डा. धवल शम्शेर राणाले व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंको गिरफ्तारीको कडा शब्दमा निन्दा गरेका छन्।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. राणाले प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।
विज्ञप्तिमा, डा. राणाले लोकतान्त्रिक पद्धतिमा आलोचना, फरक मत, र विचार तथा अभिव्यक्तिको स्वतन्त्रता आधारभूत स्तम्भ भएको कुरामा जोड दिएका छन्। उनले भनेका छन्, “नागरिकप्रति सरकारको जवाफदेहिता, प्रजातान्त्रिक सन्तुलन र समाजको उन्नति-प्रगतिका लागिसमेत विचार एवं अभिव्यक्ति स्वतन्त्रता अपरिहार्य छ।” सरकारको आलोचना गर्न नपाइने हो भने त्यस्तो शासन प्रणाली लोकतान्त्रिक रहन नसक्ने उनको ठहर छ।
डा. राणाले पछिल्ला दिनहरूमा देशका केही भूभागमा देखिएको आपसी द्वन्द्व, झडप, आगजनी र जनधनको क्षतिका बारेमा पनि चिन्ता व्यक्त गरेका छन्। यस्तो संवेदनशील घडीमा नागरिकको जिउधनको सुरक्षाको प्रत्याभूति माग गर्नु र सरकारको जवाफदेहिताका लागि पहरेदारी गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको उनले उल्लेख गरेका छन्।
यो सन्दर्भमा, विश्वव्यापी रूपमा स्थापित मानव अधिकार र नेपालको संविधानले प्रदान गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रताको हक प्रयोग गरी आफ्नो अभिव्यक्ति दिएकै कारण राष्ट्रवादी नेता दुर्गा प्रसाईंलाई साउन १७ गते राति उहाँको निवासबाट पक्राउ गरिनु अत्यन्त निन्दनीय कार्य भएको डा. राणाको विज्ञप्तिमा उल्लेख छ।
“अभिव्यक्तिका कारण कसैलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य र मान्यताको ठाडो उल्लंघन हो,” विज्ञप्तिमा भनिएको छ। डा. राणाले सरकारको यो कदमको घोर भर्त्सना गर्दै प्रसाईंको तत्काल र विनासर्त रिहाइको लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
