ग्याँसको आपूर्ति बढ्यो, किन अभाव ?

पछिल्ला दिन बाँके सहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्याँसको अभाव भएको गुनासो बढ्दै गएको छ । ग्याँस अभाव समाधान गर्नका लागि जिल्लादेखि संघका प्रशासनिक निकाय निरन्तर छलफलमा रहेका छन् ।

नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको विषयमा व्यवसायीसँग मंगलबार मात्रै छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा बजारमा ग्याँस अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायीलगायतको भूमिकाबारे समीक्षा गरिएको थियो ।

छलफलका क्रममा व्यवसायीहरूले बजारमा हल्ला चलेजस्तो ग्याँसको अभाव नभएको बताएका थिए । पश्चिम एशियाको द्वन्द्वपछि ग्यास आपूर्ति सहज गर्न सरकारले सात दशमलव एक किलोग्रामको आधा सिलिन्डर दिने गरेकोमा पुनः १४ दशमलव दुई किलोग्रामको भरी सिलिन्डर वितरण सुरु गर्दा बजारमा एकाएक माग बढेको व्यवसायीहरूको दाबी थियो ।

नेपाल आयल निगम नेपालगन्ज प्रमुख अजित कुमार पोखरेलले आपूर्तिको अवस्था हेर्दा बाँकेमा ग्याँस अभाव हुनुपर्ने अवस्था नरहेको बताए । ‘असार महिना भरी भएको आपूर्ति साउन महिनाको १९ गतेभित्रै भैसकेको छ’, उनले भने, ‘अभावको हल्लाका कारण अनावश्यक रूपमा उपभोक्ताले भण्डारण गर्दा ग्याँस मागेको बेला नपाउने समस्या भएको हुनसक्छ ।’ उनले कम्पनीले डिलरलाई बिक्री गर्ने ग्याँस पनि बजारमा गैरहेको जानकारी पाएको बताए ।

ग्याँस व्यवसायी संघ बाँकेका अध्यक्ष प्रेम थापाले कम्पनीबाट डिलरलाई नियमित रूपमा ग्याँस आपूर्ति भएको बताए । ‘उपभोक्ताको माग बढ्दा कम्पनीसँग डिलरले पनि माग बढाएका छन्, जसले गर्दा मागे अनुसार सिलिण्डर पाउन सकेका छैनन्’, उनले भने, ‘त्यसको कारण उपभोक्ताले भण्डारण नै हुनसक्छ ।’

अध्यक्ष थापा अहिलेकै अवस्थामा आपूर्ति भैरहने हो भने केही दिनमा समस्या समाधान हुने बताउँछन् । ‘सामान्य अवस्था भन्दा बढी माग भएकोले माग अनुसार आपूर्ति हुन नसकेको हो’, उनले भने ।

नेपाल आयल निगम नेपालगन्ज प्रमुख पोखरेलले आधा सिलिण्डर ग्याँस दिंदा ग्याँसका बुलेट नै अनलोड गर्न नसकेर होल्ड गर्नुपर्ने अवस्था पुनः दोहोरिने हो कि भन्ने चिन्ता व्यक्त गर्छन् । ‘आधा सिलिण्डर ग्याँस बिक्री हुँदा ढुवानी र सप्लाईमा समस्या भयो, तर भारतबाट आएको ग्याँसका बुलेट होल्ड गर्नुपर्ने अवस्था थियो’, उनले भने, ‘गत महिना भन्दा बढी ग्याँस आयात हुँदा उपभोक्ताले भण्डारण गर्दै जाने हो भने पुनः ग्याँसको माग घटेर भित्रिएका ग्याँसका बुलेट होल्ड गर्ने समस्या आउनसक्छ ।’

‘ग्याँस कति आयो, कति बजारमा पुगेर उपभोक्ताले पाए, त्यसको पारदर्शी र प्रभावकारी अनुगमन हुनुपर्छ’, उपभोक्ता भन्छन् । इरान–अमेरिका युद्धका कारण मध्यपूर्वी क्षेत्रको अस्थिरताले पेट्रोलियम पदार्थको ढुवानी र आपूर्ति प्रणालीमा आउने समस्या, मूल्यवृद्धि लगायतका कारण पनि उपभोक्ताले सक्दो भण्डार गर्दै आएका छन् ।

Exit mobile version