नाइस अवार्ड २०२६ ममता थापालाई

संगीत साधनाका लागि ओमप्रकाश शर्मा सम्मानित

नेपाली महिला क्रिकेट टोलीकी पूर्व उपकप्तान ममता थापालाई नाइस अवार्ड २०२६ प्रदान गरिएको छ । राष्ट्रिय खेलकुद क्षेत्रमा गरेको योगदान, महिला क्रिकेटको विकासमा खेलेको भूमिका र नयाँ पुस्ताका खेलाडीलाई प्रशिक्षणमार्फत अघि बढाउन गरेको कामको कदर गर्दै थापालाई नगद १० हजार रुपैयाँ र सम्मानपत्रसहित अवार्ड प्रदान गरिएको हो ।

नाइस नेपालगन्जले बुधबार नेपालगन्जमा आयोजना गरेको विशेष समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठ, गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव तथा नाइस नेपालगन्जका सल्लाहकार नमस्कार शाह र नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले संयुक्त रूपमा थापालाई अवार्ड प्रदान गरे।

थापा नेपाली महिला क्रिकेट टोलीकी पूर्व उपकप्तानका रूपमा राष्ट्रिय खेलकुद क्षेत्रमा नेतृत्व, समर्पण र प्रेरणादायी योगदान पु¥याएकी छन् । महिला क्रिकेटको विकास र प्रवद्र्धनमा उनको भूमिकालाई पनि अवार्ड छनोटको आधार बनाइएको नाइस नेपालगन्जले जनाएको छ ।

क्रिकेट प्रशिक्षकका रूपमा उनले नयाँ पुस्ताका खेलाडीको क्षमता अभिवृद्धि, खेलकौशल विकास र अनुशासित खेल संस्कृतिको निर्माणमा योगदान पु¥याउँदै आएकी छन् । खेलकुदबाहेक सामाजिक क्षेत्रका विभिन्न कार्यक्रमलाई सफल उद्घोषकका रूपमा प्रभावकारी, सुसंस्कृत र व्यावसायिक रूपमा सञ्चालन गरेको पक्षलाई समेत उनको योगदानको मूल्यांकनमा समेटिएको थियो ।

बाँकेलाई कार्यक्षेत्र बनाएर समाजमा उदाहरणीय काम गरिरहेका व्यक्तिको खोजी, पहिचान र सम्मान गर्ने उद्देश्यले नाइस नेपालगन्जले हरेक वर्ष नाइस अवार्ड प्रदान गर्दै आएको छ ।

अवार्ड प्रदान गर्ने समारोहमा बोल्दै प्रमुख अतिथि मिना श्रेष्ठले समाजमा सकारात्मक काम गरिरहेका व्यक्तिको योगदानलाई सार्वजनिक रूपमा सम्मान गर्दा उनीहरूलाई थप काम गर्ने ऊर्जा मिल्ने बताइन् । महिलाले समाजमा गरिरहेको राम्रो कामको पहिचान र सम्मानले उनीहरूको सक्रियतालाई थप प्रोत्साहन गर्ने उनको भनाइ थियो ।

अवार्ड ग्रहण गर्दै ममता थापाले नाइस अवार्डबाट सम्मानित भएपछि आफ्नो सामाजिक जिम्मेवारी थपिएको महसुस भएको बताइन् । जीवनका दुःख र संघर्षलाई बाहिर नदेखाई निरन्तर आफ्नो क्षेत्रमा लागिरहेकी आफूले त्यसको प्रतिफलका रूपमा यो सम्मान पाएको उनको भनाइ थियो ।

नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले थापाको नाम अवार्डका लागि घोषणा गर्दा उनको संघर्षको कथाले कार्यक्रममा उपस्थित धेरैलाई भावुक बनाएको बताए । समाजमा निस्वार्थ रूपमा काम गर्ने व्यक्तिको संख्या घटिरहेको अवस्थामा त्यस्ता व्यक्तिको योगदानलाई चिनाउन र अरूलाई पनि सकारात्मक कामका लागि प्रेरित गर्न नाइस अवार्ड सुरु गरिएको उनले बताए ।

’समाजमा निस्वार्थ सेवा प्रवाह गर्नेहरुको संख्या घट्दो छ, यस्तो बेला उनीहरुलाई प्रोत्साहित गर्दै सम्मान गर्न नाइस अवार्ड थालिएको हो,’ भट्टले भने ।

भट्टका अनुसार, नाइस अवार्डलाई केवल सम्मानमा सीमित नराखी समाजमा भइरहेका राम्रा र सकारात्मक कामको प्रचारप्रसार गर्ने अभियानका रूपमा अघि बढाइएको छ । ’सामाजिक रुपान्तरणमा सक्रिय व्यक्तिलाई सम्मान गर्नु यसको एउटा प्रमुख उद्देश्य हो,’ उनले भने ।

नाइस नेपालगन्जले अवार्डसँगै सुन्दर सहर निर्माणको परिकल्पनाअनुसार सरसफाइ र वृक्षारोपणका गतिविधि पनि सञ्चालन गर्दै आएको छ । बालबालिका तथा युवालाई सिर्जनात्मक र सकारात्मक काममा जोड्न विभिन्न क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने कामलाई पनि संस्थाले निरन्तरता दिएको जनाएको छ ।

अवार्ड समारोहमा नेपालगन्ज–११ निवासी ओमप्रकाश शर्मालाई नाइस आजीवन संगीत साधना सम्मान पनि प्रदान गरिएको छ । नेपाली संगीत, कला, संस्कृति तथा मौलिक पहिचानको संरक्षण, संवद्र्धन र विकासमा जीवनको महत्वपूर्ण समय समर्पण गर्दै संगीत क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै शर्मालाई सम्मान गरिएको हो ।

लामो समयदेखि निरन्तर संगीत साधनामा रहेका शर्मालाई प्रमुख अतिथिसहित कार्यक्रममा सहभागी अतिथिहरूले सम्मानपत्र र दोसल्लासहित सम्मान गरे । सम्मानपछि शर्माले कार्यक्रममा संगीत प्रस्तुतसमेत गरेका थिए ।

नाइस अवार्डको यात्रा २०२१ बाट सुरु भएको हो । पहिलो संस्करणमा लामो समयदेखि लागुऔषध दुव्र्यसनविरुद्ध अभियान सञ्चालन गर्दै आएका अभिराज क्षेत्रीलाई अवार्ड प्रदान गरिएको थियो । तत्कालीन नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा उनलाई खादा, सम्मानपत्र, ट्रफी तथा नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

नाइस अवार्ड २०२२ गैरसरकारी संस्थामा क्रियाशील मुस्लिम अगुवा तथा सामाजिक अभियन्ता प्रबेज अली सिद्धिकीलाई प्रदान गरिएको थियो ।

तेस्रो संस्करण अर्थात् नाइस अवार्ड २०२३ नेपालगन्जका वरिष्ठ पत्रकार झलक गैरेलाई प्रदान गरिएको थियो । नाइस नेपालगन्जको आयोजनामा २०८० साउन २३ गते नेपालगन्जमा आयोजित विशेष कार्यक्रममा तत्कालीन संघीय सांसद डा. धवल शम्शेर राणाले दैनिक नेपालगन्जका प्रधानसम्पादक गैरेलाई नगदसहित अवार्ड प्रदान गरेका थिए ।

नाइस अवार्डको चौथो संस्करण २०२४ मा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ स्थित असहाय बाल संरक्षण केन्द्रकी अध्यक्ष तारा वलीलाई प्रदान गरिएको थियो । नाइस अवार्ड २०२५ नेपालगन्ज – १९ निवासी वातावरण संरक्षण अभियन्ता हेमन्तराज काफ्लेलाई प्रदान गरिएको थियो ।

अवार्ड वितरण समारोहमा बुधवार वरिष्ठ पत्रकार झलक गैरे, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाया, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष गोविन्द रेग्मी र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । नाइस नेपालगन्जका संस्थापक अध्यक्ष तथा सल्लाहकार नमस्कार शाहले संस्थाको स्थापना र अवार्ड सुरु गर्नुको उद्देश्यबारे जानकारी दिए ।

नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रम सचिव कमल शाहीले सञ्चालन गरेका थिए । उपाध्यक्ष शोभा थापा मगरले स्वागत गरेकी थिइन् । कार्यक्रममा सरकारी निकाय, गैरसरकारी संस्था र युवासहित १०० भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Exit mobile version