म्याद गुज्रेका सामग्री राख्ने दुई व्यवसायीलाई ५० हजार जरिवाना

रविन्द्र घिमिरे

नेपालगन्जका दुई व्यवसायीले बिक्रीका लागि राखेका ठूलो परिमाणका म्याद गुज्रेका खाद्य तथा उपभोग्य सामग्री फेला परेपछि बुधवार संयुक्त बजार अनुगमन टोलीले कारबाही गरेको छ । नेपालगन्ज–१२ स्थित वेष्टर्न मार्ट प्रालि र नेपालगन्ज–१ धम्बोझीस्थित बर्दिया सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐनबमोजिम जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा बुधवार गरिएको अनुगमनका क्रममा दुवै व्यवसायमा म्याद गुज्रेका सामग्री बिक्रीका लागि राखिएको भेटिएको थियो । अनुगमनपछि ती सामग्री नष्ट गरिएको छ । बर्दिया सप्लायर्समा सञ्चालकको रोहबरमा ३३ हजार २ सय ३७ रुपैयाँ बराबरका म्याद गुज्रेका खाद्य सामग्री नष्ट गरिएको हो ।

वेष्टर्न मार्टबाट पनि २३ हजार ३ सय १३ रुपैयाँ बराबरका म्याद गुज्रेका सामग्री नष्ट गरिएको संयुक्त बजार अनुगमन समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले जानकारी दिए । उनका अनुसार, उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने सामग्री बिक्रीमा राखिएको पाइएपछि कानुनअनुसार कारबाही गरिएको हो ।

अनुगमन टोलीले दुवै व्यवसायमा म्याद गुज्रेका सामग्रीबाहेक अन्य कैफियतसमेत फेला पारेको छ । कतिपय व्यवसायमा मूल्यसूची नराखिएको भेटिएको थियो । केहीले राखेको मूल्यसूचीसमेत अद्यावधिक नगरेको पाइएको छ । सामग्री व्यवस्थापनमा पनि कमजोरी देखिएको गुरुङले बताए ।

उनका अनुसार भेटिएका कमजोरी सुधार्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको छ । आवश्यक सचेतसमेत गराइएको छ । ‘व्यवसायीले उपभोक्ताको हितलाई ध्यानमा राखेर म्याद, मूल्यसूची र सामग्री व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ,’ गुरुङले बताए ।

यसअघि मंगलबार गरिएको बजार अनुगमनमा पनि खाद्य सामग्रीसम्बन्धी कैफियत भेटिएको थियो । अनुगमनका क्रममा कृत्रिम रङ मिसाइएको मासको दाल फेला परेको थियो। उक्त दाल नष्ट गरिएको थियो ।

सोही अनुगमनमा कर बीजक नराखी कारोबार गर्ने एक डिस्ट्रिब्युटर्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको थियो । बजारमा उपभोक्ताको स्वास्थ्य तथा आर्थिक हितमा प्रतिकूल असर पार्ने गतिविधि रोक्न अनुगमनलाई निरन्तरता दिइएको हो ।

बजारमा वस्तुको गुणस्तर, मूल्य र बिक्रीका लागि राखिएका सामग्रीको म्यादलगायत विषयमा नियमित निगरानी गरिरहेको अनुगमन टोलीले जनाएको छ । व्यवसायीलाई प्रचलित कानुनअनुसार कारोबार गर्न र उपभोक्तालाई बिक्री गरिने सामग्रीको गुणस्तर तथा म्यादबारे सचेत रहन पनि निर्देशन दिइएको छ ।

संयुक्त बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाका प्रतिनिधि सहभागी थिए। उपभोक्ता हित संरक्षण मञ्च तथा नेपाल पत्रकार महासंघका प्रतिनिधिको पनि अनुगमनमा सहभागिता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा भइरहेको संयुक्त अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने तयारी छ । बजारमा म्याद गुज्रेका सामग्री बिक्री हुने अवस्था रोक्न, व्यवसायीले अनिवार्य रूपमा मूल्यसूची राख्ने व्यवस्था कार्यान्वयन गराउन र उपभोक्ता अधिकार संरक्षणलाई प्रभावकारी बनाउन अनुगमनलाई सघन बनाइएको हो ।

Exit mobile version