सजल गैरे
गुरु पूर्णिमाको अवसरमा नेपालगन्जस्थित भृकुटी तेक्वान्दो डोजाङमा गुरु–शिष्यबीच सम्मान, शुभकामना आदानप्रदान तथा पुनर्मिलन कार्यक्रम आयोजना भएको छ । बुधवार भएको कार्यक्रममा वर्तमान तथा पूर्व खेलाडीहरूले आफ्ना गुरु चन्द्रप्रकाश श्रेष्ठ र उमा थापा मगरलाई केक काटेर, उपहार प्रदान गर्दै सम्मान गरेका हुन् ।
कार्यक्रममा सहभागी खेलाडीहरूले परम्परागत टीका, माला र दक्षिणाको सट्टा आधुनिक शैलीमा गुरु सम्मान गरेका थिए । केक काट्दै र उपहार प्रदान गर्दै उनीहरूले गुरुहरूप्रति कृतज्ञता व्यक्त गरे । कार्यक्रममा वर्षौंअघि प्रशिक्षण लिएर विभिन्न कारणले खेल छाडेका पुराना विद्यार्थीहरू पनि सहभागी भएका थिए । उनीहरूले आफ्ना गुरुहरूसँग पुनः भेट गर्दै सम्मान अर्पण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ तेक्वान्दो प्रशिक्षक चन्द्रप्रकाश श्रेष्ठले गुरुको आवश्यकता खेल जीवनदेखि व्यक्तिगत जीवनसम्म निरन्तर रहने बताए । गुरुले आफूसँग भएको ज्ञान, सीप र अनुभव कुनै स्वार्थ नराखी शिष्यलाई हस्तान्तरण गर्नुपर्ने उनको धारणा थियो ।
‘आजको प्रविधिको युगमा केही प्रशिक्षकमा आफूले सिकाएको विद्यार्थी आफूभन्दा अगाडि जान्छन् कि भन्ने डर देखिन्छ । तर मेरा लागि विद्यार्थीहरू मभन्दा सफल र उच्च स्थानमा पुग्नु नै सबैभन्दा ठूलो गर्वको विषय हो,’ श्रेष्ठले भने ।
श्रेष्ठका अनुसार, उनले हालसम्म करिब ६ हजारभन्दा बढी विद्यार्थीलाई तेक्वान्दो प्रशिक्षण दिइसकेका छन् । तीमध्ये धेरै खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै सफलता हासिल गरिसकेका छन् ।
श्रेष्ठले गुरुको जिम्मेवारी खेल मैदानमा मात्र सीमित नहुने उल्लेख गरे । खेलाडी घरबाट अभ्यासका लागि निस्किएको क्षणदेखि सुरक्षित रूपमा घर फर्किएसम्म गुरुको दायित्व रहने उनको भनाइ थियो । कुलतमा फसेका केही खेलाडीलाई सम्झाइबुझाइ सही बाटोमा फर्काउन सफल भएको अनुभव पनि उनले सुनाए ।
भृकुटी तेक्वान्दो डोजाङ प्रमुख उमा थापा मगरले बाँकेबाट आफूले धेरै माया, सम्मान र साथ पाएको बताइन् । यहाँका खेलाडी मेहनती र अनुशासित भए पनि निश्चित स्तरमा पुगेपछि धेरैले खेल छाड्ने प्रवृत्ति देखिएको उनको भनाइ थियो ।
‘कतिपय खेलाडी गुरुको कुरा पनि सहजै मान्दैनन् । तर हामी धैर्यपूर्वक उनीहरूलाई खेलको अनुशासन, जीवनशैली र जिम्मेवारीबारे बुझाउँदै अघि बढाइरहेका छौं,’ उनले भनिन् । पूर्वविद्यार्थीबाट सम्मानित भएपछि भावुक बनेकी थापा मगरले गुरुका लागि शिष्यको माया नै सबैभन्दा ठूलो पुरस्कार भएको बताइन् ।
उनले भनिन्, ‘विद्यार्थीहरूले वर्षौंपछि पनि गुरु सम्झेर सम्मान गर्न आउँदा जुन खुसी मिल्छ, त्यो शब्दमा व्यक्त गर्न सकिँदैन । यो अनुभूति आमाले आफ्ना सन्तानबाट पाएको मायाजस्तै अमूल्य हुन्छ ।’
कार्यक्रममा भारतबाट नियमित रूपमा नेपालगन्ज आएर प्रशिक्षण लिने विद्यार्थी कोडियाल सिंह सोडीले आफ्नो भविष्य निर्माणमा गुरु चन्द्रप्रकाश श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले भने ‘मेरो भविष्य निर्माण गर्ने व्यक्ति मेरा गुरु हुनुहुन्छ । भारतमा राम्रो प्रशिक्षक नपाएपछि म सात वर्षदेखि नेपालगन्ज आएर उहाँसँग तेक्वान्दो सिक्दै आएको छु ।’
अछामबाट अध्ययनका लागि नेपालगन्ज आएकी खेलाडी रेखा नेपालीले तेक्वान्दोले आफ्नो जीवन नै परिवर्तन गरेको अनुभव सुनाइन् । ‘मैले धेरै खेलहरू प्रयास गरेँ, तर तेक्वान्दोजस्तो अनुशासन र आत्मविश्वास दिने खेल अर्को भेटिनँ । गुरु उमा थापा मगरले दिएको माया, प्रेरणा र ज्ञानकै कारण आजसम्म यो खेल निरन्तर खेलिरहेकी छु,’ उनले कार्यक्रममा भनिन् ।
सहभागीहरूले गुरु पूर्णिमाको अवसरमा आयोजित कार्यक्रमले गुरु–शिष्य सम्बन्धलाई अझ बलियो बनाएको बताएका थिए । उनीहरूका अनुसार यस्ता कार्यक्रमले तेक्वान्दोमा अनुशासन, सम्मान, संस्कार र गुरुको भूमिकाप्रतिको चेतना अझ सुदृढ बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
