आज २०८३ साल श्रावण १३ गते, आषाढ शुक्लपूर्णिमा अर्थात् गुरूपूर्णिमा । सनातन वैदिक परम्परामा गुरुको महिमा, ज्ञानको ज्योति र संस्कारको सम्मानलाई स्मरण गर्ने यस पावन अवसरमा देशभर विविध धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी गुरूपूर्णिमा श्रद्धा, भक्ति र कृतज्ञताका साथ मनाइँदै छ। अज्ञानको अन्धकारबाट ज्ञानको प्रकाशतर्फ मानव जीवनलाई मार्गदर्शन गर्ने सम्पूर्ण आदरणीय गुरुजनप्रति साष्टाङ्ग नमन गर्दै, उहाँहरूको अमूल्य योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यो लेख श्रद्धापूर्वक समर्पण गर्दछु ।
सनातन वैदिक संस्कृति र पूर्वीय दर्शनमा गुरुलाई केवल हाडछालाको लौकिक शरीर वा विद्यालयमा पढाउने सामान्य अध्यापकका रूपमा मात्र हेरिएको छैन । शास्त्रहरूमा गुरुलाई साक्षात् सृष्टि, स्थिति र लयका कारक त्रिदेव—ब्रह्मा, विष्णु र महेश्वर—का अभिन्न स्वरूप मानिएको छ। दृश्य र अदृश्य जगत्मा जे–जति परमज्ञान विद्यमान छ, ती सर्वव्यापी ज्ञानका साक्षात् मूर्त रूप भनेकै गुरु हुनुहुन्छ । संस्कृत व्याकरणका अनुसार ‘गु’ शब्दले अन्धकार वा अज्ञानतालाई सङ्केत गर्दछ भने ‘रु’ शब्दले प्रकाश वा ज्ञानलाई जनाउँछ । अतएव, शिष्य वा साधकको चेतनाभित्र व्याप्त मोह, अज्ञान र संशयको तिमिरलाई आफ्नो दिव्य उपदेश एवं ज्ञान–रश्मिद्वारा विनष्ट गरी सत्य, शिव र सुन्दरको उज्यालो तिर डोरÞ्याउने परम पावन चेतना नै गुरु हो। गुरुबिना मानव जीवनको कुनै सार्थक दिशा वा अन्तिम ध्येय सम्भव छैन । गुरु नै हाम्रा अज्ञानरूपी भवसागर तार्ने परम पोत हुनुहुन्छ ।
आगामी २०८३ श्रावण १३ गते पर्ने आषाढ शुक्ल पूर्णिमाका दिन हामी समस्त सनातन धर्मावलम्बीहरू अत्यन्त भक्ति, श्रद्धा एवं कृतज्ञताका साथ गुरूपूर्णिमा पर्व मनाउँदै छौँ । यो दिन केवल एक लौकिक उत्सव मात्र नभई, गुरुतत्वप्रति आत्मसमर्पण गर्ने र उहाँहरूका चरणकमलमा शिर झुकाउने महापर्व हो। वैदिक साहित्यमा यस पावन तिथिलाई व्यासपूर्णिमाका नामले पनि वन्दन गरिन्छ । पौराणिक मान्यता अनुसार महाभारत, अष्टादश पुराण, ब्रह्मसूत्रका रचयिता तथा सङ्कीर्ण रूपमा रहेका वेदहरूलाई चार भागमा विभाग गरी मानव कल्याणका लागि सरलीकृत गरिदिने अमित तेजस्वी महर्षि वेदव्यासजीको प्राकट्य यसै तिथिमा भएको थियो । त्यसैले संसारका समस्त ज्ञानका आदि–स्रोत स्वरूप महर्षि व्यासको पूजन गर्दै यस दिनलाई व्यासपूर्णिमाका रूपमा मनाउने परम्परा युगौँदेखि अक्षुण्ण रहँदै आएको छ ।
पौराणिक प्रसङ्गहरूका अनुसार आदिगुरु भगवान् शिव दक्षिणा मूर्ति रूपमा यसै तिथिका दिन आफ्ना मानसपुत्र मानिएका सप्तर्षिहरूलाई योग, ध्यान र अध्यात्मको प्रथम उपदेश दिनुभएको थियो। यसरी मानव शरीरलाई शारीरिक, मानसिक एवं आध्यात्मिक रूपमा सबल र निरोगी बनाउने योगशास्त्रको प्रादुर्भाव पनि यसै पावन दिनसँग गाँसिएको छ। आधुनिक युगमा नसर्ने रोगहरूको महामारी व्याप्त भइरहेको विषम परिस्थितिमा, आदिगुरु शिव र योगगुरुहरूले देखाएको यो योगमार्ग मानव जातिको सञ्जीवनी बुटी बन्न पुगेको छ । हाम्रो पूर्वीय दर्शन तथा विष्णुपुराण, स्कन्दपुराण, श्रीमद्भागवत र श्रीमद्भगवद्गीता जस्ता धर्मशास्त्रहरूमा गुरुको स्थान सबैभन्दा उच्च एवं वन्दनीय राखिएको छ। गुरूपूर्णिमाको दिनदेखि नै साधु–सन्त, ऋषिमहर्षिहरू एकै स्थानमा बसेर अध्यात्म, तन्त्र, मन्त्र र ब्रह्मविद्याको कठोर साधना गर्ने चातुर्मास व्रत आरम्भ गर्दछन् ।
पूर्वीय मनीषाका अनुसार केवल शास्त्रीय शिक्षा दिने व्यक्ति मात्र गुरु हुनुहुन्न। हामीलाई जीवनोपयोगी व्यवहार सिकाउने, सङ्गीत तथा ६४ प्रकारका कलाहरूका ज्ञान दिने, गायत्री एवं दीक्षामन्त्र प्रदान गर्ने आचार्य, योग र ध्यान सिकाउने योगगुरु, तथा उमेर, बुद्धि, बल, अनुभव र विवेकले पाका अग्रजहरू पनि गुरुकै कोटीमा पर्छन् । शास्त्रले स्पष्ट रूपमा निर्देश गरे अनुसार माता, पिता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, काका तथा गुरुतुल्य ब्राह्मणहरू हाम्रा आदरणीय गुरुजन हुनुहुन्छ । जीवनको प्रारम्भिक चरणमा जब बालक असहाय हुन्छ, तब ममतामयी आमा नै पहिलो गुरु बनेर बोल्न, खान र संस्कार सिक्न सिकाउनुहुन्छ । तत्पश्चात्, पिता र गुरुजनहरूले हात समातेर औँला समात्दै समाज, धर्म र ज्ञानको असीम संसारमा प्रवेश गराउनुहुन्छ ।
वैदिक संस्कृतिमा गायत्री मन्त्रलाई समस्त वेदहरूको सार र ज्ञानको सर्वोच्च ज्योति मानिएको छ । यो मन्त्र सूर्यदेवको परम दिव्य तेजको ध्यान गर्दै आफ्नो बुद्धि र चेतनालाई सत्मार्गमा प्रेरित गर्ने सर्वोच्च प्रार्थना हो। जसले हामीलाई गायत्री मन्त्रको दीक्षा दिनुहुन्छ, वा मन्त्रोच्चारण सिकाएर हाम्रा कानमा ज्ञानको बीजारोपण गर्नुहुन्छ, उहाँ नै हाम्रा साक्षात् दीक्षा गुरु वा असली गुरु हुनुहुन्छ । यस उपनिषद्कालीन चिन्तनलाई स्मरण गर्दा, म आफूलाई परम सौभाग्यशाली मान्दछु । मलाई सर्वप्रथम बाल्यकालमै गायत्री मन्त्रको दिव्य ध्वनि सुनाएर अध्यात्म, धर्म र ज्ञानको उज्यालो मार्गमा डोर्याउने मेरो प्रथम गुरु मलाई जन्म दिने आदरणीय पिताश्री नै हुनुहुन्थ्यो ।
गुरूपूर्णिमाको यो महापावन पर्वमा म मेरा पूज्य स्वर्गीय पिताश्री कृष्णप्रसाद गौतम तथा परमवन्दनीया स्वर्गीय माताश्री थानकुमारी गौतमका श्रीचरणकमलमा असीम श्रद्धा, भक्ति, कृतज्ञता एवं भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु । मेरा पूज्य पिताश्री शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो । उहाँ वैदिक धर्म, समाज, संस्कृति र संस्कृत साहित्यका गम्भीर अध्येता एवं प्रखर चिन्तक हुनुहुन्थ्यो । उहाँले मलाई बाल्यकालमै गायत्री मन्त्रको उच्चारण सिकाउँदै मेरो अन्तस्करणमा आध्यात्मिक चेतनाको बीजारोपण गरिदिने प्रथम गुरु हुनुहुन्थ्यो । धर्म, संस्कार, सत्यनिष्ठा, कर्तव्यपरायणता र निःस्वार्थ सेवाभावलाई उहाँले जीवनको मूल दर्शन बनाउनुभयो । विद्यार्थीहरूका लागि एक प्रेरणादायी गुरु, परिवारका लागि आदर्श अभिभावक, र समाजका लागि एक निष्ठावान् चेतनामयी नागरिकका रूपमा उहाँको व्यक्तित्व सदैव अनुकरणीय रह्यो ।
त्यसै गरी, मेरो जीवनकी प्रथम जननी एवं गुरु स्वर्गीय माताश्री थानकुमारी गौतम त्याग, करुणा, क्षमाशीलता र सहनशीलताकी सजीव प्रतिमूर्ति हुनुहुन्थ्यो । उहाँले मलाई केवल शरीर मात्र दिनुभएन, अपितु जीवनमा विनम्रता, प्रेम, सहिष्णुता, भ्रातृत्व र पारिवारिक दायित्वको गहिरो पाठ पढाउनुभयो । आफूले असीम कष्ट, अभाव र दुःख सहेर पनि सन्तानको मुहारमा मुस्कान ल्याउने उहाँको त्यो अद्भूत त्याग नै मेरो जीवनको सबैभन्दा ठूलो सम्पति हो । उहाँका कोमल हातहरूले दिएका संस्कार र आशीर्वादले आज पनि मलाई जीवनका कठिनतम मोडहरूमा असीम धैर्य र ऊर्जा प्रदान गरिरहेका छन् । मेरा लागि मेरा आदरणीय पिताश्री र माताश्री दुवै जना कुनै साधारण व्यक्ति हुनुहुन्नथ्यो; उहाँहरू जीवनका दुई विशाल अमूल्य विश्वविद्यालय हुनुहुन्थ्यो ।
तर, वर्तमान समयमा आधुनिकता, भौतिकवाद र पश्चिमी संस्कृतिको अन्धअनुकरणका कारण हाम्रो समाजमा एउटा गम्भीर सांस्कृतिक सङ्कट उत्पन्न भइरहेको छ । पछिल्लो पुस्तामा आफ्ना वृद्ध माता–पिता प्रति सम्मानको सट्टा उदासीनता, बेवास्ता र उपेक्षा गर्ने प्रवृत्ति चिन्ताजनक रूपमा बढ्दै गएको देखिन्छ । जुन माता–पिताले आफ्नो सम्पूर्ण जीवन, जवानी, सुख–सुविधा र रगत–पसिना बगाएर सन्तानलाई सक्षम बनाए, आज तिनै बुबाआमा बुढेसकालमा आफ्नै घरभित्र एक्लोपन, उपेक्षा र कहिलेकाहीँ त वृद्धाश्रमको करुण ढोका ढक्ढक्याउन बाध्य पारिएका छन् । आधुनिक शिक्षा र प्रविधिमा दक्ष बनेका युवाहरूमा प्राविधिक ज्ञान त बढेको छ, तर हृदयको करुणा, पितृदेवो भव र मातृदेवो भवको वैदिक मूल्य–मान्यता भने निरन्तर खिइँदै गएको छ। यो केवल व्यक्ति वा परिवारको ह्रास मात्र होइन, बरु सिङ्गो पूर्वीय सभ्यता र संस्कारकै क्षयीकरण हो ।
शास्त्रहरूमा स्पष्ट भनिएको छ कि माता–पिताको सेवा गर्नुभन्दा ठूलो कुनै तीर्थ, धर्म वा जप–तप छैन । जस्तोसुकै भौतिक प्रगति हासिल गरे पनि यदि सन्तानले आफ्ना जन्मदाता माता–पितालाई सम्मान गर्न सक्दैन र उहाँहरूको बुढेसकालको सहारा बन्न सक्दैन भने त्यो शिक्षा र धन निरर्थक सिद्ध हुन्छ। त्यसैले, आजको नयाँ पुस्तालाई आधुनिक प्रविधि र ज्ञानसँगै माता–पिता प्रतिको दायित्व, आदर–सत्कार र पूर्वीय नैतिक संस्कार पुनः सिकाउनु अत्यावश्यक भइसकेको छ । गुरूपूर्णिमा जस्ता पावन पर्वहरूले हामीलाई यही अमर सन्देश दिन्छन् कि हाम्रा माता–पिता नै हाम्रा यस धरतीका प्रथम साक्षात् ईश्वर र परम गुरु हुनु
हुन्छ । उहाँहरूको सेवा र चरणवन्दन गर्नु नै हरेक सन्तानको परम धर्म हो ।
श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले सच्चा गुरुको लक्षण वर्णन गर्दै भन्नुभएको छ कि जसले तत्त्वज्ञानलाई प्रत्यक्ष अनुभूति गरेको छ, जो काम, क्रोध, लोभ, मोह र अहङ्कार भन्दा धेरै माथि उठेको छ, उही वास्तवमा गुरु पदको योग्य हुन्छ । सच्चा गुरुले कहिल्यै आफूलाई कर्ता मान्नुहुन्न; उहाँ त केवल ईश्वरको सन्देश प्रवाह गर्ने माध्यम हुनुहुन्छ । आजको अत्याधुनिक र व्यावसायिक युगमा ज्ञानका साधनहरू सहजै उपलब्ध भए तापनि अध्यात्म, आत्मज्ञान र चरित्र निर्माणको क्षेत्रमा गुरुतत्व र माता–पिताको मार्गदर्शनको महत्ता झन् बढेर गएको छ । प्रविधिले सूचना दिन सक्छ, तर जीवन बाँच्ने विवेक, करुणा र साँचो संस्कार केवल आमा–बुबा र गुरुको चरणमा बसेर मात्र प्राप्त गर्न सकिन्छ ।
गुरूपूर्णिमा केवल एक दिनको औपचारिकता मात्र होइन; यो त जीवनभर गुरुजन तथा आमा–बुबाप्रति समर्पित रहने, उहाँहरूले देखाउनुभएको धर्म र ज्ञानको मार्गमा अविचलित भई हिँड्ने सङ्कल्पको दिन हो । यस पावन अवसरमा मलाई अक्षरारम्भ गराउने, विद्या र ज्ञान दिने मेरा सम्पूर्ण प्रत्यक्ष एवं अप्रत्यक्ष प्राज्ञिक तथा आध्यात्मिक गुरुजनहरूमा साष्टाङ्ग प्रणाम व्यक्त गर्दछु । साथै मलाई जन्म दिएर यो मानव चोला सार्थक बनाउनुहुने मेरा परमपूज्य स्वर्गीय पिताश्री कृष्णप्रसाद गौतम तथा माताश्री थानकुमारी गौतमका पावन चरणकमलमा पुनः भावपूर्ण श्रद्धाञ्जली एवं अनन्त कृतज्ञता अर्पण गर्दछु । उहाँहरूको दिव्य आशीर्वाद र उहाँहरूले दिएका अमर संस्कारहरूले मेरो जीवनयात्रामा सधैँ सत्य, ज्ञान र धर्मको मार्ग आलोकित भइरहोस् । हार्दिक नमन। अनन्त श्रद्धाञ्जली । सदैव कृतज्ञ । जय गुरुदेव! जय व्यासदेव !
