आन्दोलन फिर्ता भएपछि नियमित स्वास्थ्य सेवा सञ्चालन
स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुव्र्यवहारका घटनापछि चर्किएको विवाद अन्ततः सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमतिमार्फत टुंगिएको छ । सहमतिसँगै नेपाल चिकित्सक संघले देशभर सञ्चालन गरिरहेको आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि फिर्ता लिएको छ भने नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।
बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको हो । त्यसलगत्तै संघले आन्दोलन स्थगित गर्दै आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय पनि फिर्ता लिएको जनाएको छ ।
सहमतिअनुसार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जिम्मेवारी सरकारले लिएको छ । ऐन कार्यान्वयनका लागि आवश्यक निर्देशिका छिट्टै तयार पार्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानुनी कारबाही प्रभावकारी बनाउने र सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय गर्ने विषयमा पनि सहमति भएको छ ।
त्यसैगरी स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार पारिने भएको छ । सो कार्यका लागि नेपाल चिकित्सक संघसँगको सहकार्यमा कार्यदल गठन गरिने र कार्यान्वयनको प्रगति नियमित रूपमा समीक्षा गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ ।
सरकारसँग सहमति भएपछि नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्दै नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । यससँगै देशभरका सरकारी, निजी तथा गैरसरकारी स्वास्थ्य संस्थामा रोकिएका सेवा क्रमशः नियमित हुने भएका छन् ।
यसअघि चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका थिए । गत शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुव्र्यवहारपछि आन्दोलनका कार्यक्रम घोषणा गरिएको थियो ।
सोही घटनाको विरोधमा नेपाल चिकित्सक संघ भेरी शाखाले बुधवारनै जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको थियो । चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न र घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न माग गर्दै प्रशासनसमक्ष ध्यानाकर्षण गराइएको भेरी शाखाका सचिव डा. प्रचण्ड गौतमले बताए ।
नेपाल चिकित्सक संघले सोमबार प्रेस विज्ञप्तिमार्फत साउन १३ गते देशभरका सरकारी, निजी तथा गैरसरकारी अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा स्थगित गर्ने निर्णय सार्वजनिक गरेको थियो । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि पटक–पटक आक्रमण भइरहेकाले त्यसको विरोधस्वरूप आन्दोलनका कार्यक्रम घोषणा गरिएको संघले जनाएको थियो । अहिले भने सरकारसँग सहमति भएपछि ती सबै आन्दोलनका कार्यक्रम फिर्ता लिइएको छ ।
