सन्तोष शुक्ल
नेपालगन्ज रोड रेलवे स्टेसन र बहराइच–रुपईडीहा रेलखण्डको निरीक्षणमा पुगेका पूर्वोत्तर रेलवेका मुख्य इन्जिनियर तुषार पाण्डेलाई स्थानीयले यात्रुवाहक रेल सञ्चालन र सहज आवागमनको व्यवस्था गर्न माग गरेका छन् ।
ग्राम सभा सहजना क्षेत्रका स्थानीयले बुधवार रेलमार्ग निर्माणपछि गाउँबाट रुपईडीहा मुख्य सडकतर्फ जाने बाटो प्रभावित भएको भन्दै मुख्य इन्जिनियरसमक्ष मागपत्र बुझाएका हुन् ।
स्थानीयका अनुसार, रेलमार्ग निर्माणपछि गाउँबाट मुख्य सडकसम्म पुग्ने पुरानो आवागमन प्रभावित भएको छ । त्यसको प्रत्यक्ष असर किसान, विद्यार्थी र सर्वसाधारणलाई परेको उनीहरूको भनाइ छ । स्थानीयले सुरक्षित र स्थायी आवागमन मार्गको व्यवस्था गर्न माग गरेका छन् ।
मागपत्र बुझाउँदै उनीहरूले बहराइच–रुपईडीहा रेलखण्डमा यात्रुवाहक रेल सञ्चालनको विषयसमेत उठाएका थिए। उनीहरूका अनुसार रेलखण्डमा रेलवे संरक्षा आयुक्तको निरीक्षण, विद्युतीकरण र गति परीक्षणलगायत अधिकांश प्राविधिक प्रक्रिया पूरा भइसकेका छन् । तर नियमित यात्रुवाहक रेल सेवा भने अझै सुरु भएको छैन ।
सीमावर्ती क्षेत्रका नागरिकको सुविधालाई ध्यानमा राखेर रेल सेवा चाँडै सञ्चालन गर्न स्थानीयले रेलवे प्रशासनसँग आग्रह गरेका छन् । रेल सेवा सञ्चालनमा आए सीमावर्ती क्षेत्रका नागरिकलाई आवागमनमा सहज हुने उनीहरूको अपेक्षा छ ।
यसैबीच पूर्वोत्तर रेलवेका मुख्य इन्जिनियर तुषार पाण्डेले बुधबार निरीक्षण यानमार्फत नेपालगन्ज रोड रेलवे स्टेसन र बहराइच–रुपईडीहा रेलखण्डको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले रेलमार्गको ट्र्याक, स्टेसन परिसर तथा अन्य प्राविधिक व्यवस्थाको अवस्थाबारे जानकारी लिएका थिए ।
निरीक्षणका क्रममा रेलवेका विभिन्न विभागका अधिकारी तथा कर्मचारी पनि सहभागी थिए । मुख्य इन्जिनियरको निरीक्षणका क्रममा नै ग्राम सभा सहजना क्षेत्रका ग्रामीणले आफ्नो समस्या राख्दै मागपत्र बुझाएका हुन् ।
