मधु पौडेल
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ मा जेष्ठ नागरिक क्लबका लागि निर्माण गरिएको भवन शुक्रबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले भवन उद्घाटन गर्दै जेष्ठ नागरिकको सेवा र सम्मान नै सभ्य समाजको पहिचान भएको बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर विष्टले प्रत्येक व्यक्ति एक दिन जेष्ठ नागरिक बन्ने भएकाले उनीहरूको सम्मान र संरक्षण गर्नु सम्पूर्ण समाजको दायित्व भएको बताए। “हामी सबै एक दिन जेष्ठ नागरिक बन्नुपर्छ। जुन देश र समाजमा जेष्ठ नागरिकको सम्मान हुन्छ, त्यही समाजलाई सभ्य र संस्कारित मानिन्छ,” उनले भने। उनले उपमहानगरपालिकाले जेष्ठ नागरिकको सम्मान, स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको जानकारी दिए।
लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठले जेष्ठ नागरिक भवनलाई अनुभवी पुस्ताले आफ्ना अनुभव, भावना र जीवनका भोगाइ साटासाट गर्ने साझा केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखिन्। परिवारमा व्यक्त गर्न नसकिने धेरै भावना र अनुभव जेष्ठ नागरिकले आफ्ना समवयस्क साथीहरूसँग सहज रूपमा साझा गर्न सक्ने वातावरण यस्ता भवनले सिर्जना गर्ने उनले बताइन्।
वडा अध्यक्ष तरुणकुमार बज्राचार्यले भवन निर्माणको अवधारणा अघि सार्दादेखि नै स्थानीय समुदाय, दातृ व्यक्तित्व तथा विभिन्न संघसंस्थाको सहयोग प्राप्त भएकाले निर्माण कार्य सम्भव भएको बताए। भवनमा जेष्ठ नागरिकका लागि मनोरञ्जन, भेटघाट, भजन–कीर्तन तथा सामाजिक गतिविधि सञ्चालन गर्न आवश्यक सुविधा उपलब्ध गराइएको उनले जानकारी दिए।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले भवन निर्माणमा सहयोग गर्ने दाताहरूलाई सम्मान व्यक्त गर्दै यस्ता संरचनाले जेष्ठ नागरिकलाई सामाजिक रूपमा सक्रिय राख्न, मानसिक तनाव कम गर्न तथा धार्मिक–सांस्कृतिक गतिविधिमा सहभागी हुन प्रेरित गर्ने बताए।
जेष्ठ नागरिक क्लबका अध्यक्ष अजितकुमार शर्माले भवनलाई जेष्ठ नागरिकको मानसिक तनाव कम गर्ने, सामाजिक सहभागिता बढाउने तथा पुस्तान्तरणीय संवादलाई प्रवर्द्धन गर्ने केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। “यो नेपालकै पहिलो प्रयास हो भन्ने हाम्रो विश्वास छ। यहाँबाट अन्य जिल्लाले पनि प्रेरणा लिनेछन्,” उनले भने।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, समाजसेवी कृष्ण श्रेष्ठ, वडा सदस्यहरू, स्थानीय बासिन्दा तथा जेष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा भवन निर्माणमा योगदान पुर्याएका धर्मदत्त सुवेदी, नारायणप्रसाद शर्मा, श्यामलाल नेपालीलगायतलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो
जेष्ठ नागरिक स्वास्थ्य शिविरमा सयौं लाभान्वित
मधु पौडेल
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ मा जेष्ठ नागरिक तथा स्थानीय बासिन्दालाई लक्षित गर्दै सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सयौं व्यक्तिले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। जेष्ठ नागरिक क्लबका लागि निर्माण गरिएको भवन उद्घाटनको अवसरमा शुक्रबार आयोजित स्वास्थ्य शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचारसम्बन्धी सुझाव प्रदान गरेका हुन्।
शिविरमा दन्तरोग विशेषज्ञ डा। प्रतीक श्रेष्ठ, मिर्गौला रोग विशेषज्ञ डा। पारस श्रेष्ठ, नाक–कान–घाँटी रोग विशेषज्ञ डा। कपिल शाही र डा। अजय वैश्य, हड्डी रोग विशेषज्ञ डा। राहुल मिश्रा, मूत्रनली रोग विशेषज्ञ डा। प्रविण गुप्ता, क्यान्सर रोग विशेषज्ञ डा। क्रिस्टीन श्रेष्ठ, मुटुरोग विशेषज्ञ डा। विपिन आचार्य, आँखा रोग विशेषज्ञ डा। विक्रम थापा, छाला रोग विशेषज्ञ डा। अभिषेक अर्जेल तथा पेट रोग विशेषज्ञ डा। संकेत रिसाललगायतका विशेषज्ञ चिकित्सकहरूको टोली सहभागी भएको थियो।
नेपालगन्ज आँखा अस्पतालका स्वास्थ्यकर्मीहरूको समेत सहभागिता रहेको शिविरमा जेष्ठ नागरिकहरूको रक्तचाप, मधुमेह, दाँत, आँखा, मुटु, मिर्गौला, हड्डी, छाला तथा अन्य दीर्घरोगसम्बन्धी परीक्षण गरिएको थियो। उमेर बढेसँगै देखिने विभिन्न स्वास्थ्य समस्याको समयमै पहिचान र उपचारका लागि यस्ता शिविर अत्यन्त प्रभावकारी हुने चिकित्सकहरूले बताएका छन्।
नेपालगन्ज उपमहानगरपालिका–१२ का वडा सदस्य राजकुमार वाल्मीकीका अनुसार जेष्ठ नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। उनले स्वास्थ्य सेवा लिन अस्पतालसम्म पुग्न कठिनाइ हुने धेरै जेष्ठ नागरिकले शिविरबाट प्रत्यक्ष लाभ लिएको बताए।
शिविर सञ्चालनका लागि लाइफलाइन जनरल हस्पिटल प्रा।लि। नेपालगन्ज, गणपति डेन्टल क्लिनिक प्रा।लि। नेपालगन्ज, नेपाल चिकित्सक संघ बाँके तथा नेपालगन्ज आँखा अस्पतालको समन्वय रहेको थियो। कार्यक्रम सफल बनाउन योगदान पुर्याएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आयोजकका तर्फबाट मायाको चिनो र सम्मानपत्र प्रदान गरिएको थियो।
स्थानीय बासिन्दाले पनि विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका छन्। यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्न सके समुदायको स्वास्थ्य अवस्थाको सुधारमा महत्वपूर्ण योगदान पुग्ने उनीहरूको धारणा रहेको छ।
साउन १५ मा नेपालगन्ज–१२ मा १५५ भन्दा बढी बिरुवा रोपियो
साउन १५ को अवसर पारेर बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ मा १५५ भन्दा बढी विभिन्न जातका बिरुवा रोपिएको छ। वडा कार्यालय र जेष्ठ नागरिक क्लबको संयुक्त आयोजनामा जेष्ठ नागरिक क्लब भवन परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सार्वजनिक क्षेत्रलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा फलफूल, छायाँ र वातावरणीय दृष्टिले उपयोगी विभिन्न जातका बिरुवा रोपिएको आयोजकले जनाएको छ।
कार्यक्रममा वडा अध्यक्ष तरुणकुमार बज्राचार्य, जेष्ठ नागरिक क्लबका अध्यक्ष अजितकुमार शर्मा, समाजसेवी संजीभ बस्नेत, मीना बहादुर मल्ल ,लगायत स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। वृक्षारोपण कार्यक्रमका संयोजक तथा स्थानीय रामु चिडिमारका अनुसार १५५ भन्दा बढी बिरुवा व्यवस्थित रूपमा रोपिएको हो।
वडा अध्यक्ष बज्राचार्यले वातावरणीय सन्तुलन कायम गर्न र भावी पुस्तालाई हरियालीयुक्त वातावरण उपलब्ध गराउन वृक्षारोपण अभियानलाई निरन्तरता दिइने बताए। जेष्ठ नागरिक क्लबका अध्यक्ष शर्माले भवन परिसरलाई हराभरा, स्वच्छ र जेष्ठ नागरिकका लागि आरामदायी वातावरणयुक्त स्थल बनाउने उद्देश्यले वृक्षारोपण गरिएको जानकारी दिए।
कार्यक्रममा युनाइटेड माध्यमिक विद्यालयका विद्यार्थीहरूले स्वयंसेवकका रूपमा सक्रिय सहभागिता जनाएका थिए। विद्यालयका प्रधानाध्यापक विकास बज्राचार्यले विद्यार्थीहरूलाई वातावरण संरक्षणप्रति जिम्मेवार बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। स्थानीय समुदायको सक्रिय सहभागिताले वृक्षारोपण कार्यक्रमलाई थप सफल बनाएको आयोजकको भनाइ छ।
रोपिएका बिरुवाको संरक्षणका लागि नियमित सिँचाइ, घेराबार तथा हेरचाहको व्यवस्था गरिने जनाइएको छ। स्थानीय बासिन्दाले पनि हरियाली विस्तार गर्ने अभियानमा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तर रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
