आज जुलाई ३० अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस । दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । मानव बेचबिखन महिला, बालबालिका तथा पुरुषलाई जबरजस्ती श्रम, यौन शोषण, घरेलु दासता, अंग व्यापार तथा अन्य शोषणका उद्देश्यले गरिने गम्भीर मानवअधिकार उल्लङ्घन तथा संगठित अपराध हो ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो को आर्थिक वर्ष २०७७÷७८ देखि २०८२÷८३ को जेठसम्मको तथ्यांकअनुसार यस अवधिमा १ हजार ५५ वटा मुद्दा दर्ता भएका छन् । ती घटनामा १ हजार ४ सय ३४ पीडित रहेका छन् । मानवबचेबिखन सम्बन्धी मुद्दामा छ बर्षमा २ हजार २ सय ३९ जना प्रतिवादी, १ हजार ३ सय ७५ जना पक्राउ तथा २ हजार ५ सय ६५ जनाको उद्दार गरिएको छ । तथ्यांकअनुसार पीडितमध्ये ८ सय ४५ महिला, ४ सय ५४ बालिका, १ सय २४ पुरुष र ११ बालक रहेका छन् । प्रतिवादीतर्फ ६ सय ४५ महिला, १७ बालिका, १ हजार ५ सय ५९ पुरुष र १५ बालक छन् । पक्राउ परेकामध्ये ४ सय १ महिला, १३ बालिका, ९ सय ४८ पुरुष र १३ बालक रहेका छन् ।
उद्दार गरिएकामध्ये १ हजार ६ सय ६४ महिला, ५ सय ४ बालिका, २ सय ७६ पुरुष र १ सय ४१ बालक रहेका छन्, जसले मानव बेचबिखनको मुख्य जोखिम अझै पनि महिला र बालिकामाथि केन्द्रित रहेको देखाउँछ ।
आर्थिक वर्षगत रूपमा हेर्दा २०७७÷७८ मा सबैभन्दा धेरै २ सय २७ मुद्दा दर्ता भएका थिए भने २०८२÷८३ को जेठसम्म १ सय ८२ मुद्दा दर्ता भएका छन् । पछिल्ला वर्षहरूमा मुद्दा दर्तामा केही उतारचढाव देखिए पनि मानव बेचबिखन अझै गम्भीर चुनौतीका रूपमा कायम रहेको तथ्यांकले पुष्टि गरेको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ ले बेचबिखन तथा शोषणमा संलग्नलाई कडा सजाय, पीडितलाई क्षतिपूर्ति, संरक्षण तथा पुनःस्थापनाको व्यवस्था गरेको छ । कानुनको प्रभावकारी कार्यान्वयन, सीमा निगरानी, जनचेतना अभिवृद्धि, रोजगारीका नाममा हुने ठगी नियन्त्रण तथा समुदायस्तरको सक्रिय सहभागिताले मात्रै मानव बेचबिखन न्यूनीकरण गर्न सकिने सरोकारवालाको भनाइ छ ।
