क्यान्सर बिरामीलाई निःशुल्क यात्रा

बाँके र बर्दियामा चल्ने यातायात व्यवसायीले क्यान्सरका बिरामीलाई निःशुल्क यातायात सेवा दिने भएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको पहलमा भएको अस्पताल प्रशासन र यातायात व्यवसायीबीचको बैठकमा यस्तो प्रतिबद्धता गरिएको हो ।

क्यान्सरको उपचारका लागि अस्पताल आउने बिरामीलाई सहज बनाउन नेपालगन्जबाट खजुरा हुँदै गुलरिया, राजापुरसहित सुदूरपश्चिम जाने सवारी साधन अनिवार्य रूपमा खजुरा क्यान्सर गेट हुँदै सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । खजुरा रुटमा चल्ने मझौला तथा साना सवारी साधनलाई क्यान्सर गेटसम्म पुग्ने व्यवस्था मिलाइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सचिव टंक बस्यालले बताए ।

‘क्यान्सरका बिरामीको सहजताका लागि खजुरा क्यान्सर गेटसम्म सवारी साधन पुग्ने व्यवस्था मिलाइनेछ,’ बस्यालले भने । उनका अनुसार उक्त रुटमा चल्ने सवारी साधनमा क्यान्सर गेट हुँदै चल्ने संकेतको स्टिकर अनिवार्य रूपमा राखिनेछ । सम्बन्धित समितिले आ–आफ्नो तहबाट निर्णय गरी क्यान्सर प्रमाणित भएका बिरामीलाई निःशुल्क सेवा दिने व्यवस्था मिलाउने उनले बताए ।

हालसम्म भेरी बस व्यवसायी प्रालि, बागेश्वरी यातायात प्रालि, कृष्णसार यातायात प्रालि, सनराइज यातायात प्रालि र शुभकामना यातायात प्रालिले निःशुल्क यातायात सेवा दिने प्रतिबद्धता जनाएका छन् । नेपालगन्जमा प्रधान कार्यालय रहेको भेरी बस व्यवसायी प्रालिले यसअघि नै देशभर चल्ने आफ्ना सवारी साधनमा क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिने निर्णय गरिसकेको थियो । भेरीका सवारी साधनमा यात्रा गर्ने क्यान्सरका बिरामीको भाडा समितिले व्यवसायीलाई भुक्तानी गर्ने निर्णय भएको समितिका सचिव चन्द्रबहादुर थापाले बताए ।

कृष्णसार यातायातका महासचिव अजयसिंह घरुकले कृष्णसारका सवारी साधन क्यान्सर गेट हुँदै सञ्चालन गर्ने र क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिने निर्णय समितिबाट गरिने बताए । राष्ट्रिय महासंघका केन्द्रीय सदस्य तथा सनराइज यातायात प्रालिका सचिव अर्जुन श्रेष्ठले क्यान्सर गेटबाटै सेवा दिने गरी यातायात सञ्चालन गर्ने प्रतिबद्धता जनाए । शुभकामना यातायात प्रालिका अध्यक्ष रेशम खत्रीले शुभकामना यातायातमा यात्रा गर्ने क्यान्सरका बिरामीका लागि निःशुल्क यात्राको व्यवस्था मिलाउने बताए ।

बैठकमा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले अस्पतालसम्म पुग्ने बिरामीका लागि यातायात व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताए । अस्पताल आउने बाटोबारे जानकारी नहुँदा अलमलमा पर्ने बिरामीलाई यातायात व्यवसायीमार्फत अस्पतालसम्म पुग्ने वातावरण बनाउन सहयोग गरेकोमा उनले व्यवसायीलाई धन्यवाद दिए ।

‘अस्पताल आउने बिरामीलाई गन्तव्यसम्म पु¥याउने काममा यातायात व्यवसायीको महत्वपूर्ण भूमिका हुन्छ,’ डा भट्टराईले भने । अस्पतालबाट पनि यातायात मजदुर र व्यवसायीले अपनत्व महसुस गर्ने गरी छिट्टै निर्णय गर्ने उनले बताए । व्यवसायीसँग सहकार्य गरेर उपयुक्त निर्णयमा पुग्ने प्रतिबद्धता पनि उनले जनाए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका सहकोषाध्यक्ष शोभाखर पौडेलले महासंघबाटै निर्णय गराएर देशभर यातायातमा क्यान्सरका बिरामीलाई सेवा दिने विषयमा आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

खजुरा क्यान्सर अस्पताल धार्मिक अनुष्ठानबाट संकल्प गर्दै महायज्ञमार्फत शिलान्यास गरी निर्माण गरेर संघीय सरकारलाई हस्तान्तरण गरिएको नेपालको पहिलो अस्पताल रहेको बैठकमा जानकारी गराइएको थियो ।

क्यान्सरका बिरामीलाई लक्षित गर्दै नेपाल वायुसेवा निगमले भारतका अस्पतालमा उपचार गर्न जाने बिरामीका लागि सुविधा दिए पनि नेपालका क्यान्सर अस्पतालमा उपचार गर्ने बिरामीका लागि आन्तरिक उडानमा त्यस्तो सुविधा नरहेको विषयसमेत उठाइएको थियो ।

खजुरा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पूर्णबहादुर भण्डारीले यातायात सञ्चालनमा स्थानीय सरकारले सहजीकरण गर्ने बताए । क्यान्सर गेटअगाडि सवारी साधन रोक्न र घुमाउन मिल्ने गरी वडाबाट आवश्यक व्यवस्था मिलाउने उनले प्रतिबद्धता जनाए ।

अस्पतालको मातृसंस्था प्रखर परोपकार मिशन नेपालका संस्थापक अध्यक्ष किस्मत कक्षपतिले अस्पताल स्थापनाको इतिहासबारे जानकारी दिँदै यातायात व्यवसायीले गरेको निर्णयका लागि धन्यवाद दिए । मिशन नेपालका अध्यक्ष महेन्द्र मल्लले यातायात व्यवसायीलाई लक्षित गरेर अस्पतालले स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

Exit mobile version