कुलपति प्रा.डा. ढकालको सकियो कार्यकाल
लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलपति प्रा.डा. विनोद प्रसाद ढकालले आफ्नो कार्यकालको छोटो समयमा पनि विश्व विद्यालयको बलियो आधार तयार भएको बताएका छन् ।
आफ्नो नियुक्तिको चार वर्षे कार्यकाल सकेर आज शुक्रवार त्रिभुवन विश्वविद्यालयमा फिर्ता हुन लागेका प्रा.डा. ढकालले दैनिक नेपालगन्जसँग भने, ‘एउटा सानो कोठामा ३÷४ जना कर्मचारीबाट शुरु भएको हाम्रो यात्राको प्रारम्भले विश्वविद्यालयको राम्रो आधार तयार गरेको छ ।’
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक ढकाललाई सरकारले २०७९ साउन १५ गते लुम्बिनी विश्वविद्यालयको पहिलो उपकुलपति नियुक्त गरेको थियो । ‘शैक्षिक कार्यक्रम शुरु गरेको तीन वर्षमा चार सय विद्यार्थी, झण्डै ४० कर्मचारीसहितको विशाल संस्थागत संरचना गौरवकै विषय हो,’ प्रा. डा. ढकालले भने, ‘यसको कन्टिन्यूटि र स्ट्रेन्थिङमा अझै बलियो गरि काम गर्दै, पूर्वाधार र रिसर्चका काममा जोड दिनुपर्नेछ ।’
लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्र बाँकेको नेपालगन्ज भएकाले विभिन्न जिल्ला र क्षेत्रमा यसको विस्तार आवश्यक रहेको संस्थापक उपकुलपति प्रा.डा. ढकालले कृषि र पर्यटनका सम्भावना भएका ठाउँमा त्यसको विस्तार आवश्यक रहेको बताए । ‘हामी आइटीमा फोकस भइयो, फरेष्ट्री र इन्जिनियरिङको क्षेत्रपनि विस्तार गरिनुपर्नेछ,’ प्रा.डा. ढकालले दैनिक नेपालगन्जको जिज्ञासामा भने ।
विहिवार लुम्बिनी प्राविधिक विश्वविद्यालयले उपकुलपति प्रा.डा. ढकालको औपचारिक विदाई कार्यक्रम गरेको छ । कार्यक्रममा उपकुलपति प्राडा ढकालको योगदान विश्वविद्यालयका लागि सदैव स्मरणीय रहने धारणा सहभागीहरुले व्यक्त गरे ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलसचिवले रेगबहादुर भण्डारीले उपकुलपति प्राडा ढकालको नेतृत्व, समर्पण र योगदान विश्वविद्यालयको इतिहासमा सदैव स्मरणीय रहने बताए । आफुपनि विदाईकै संघारमा रहेका भण्डारीले कुनै पनि संस्थाको विकास भौतिक संरचनाले मात्र नभई दूरदर्शी नेतृत्व, स्पष्ट सोच, इमानदार कार्यशैली र समर्पित टोलीको अथक प्रयासबाट सम्भव हुने उल्लेख गरे ।
कुलसचिव भण्डारीले प्राडा ढकालको नेतृत्वमा लुम्बिनी प्राविधिक विश्वविद्यालयले छोटो समयमै संस्थागत आधार सुदृढ बनाएको, शैक्षिक कार्यक्रम विस्तार गरेको तथा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै दक्ष जनशक्ति उत्पादनतर्फ महत्वपूर्ण कदम चालेको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यको वातावरण निर्माण गर्न उनले खेलेको भूमिका पनि अनुकरणीय रहेको उनको भनाइ थियो ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा आयोजित बिदाइ कार्यक्रममा प्राडा ढकाललाई सम्मानसहित बिदाइ गरिएको थियो । जहाँ ढकालकी धर्मपत्नी सुधा ढकालले पनि आफ्ना भावना राखेकी थिइन् ।
कार्यक्रममा विश्वविद्यालयका डिन डा. निरज केसी, सेवा आयोगका सदस्य डा. कृष्ण प्रसाद घिमिरे, अनुसन्धान केन्द्रका निर्देशक डा. प्रदीप कर्ण, परीक्षा नियन्त्रक जेन्टिल गौतम, शिक्षक, कर्मचारी तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो । ‘विदाई गरिएपनि विश्वविद्यालयका लागि आवश्यक सहकार्य गर्न सधैं तम्तयार रहनेछु,’ प्राडा ढकालले केही रणनीतिक काममा विश्वविद्यालय अग्रसर हुनुपर्ने आवश्यकता औल्याउँदै कार्यक्रममा प्रतिबद्धता जनाए ।
