नेपाल–भारत सीमा क्षेत्रमा नक्कली अष्टधातुको मूर्ति बेच्ने गिरोहका सात सदस्य पक्राउ
नेपाल–भारत सीमा क्षेत्र हुँदै नक्कली अष्टधातुको मूर्ति नेपाल पु¥याएर महँगो मूल्यमा बिक्री गर्ने योजना बनाइरहेको गिरोहका सात सदस्यलाई रुपईडीहा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट भगवान बुद्धको धातुको मूर्ति, तीन वटा मोटरसाइकल, सात वटा मोबाइल फोन र भारतीय तथा नेपाली रुपैयाँ बरामद गरेको छ ।
प्रहरीका अनुसार, पक्राउ परेकाहरूले सामान्य धातुको मूर्तिलाई प्राचीन र दुर्लभ अष्टधातुको मूर्ति भन्दै ग्राहकलाई झुक्याएर लाखौं रुपैयाँ असुल्ने गरेका थिए । भारतबाट नेपालतर्फ नक्कली मूर्ति लगेर बिक्री गर्ने तयारी भइरहेको अवस्थामा गिरोह पक्राउ परेको हो ।
पक्राउ पर्नेमा रुपईडीहा थाना क्षेत्रअन्तर्गत रञ्जितबोझाका ४५ वर्षीय रमजान अली उर्फ काले खाँ, ४३ वर्षीय मन्नू उर्फ दिलदार, ३६ वर्षीय आजाद अली र २९ वर्षीय रिजवान रहेका छन् । यस्तै बहराइच जिल्लाको मोतीपुर थाना क्षेत्रअन्तर्गत मिहींपुरवा तथा टेपरा दा. गोपियाका ३१ वर्षीय महफुज, २९ वर्षीय साकिर अली र २८ वर्षीय समीर उर्फ नूर मोहम्मद पनि पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूबाट करिब ४ दशमलव ९६० किलोग्राम तौलको ८ इन्च अग्लो भगवान बुद्धको धातुको मूर्ति बरामद गरेको छ । त्यसबाहेक हिरो स्प्लेन्डर, सुपर स्प्लेन्डर र होन्डा साइन गरी तीन वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । सात वटा मोबाइल फोन, ९१० रुपैयाँ भारतीय मुद्रा र ३० नेपाली रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
गिरोहका सदस्यहरू साईगाउँ जंगलस्थित बदलदास मन्दिरनजिक भेला भएर मूर्ति बिक्रीको योजना बनाइरहेको सूचना पाएपछि प्रहरीले कारबाही अघि बढाएको थियो । शुक्रबार बिहान मुखबिरबाट सूचना पाएलगत्तै प्रहरी टोली उक्त स्थानमा पुगेको थियो । टोलीले क्षेत्र घेराउ गरी बिहान करिब ६ बजेर ८ मिनेटमा सातै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भारतीय पत्रकारलाई प्रहरीले पक्राउका क्रममा सर्वोच्च अदालत र राष्ट्रिय मानव अधिकार आयोगबाट जारी निर्देशनको पालना गरिएको प्रहरीले जनाएको छ । घटनाको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले पक्राउ परेका सबैलाई कानुनी कारबाही अघि बढाएको हो ।
यस घटनामा रुपईडीहा थानामा मुद्दा दर्ता गरिएको छ । मु.अ.सं. २०४÷२०२६ अन्तर्गत भारतीय न्याय संहिता अर्थात् बिएनएसको दफा ३ को उपदफा ५, ३१९ को उपदफा २, ३१८ को उपदफा ४, ३३८, ३३६ को उपदफा ३ तथा ३४० को उपदफा २ बमोजिम मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सातै जनालाई अदालतमा उपस्थित गराइएको थियो । अदालतको आदेशपछि उनीहरू न्यायिक हिरासतमा पठाइएका छन् ।
प्रहरीको अनुसन्धानबाट पक्राउ परेकामध्ये केहीको विगतसमेत आपराधिक गतिविधिसँग जोडिएको खुलेको छ । मुख्य आरोपी भनिएका रमजान अली उर्फ काले खाँविरुद्ध मारपिट, अनुसूचित जाति तथा जनजाति अत्याचार निवारण ऐन र गोवध निवारण ऐनअन्तर्गतका मुद्दा यसअघि नै दर्ता रहेको प्रहरीले जनाएको छ । समीर उर्फ नूर मोहम्मदविरुद्ध पनि यसअघि सडक दुर्घटनासम्बन्धी मुद्दा दर्ता भएको खुलेको छ ।
भारत–नेपाल सीमा क्षेत्रमा पछिल्लो समय ठगीका घटनाहरू बढिरहेका बेला पक्राउ परेको यो गिरोहबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । गिरोह कति समयदेखि सक्रिय थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । नेपालमा उनीहरूको सम्पर्क को–कोसँग थियो भन्नेबारे पनि प्रहरीले जानकारी जुटाइरहेको छ ।
नक्कली मूर्ति बिक्रीबाट अहिलेसम्म कति व्यक्ति ठगिएका छन् भन्ने विषयसमेत अनुसन्धानको दायरामा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको बयान तथा बरामद सामग्रीका आधारमा गिरोहमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ । नेपालसम्म फैलिएको हुनसक्ने नेटवर्कबारे पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
रुपईडीहाका प्रभारी निरीक्षक हरेन्द्र कुमार मिश्राले भारत–नेपाल सीमा क्षेत्रमा ठगी, जालसाजी तथा संगठित अपराधमा संलग्न गिरोहविरुद्धको कारबाहीलाई निरन्तरता दिइने बताए ।
‘भारत–नेपाल सीमा पर सक्रिय ठगी, जालसाजी एवं संगठित अपराध में संलिप्त गिरोहों के विरुद्ध अभियान आगे भी पूरी सख्ती के साथ जारी रहेगा,’ मिश्राले पत्रकारहरुसँग भने ।
उनले सर्वसाधारणलाई प्राचीन मूर्ति, दुर्लभ अष्टधातुको प्रतिमा वा अन्य बहुमूल्य वस्तुको नाममा हुने शंकास्पद कारोबारबाट सचेत रहन आग्रह गरेका छन् । त्यस्ता वस्तुको नाममा कुनै संदिग्ध कारोबार भइरहेको जानकारी पाए तत्काल प्रहरीलाई खबर गर्न उनले आग्रह गरे । यस्ता सूचनाले ठगीमा संलग्न गिरोहविरुद्ध प्रभावकारी कारबाही गर्न सहयोग पुग्ने प्रहरीको भनाइ छ ।
यो कारबाही प्रहरी अधीक्षक बहराइच विश्वजीत श्रीवास्तवको निर्देशनमा सञ्चालन भइरहेको अपराध तथा अपराधीविरुद्धको अभियानअन्तर्गत भएको हो । अपर प्रहरी अधीक्षक ग्रामीण दुर्गा प्रसाद तिवारी र क्षेत्राधिकारी नानपारा चित्रांशु गौतमको पर्यवेक्षणमा रुपईडीहा थाना प्रभारी निरीक्षक हरेन्द्र कुमार मिश्राको नेतृत्वमा खटिएको प्रहरी टोलीले कारबाही गरेको प्रहरीले जनाएको छ ।
