बाँके, लुम्बिनी प्रदेशमा पछिल्लो एक वर्षको अवधिमा विभिन्न प्रकारका विपद्का १ हजार ८ सय ३९ वटा घटना भएका छन् । ती घटनामा परी २ सय ९७ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार सबैभन्दा बढी आगलागीका ५ सय ५८ वटा घटना भएका छन् । आगलागीबाट २७ जनाको मृत्यु भएको छ । त्यस्तै सर्पदंशका ३ सय ७२ घटनामा पनि २७ जनाले ज्यान गुमाएका छन् ।
यद्यपि, मृत्युको हिसाबले पानीमा डुबेर हुने घटना सबैभन्दा घातक देखिएको छ । २ सय १३ वटा डुब्ने घटनामा १ सय ९० जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ, जुन कुल मृत्युमध्ये झण्डै दुई तिहाइ हो ।
त्यस्तै पहिरोका १ सय ६२ घटनामा १ जनाको, जनावरको आक्रमणका ७४ घटनामा १४ जनाको, चट्याङका ६० घटनामा ११ जनाको तथा विषाक्त खाद्य सेवनका ४७ घटनामा ९ जनाको मृत्यु भएको छ । त्यसैगरी अन्य ९८ घटनामा ९ जनाको, बाढीका २२ घटनामा ६ जनाको तथा माटोको ढिस्कोले पुरिँदा ४ घटनामा २ जनाको मृत्यु भएको छ ।
तथ्यांक अनुसार अधिक वर्षा ९१, हावाहुरी ४९, डढेलो ८४, डुबान २, असिनापात २ र भूकम्पका १ का घटना भए पनि यीमध्ये अधिकांशमा मानवीय क्षति न्यून वा शून्य रहेको छ ।
विज्ञहरूले विशेषगरी डुबेर हुने मृत्यु न्यूनीकरणका लागि जनचेतना, बालबालिकाको निगरानी, नदी तथा जलाशयमा सुरक्षा व्यवस्था र उद्धार तयारीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका छन् । आगलागी र सर्पदंशका घटना पनि उच्च रहेकाले समुदायस्तरमा पूर्वतयारी र सचेतना कार्यक्रम प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।
