‘नाइस अवार्ड’ को छैटौं संस्करण आज

समाजका लागि निस्वार्थ रूपमा काम गर्ने व्यक्तिको संख्या घटिरहेका बेला उनीहरूको योगदानलाई सार्वजनिक रूपमा चिनाउने र अरूलाई पनि सकारात्मक कामतर्फ प्रेरित गर्ने उद्देश्यले सुरु गरिएको नाइस अवार्डको छैटौं संस्करण आज प्रदान गरिँदै छ ।

बाँकेलाई कार्यक्षेत्र बनाएर सामाजिक रुपान्तरणमा उल्लेखनीय काम गरिरहेका एक जना व्यक्तित्वलाई आज बुधवार औपचारिक समारोहमा ‘नाइस अवार्ड – २०२६’ प्रदान गरिने भएको हो ।

नाइस नेपालगन्जले हरेक वर्ष समाजमा अनुकरणीय काम गर्ने व्यक्तिको छनोट गरी अवार्ड प्रदान गर्दै आएको छ । यस वर्षको अवार्डका लागि संस्थाले सार्वजनिक रूपमा आह्वान गरेको सूचनाका आधारमा परेका आवेदन विभिन्न चरण पार गर्दै छनोटको अन्तिम प्रक्रियासम्म पुगेका छन् । आयोजक नाइस नेपालगन्जका अनुसार यस वर्ष एक जना व्यक्तिलाई नगद १० हजार रुपैयाँ र सम्मानपत्रसहित नाइस अवार्ड २०२६ प्रदान गरिनेछ ।

अवार्ड प्रदान गर्ने कार्यक्रमलाई थप विश्वसनीय र प्रभावकारी बनाउन बाँके जिल्लाका स्थानीय तहले सहकार्य गरेका छन् । स्थानीय तहको सहकार्यले यस वर्षको अवार्डको गरिमा र उचाइ अझ बढ्ने विश्वास नाइस नेपालगन्जले लिएको छ ।

छैटौं संस्करणको अवार्ड कार्यक्रममा सहकार्य र सहयोग गर्ने विभिन्न निकायलाई प्रशंसापत्रसमेत प्रदान गरिने नाइस नेपालगन्जले जनाएको छ । समाजमा सकारात्मक काम गर्ने व्यक्ति र संस्थालाई प्रोत्साहन गर्ने अभियानमा सहयोग गर्ने निकायको योगदानलाई पनि सम्मान गर्न लागिएको हो ।

नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टका अनुसार, समाजमा राम्रो काम गर्ने व्यक्तिलाई चिनाउने उद्देश्यले अवार्डलाई निरन्तरता दिइएको हो । ‘समाजमा निस्वार्थ सेवा प्रवाह गर्नेहरुको संख्या घट्दो छ, यस्तो बेला उनीहरुलाई प्रोत्साहित गर्दै सम्मान गर्न नाइस अवार्ड थालिएको हो,’ भट्टले दैनिक नेपालगन्जसँग भने ।

अध्यक्ष भट्ट भन्छन्, नाइस नेपालगन्जले अवार्डलाई केवल सम्मानमा सीमित नराखी समाजमा भइरहेका राम्रा र सकारात्मक कामको प्रचारप्रसार गर्ने अभियानका रूपमा अघि बढाउँदै आएको छ । ‘सामाजिक रुपान्तरणमा सक्रिय व्यक्तिलाई सम्मान गर्नु यसको एउटा प्रमुख उद्देश्य हो,’ अध्यक्ष भट्टले भने ।

सुन्दर शहरको परिकल्पनासहित सरसफाइ र वृक्षारोपणका गतिविधि पनि संस्थाले सञ्चालन गर्दै आएको छ। राम्रा र सिर्जनात्मक काममा बालबालिका तथा युवालाई जोड्न विभिन्न क्षमता अभिवृद्धि तालिमसमेत सञ्चालन गरिरहेको नाइस नेपालगन्जले जनाएको छ ।

सबै व्यक्ति समाजप्रति सकारात्मक भएर आफ्नो ठाउँबाट योगदान गर्न सके सुन्दर समाज निर्माण गर्न सकिने नाइस नेपालगन्जको मान्यता छ । यही सोचअनुसार समाजमा उदाहरणीय काम गरिरहेका व्यक्तिको खोजी, पहिचान र सम्मानलाई संस्थाले निरन्तरता दिँदै आएको हो ।

यस्तो छ, नाइस इतिहास

नाइस अवार्डको यात्रा भने २०२१ बाट सुरु भएको हो । पहिलो नाइस अवार्ड लागुऔषध दुव्र्यसनविरुद्ध लामो समयदेखि अभियान सञ्चालन गर्दै आएका अभिराज क्षेत्रीलाई प्रदान गरिएको थियो । उत्कृष्ट काम गरेको भन्दै उनलाई तत्कालिन नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा खादा, सम्मानपत्र, ट्रफी तथा नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

नाइस अवार्ड २०२२ मा गैरसरकारी संस्थामा क्रियाशील मुस्लिम अगुवा तथा सामाजिक अभियन्ता प्रबेज अली शिद्धिकीलाई प्रदान गरिएको थियो । नाइस नेपालगन्जले २०७९ साउन २३ गते नेपालगन्जमा आयोजना गरेको विशेष कार्यक्रममा सामाजिक रुपान्तरणमा पु¥याएको योगदानको उच्च कदर गर्दै उनलाई नगद १० हजार रुपैयाँसहित दोस्रो नाइस अवार्ड प्रदान गरेको थियो ।

नाइस अवार्ड २०२३ नेपालगन्जका वरिष्ठ पत्रकार झलक गैरेलाई प्रदान गरिएको थियो । नाइस नेपालगन्जको आयोजनामा २०८० साउन २३ गते नेपालगन्जमा आयोजित विशेष कार्यक्रममा तत्कालीन संघीय सांसद डा. धवल शम्शेर राणाले दैनिक नेपालगन्जका प्रधानसम्पादक गैरेलाई नगदसहित अवार्ड प्रदान गरेका थिए । ‘पत्रकारितामा तीन दशक लामो समयदेखि निरन्तर क्रियाशील रही विकास र सकारात्मक पत्रकारितामार्फत सामाजिक रुपान्तरणमा उल्लेखनीय योगदान पु¥याएको भन्दै गैरेलाई अवार्डका लागि छनोट गरिएको थियो,’ नाइस नेपालगन्जका अध्यक्ष भट्टले भने ।

नाइस अवार्डको चौथो संस्कारण सन् २०२४ मा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ स्थित असहाय बाल संरक्षण केन्द्रकी अध्यक्ष तारा वलीलाई प्रदान गरिएको थियो । लामो समयदेखि केन्द्र सञ्चालन गर्दै आएकी वलीलाई लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले नगदसहित अवार्ड प्रदान गरेकी थिइन् ।

नाइस अवार्ड – २०२५ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ निवासी वातावरण संरक्षण अभियन्ता हेमन्तराज काफ्लेलाई गत वर्ष प्रदान गरिएको थियो । नाइस नेपालगन्जले नगद १० हजार रुपैयाँ र सम्मानपत्रसहित काफ्लेलाई उक्त अवार्ड प्रदान गरेको हो । नाइस नेपालगन्जको आयोजनामा गतवर्ष साउन २० गते नेपालगन्जमा आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यतामा अवार्ड प्रदान गरिएको थियो ।

अध्यक्ष भट्टका अनुसार, यस वर्ष छैटौं संस्करणको अवार्ड प्रदान गरेपछि नाइस नेपालगन्जले संस्थाको चौथो अधिवेशनसमेत गर्ने भएको छ । साउन २० गते नै अधिवेशन गर्ने तयारी रहेको संस्थाले जनाएको छ । हरेक वर्ष आयोजना हुँदै आएको नाइस अवार्ड कार्यक्रम सम्पन्न गरेपछि अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरिएको हो ।

‘अवार्ड र अधिवेशन दुवै कार्यक्रमलाई संस्थागत गतिविधिसँग जोडेर अघि बढाउने तयारी नाइस नेपालगन्जको छ,’ संस्थाका अध्यक्ष भट्टले भने, ‘सामाजिक काममा सक्रिय व्यक्तिको पहिचान र सम्मानसँगै संस्थाको आगामी नेतृत्व चयन पनि यही अवसरमा हुनेछ ।’

Exit mobile version