्तिगत सकृयता र बाँकेको सामाजिक धरातलको सन्तुलनले पनि काम गरेको थियो । उनी २०५३ पुसमा शेरबहादुर देउवाको नेतृत्वमा बनेको काँग्रेस राप्रपा संयुक्त सरकारमा कृषिमन्त्री नियुक्त भए । २०५४ साल असोजमा सूर्यबहादुर थापाको नेतृत्वमा बनेको काँग्रेस राप्रपा संयुक्त सरकारमा उद्योगमन्त्री, २०५४ साल कार्तिकमा पुनः उद्योगमन्त्री र २०५४ मंसिरमा रक्षामन्त्री भए । रक्षामन्त्री हुने तराईको रैथाने समुदायको पहिलो व्यक्ति भएर उनले कीर्तिमान पनि कोरे । गठबन्धनको सो कालखण्डमा राप्रपाका सांसदहरूले कहिले कतै कहिले कतै दुगुरेर जगहँसाई गरे । तर फतेहसिंहले एमालेसंग मिलेर राप्रपाले बनाएको सरकारमा भने मन्त्री नखाएर असहमति जनाएका थिए । उनको अडान प्रजातान्त्रिक गठबन्धन बनाएर सैद्धान्तिक राजनीति गर्नु पर्छ भन्ने थियो । पहिले एमालेसंग नभएर काँग्रेससित गठबन्धन गरिएकोले त्यो गठबन्धन तोड्नु हुन्न भन्ने मान्यता थियो उनको ।
विगत आठ दशकमा बाँके जिल्लामा राजनीति गर्नेहरू मध्ये ललित चन्द, फतेहसिंह थारु, सुशील कोइराला र इस्तियाक राई सबैभन्दा बलिया र प्रभावशाली नेता मानिन्छन् । ललित चन्दलाई पारिवारिक पृष्ठभूमि र सत्ताको बलियो आड प्राप्त थियो । सुशील कोइरालालाई बलियो पार्टी र समयले साथ दिएको थियो । इस्तियाक राईको व्यक्तिगत क्षमता भन्दा पनि सामाजिक पृष्ठभूमि र धनबलको बलियो साथ छ । यतिमध्ये शिक्षा, बौद्धिकता र राजनीतिक संस्कारमा सबैभन्दा माथि भने फतेहसिंह नै पर्छन् । सामाजिक पृष्ठभूमि, सत्ता र संगठनको आडभरोसा नभए पनि आफ्नै बलबूतामा स्थापित भएका पात्र हुन् उनी । यति मध्ये जनतामा परेको प्रभावलाई हेर्दा फतेहसिंह नै सबैभन्दा सफल नेता मानिन्छन् । राजनीतिले जस्तोसुकै आरोहअवरोह व्यहोर्नु परे पनि उनले आफ्नो प्रतिष्ठा र व्यक्तित्वमा भने आँच आउन कहिल्यै दिएनन् ।
फतेहसिंहले राजनीति मात्रै थिएनन् । उनी विकासप्रेमी पनि हुन् । बाँके जिल्लामा स्थापना भएका अधिकांश विद्यालय, स्वास्थ्यचौकी, पुलपुलेसा र टेलिफोन टावरहरू उनकै पालामा बनेका हुन् । उनी मन्त्री हुँदा ‘फतेहसिंह मन्त्रीलाई भेट्यो भने जस्तो काम पनि हुन्छ’ भन्ने भनाई प्रचलित नै थियो । तर उनले निर्माण गराएका कुनै पनि भौतिक संरचनामा उनको नामको शिलालेख भेटिन्न । ‘नाम भन्दा काम ठूलो हो’ उनी भनिरहन्थे ।
आफ्नो समयका सम्पन्न जमिनदार परिवारमा जन्मेका फतेहसिंह थारुको व्यक्तित्वमा सम्भ्रान्त स्वभाव र अहम् कत्ति पनि थिएन । उनी समाजको तल्लो वर्गसंग पनि साक्षात्कार र हेलमेल गर्न सिपालु थिए । पढेलेखेको भए पनि उनले पाण्डि¥याई कहिल्यै छाँटेनन् । नेताहरूमा प्रायः बढी बोल्ने तर अरूका कुरा नसुन्ने बानी हुन्छ । त्यसको विपरित फतेहसिंह थारु थोरै बोल्ने तर बढी सुन्ने नेतामा गनिन्थे । ‘बोलेको कुरा हावामा मिसिएर हराउँछ, सुनेको कुरो मस्तिष्कमा गएर सेभ हुन्छ’ केही बोलनु प¥यो भनेर माइक तर्साउँदै जानेहरूलाई उनी यसो भनेर फर्काइदिन्थे ।
पंचायतकालमा सुकम्बासीहरूलाई प्रायः कम्युनिष्टका मान्छे भन्ने गरिन्थ्यो । फतेहसिंह थारु, नवलसिंह रावल र चन्द्रबहादुर बुढा जस्ता केही औंलामा गन्न सकिने व्यक्तिहरूले भने पंचायतकालमै सुकुम्बासीको लागि आन्दोलन नै गरेका थिए । उनले सरकारसित लडेर बसाएको सुकम्बासी बस्ती अचेल बाँकेमा ‘फत्तेनगर’ को नामले चिनिन्छ । मेघालयबाट लखेटिएका नेपालीहरूलाई कहाँ बसाउने भनेर ठाउँ नपाइएको अवस्थामा उनले बाकेको नौबस्तामा बसाउने व्यवस्था गरेका थिए ।
पंचायतकालमा पनि विद्रोह गर्न सक्ने, आफ्नो कुरा राजाको सामु पनि हाक्काहाकी राख्न सक्ने र निलम्बन भएर पनि फुकुवा गराउन सक्ने फतेहसिंह थारुको व्यक्तित्व आफ्नै ओजले चम्किदै गए । कोह िउनलाई ‘थपुवाको शेर’ भन्न थाले त कोही बाँकेको सिंह फत्तेसिंह’ भनेर प्रशंसा गर्न थाले ।
फतेहसिंह थारुले २३ वर्ष निर्दलिय पंचायती व्यवस्ताको राजनीति गरे । ३६ वर्ष बहुदलीय व्यवस्थामा बहुदलीय राजनीति गरे । उनी पंच भएर पनि कट्टर पंच र बहुदलमा काम गरेर पनि कट्टर बहुदलवादी हुन नसकेका व्यक्ति मानिन्छन् । उनी अरूको मार्गमा हिड्नुभन्दा आफ्नै मार्ग बनाएर हिड्न रुचाउँथे । उनको व्यक्तित्वमा देखिने बौद्धिकता, सहज व्यवहार, सबैसित मिलेर काम गर्न सक्ने स्वभाव र चित्त नबुझेको कुरामा विद्रोह गर्न सक्ने आँटले उनलाई सदाबहार नेता बनाइरह्यो । हरेक कालखण्डमा आफ्नो उपादेयता र भूमिका देखाउन सक्षम थिए उनी ।
