दोषीलाई कारबाही माग गर्दै प्रदर्शन

सुनसरीमा हालै भएको साम्प्रदायिक घटनामा संलग्न दोषीको तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न माग गर्दै नेपालगन्जमा युवाहरूले शनिबार मौन दबाव प्रदर्शन गरेका छन् । करिब एक घण्टासम्म चलेको प्रदर्शनमा सहभागी युवाहरूले कुनै नाराबाजी नगरी शान्तिपूर्ण रूपमा राज्यको ध्यानाकर्षण गराएका हुन् ।

प्रदर्शनका क्रममा देशका कुनै पनि स्थानमा हुने साम्प्रदायिक घटनाले सामाजिक सद्भाव, भाइचारा र सामाजिक तानाबानामा गम्भीर असर पार्ने भन्दै दोषीमाथि बिना पक्षपात कानुनी कारबाही हुनुपर्ने माग गरिएको थियो । सहभागी युवाहरूले घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याएर कारबाही नगरेसम्म वास्तविक सामाजिक सद्भाव कायम गर्न कठिन हुने बताएका थिए ।

सम्भावित उत्तेजना र तनावलाई नियन्त्रण गर्दै प्रदर्शनलाई शान्तिपूर्ण र सांकेतिक बनाउन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट पनि प्रदर्शनस्थल पुगेका थिए । त्यसक्रममा उनले प्रदर्शनकारी युवाहरूसँग प्रत्यक्ष संवाद गरे । कुनै पनि किसिमको अशान्ति वा भडकाव उत्पन्न हुन नदिन उनले आग्रह गरे । दबाव प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र प्रभावकारी ढंगले अघि बढाउन पनि उनले सुझाव दिएका थिए ।

प्रदर्शनको नेतृत्व गरिरहेका युवा सुरेश लामिछाने (शिव) ले पनि सहभागीलाई उत्तेजित नहुन आग्रह गरेका थिए । उनले कुनै प्रकारको नाराबाजी नगरी मौन रूपमा विरोध जनाउन निरन्तर सम्झाएका थिए । आयोजक तथा प्रदर्शनको नेतृत्व गरिरहेका युवाहरूले कार्यक्रमलाई अनुशासित र मर्यादित बनाउन विशेष ध्यान दिएका थिए ।

शनिबार बिहानै नेपालगन्जमा आयोजित सर्वदलीय तथा सर्वपक्षीय सद्भाव ¥यालीलाई लक्षित गर्दै गरिएको मौन दबाव प्रदर्शनबाट राज्य र प्रशासनलाई स्पष्ट सन्देश दिन खोजिएको श्यामकाजी शाक्यले बताए ।

‘जबसम्म अपराधमा संलग्न दोषीहरूमाथि कडा कारबाही हुँदैन, तबसम्म समाजमा वास्तविक सद्भाव कायम हुन सक्दैन। त्यसैले पहिले अपराधीलाई कानुनी दायरामा ल्याएर कारबाही गरिनुपर्छ, अनि मात्र सद्भावको सन्देश प्रभावकारी रूपमा प्रवाह हुन सक्छ,’ शाक्यले भने । उनका अनुसार, पूर्वका साम्प्रदायिक घटनामा हत्या गरिएकाहरुको श्रद्धान्जली सभा पनि गरिएको छ ।

प्रदर्शनमा सहभागी युवाहरूले साम्प्रदायिक घटनालाई सामान्य रूपमा लिन नहुने बताएका थिए । यस्ता घटनाले समाजमा लामो समयसम्म असर पार्न सक्ने भएकाले सरकारले संवेदनशील भएर समयमै कदम चाल्नुपर्ने उनीहरूको जोड थियो ।

उनीहरूले घटनामा संलग्न दोषीलाई पहिचान गरी कानुनअनुसार कारबाही गर्नुपर्ने माग गरेका छन् । दोषीमाथि कारबाही गर्दा कुनै पक्ष वा समूहका आधारमा विभेद गर्न नहुने उनीहरूको भनाइ थियो । कानुनी राज्यको प्रत्याभूति दिलाउन राज्यले निष्पक्ष रूपमा कारबाही अघि बढाउनुपर्ने माग उनीहरूले गरेका छन् ।

करिब एक घण्टासम्म चलेको मौन प्रदर्शनमा युवाहरूले शान्तिपूर्ण माध्यमबाट असन्तुष्टि र दबाव व्यक्त गरेका थिए । नाराबाजी र उत्तेजक गतिविधिबाट टाढा रहेर गरिएको प्रदर्शनले सुनसरी घटनामा दोषीमाथि तत्काल कानुनी कारबाहीको मागलाई केन्द्रमा राखेको थियो ।

Exit mobile version