देवानगन्जसहितका क्षेत्रमा हालै भएका दुःखद घटनापछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक, धार्मिक तथा जातीय सद्भाव जोगाउन सबै प्रदेशवासीलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
शान्ति, आपसी विश्वास र भाइचारा कायम राख्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले कुनै पनि परिस्थितिमा सामाजिक एकता कमजोर हुन नदिन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
मुख्यमन्त्री आचार्यद्वारा शुक्रवार जारी अपिलमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।
अपिलमा हाल उत्पन्न विषम अवस्थालाई सामान्य बनाउन संघ, प्रदेश र स्थानीय तहसहित सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको उल्लेख गरिएको छ । नागरिकले सुरक्षित, मर्यादित र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्न पाउने अवस्था सुनिश्चित गर्न सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई गौतम बुद्धको जन्मभूमिका रूपमा मात्र नभई सदियौंदेखि विभिन्न जातजाति, भाषाभाषी तथा धर्मावलम्बी समुदायबीच सहअस्तित्व, सहिष्णुता र मेलमिलाप कायम रहेको प्रदेशका रूपमा चित्रण गरेका छन्। यही ऐतिहासिक पहिचानलाई थप सुदृढ बनाउनु आजको आवश्यकता भएको उनको भनाइ छ ।
अपिलमा भनिएको छ, ‘भ्रातृत्व, सहिष्णुता, सामाजिक तथा धार्मिक सद्भाव नै लुम्बिनी प्रदेश र समग्र नेपालको वास्तविक पहिचान र शक्ति हो ।’
मुख्यमन्त्री आचार्यले पछिल्लो परिस्थितिलाई थप जटिल बन्न नदिन सबैले संयमित व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् । ऐतिहासिक रूपमा स्थापित सामाजिक सद्भाव, राष्ट्रिय एकता र आपसी भाइचारालाई अझ मजबुत बनाउन राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरु तथा सम्पूर्ण प्रदेशवासीको भूमिका अत्यन्त महत्वपूर्ण हुने उनले उल्लेख गरेका छन् ।
