बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठकले महिला, बालबालिका तथा जोखिममा रहेका समुदायको सुरक्षा र संरक्षणलाई प्राथमिकतामा राख्दै आगामी गतिविधिका लागि साझा कार्ययोजनामा जोड दिएको हो ।
बैठकमा स्थानीय मानव बेचबिखन नियन्त्रण समितिले यसअघि गरेका कामको समीक्षा गरिएको थियो । समुदायमा सञ्चालन भइरहेका सचेतनामूलक गतिविधि, सरोकारवालाबीचको सहकार्य र स्थानीय स्तरमा उपलब्ध प्रतिक्रिया प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा सहभागीबीच छलफल भयो ।
बैठकले मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय सरकार, नागरिक समाज, सामुदायिक संस्था र विकास साझेदारबीच निरन्तर सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ । महिला तथा बालबालिकाको अधिकार संरक्षणलाई केन्द्रमा राखेर स्थानीय तहबाट सञ्चालन हुने कार्यक्रमलाई अझ प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो ।
राजापुर नगरपालिकाकी उपप्रमुख तथा स्थानीय मानव बेचबिखन नियन्त्रण समितिकी संयोजक मनकला कुमारी चौधरीको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा समितिका सदस्य तथा सम्बन्धित सरोकारवालाको सहभागिता थियो ।
बैठकलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाईले मानव बेचबिखन नियन्त्रणसँगै महिला र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न स्थानीय शासन प्रणालीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । ’नगरपालिका, नागरिक समाज, सामुदायिक संस्था तथा अन्य सरोकारवालाबीचको निरन्तर सहकार्यबाट मात्रै मानव बेचबिखन रोकथाम तथा सुरक्षित, सम्मानजनक र समावेशी समाज निर्माण सम्भव हुन्छ,’ उनले भने ।
बैठकमा बाँके युनेस्को क्लबका परियोजना संयोजक इश्वर बिकले सुरक्षा परियोजनाअन्तर्गत हालसम्म भएका प्रगति र प्रमुख उपलब्धिबारे जानकारी दिए । उनले सञ्चालनमा रहेका गतिविधि र आगामी कार्ययोजनासमेत प्रस्तुत गरे ।
उनले समुदायस्तरमा सञ्चालन गरिएका सचेतनामूलक अभियान, क्षमता अभिवृद्धि कार्यक्रम तथा सरोकारवालाबीचको सहकार्यबारे जानकारी गराए। स्थानीय सरकारसँगको साझेदारीमार्फत मानव बेचबिखन रोकथामको दिगो प्रणाली विकास गर्न भइरहेका प्रयासलाई पनि उनले प्रस्तुतिमा समेटेका थिए ।
बैठकको समन्वय तथा सहजीकरणमा बाँके युनेस्को क्लबले सहयोग गरेको हो । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबले सञ्चालन गरेको सुरक्षा परियोजनाअन्तर्गत स्थानीय मानव बेचबिखन नियन्त्रण समितिको बैठकमा सहयोग गरिएको क्लबले जनाएको छ ।
बैठकमा आगामी दिनमा जनचेतनामूलक अभियानलाई थप विस्तार गर्ने विषयमा पनि छलफल भयो । स्थानीय स्तरमा मानव बेचबिखनका जोखिम पहिचान गर्ने, आवश्यक अवस्थामा प्रभावकारी प्रतिक्रिया दिने तथा सरोकारवालाबीचको समन्वयलाई अझ बलियो बनाउने रणनीति तय गरिएको थियो ।
महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरीले कार्यक्रम सञ्चालन गरिन् । उनले सहभागीलाई स्वागत गर्दै स्थानीय तहमा मानव बेचबिखन नियन्त्रणसम्बन्धी कार्यक्रम प्रभावकारी बनाउन स्थानीय सरकार, सरोकारवाला निकाय र विकास साझेदारबीच नियमित समन्वय तथा सहकार्य आवश्यक रहेको बताइन् ।
बैठकको अन्त्यमा सहभागी सरोकारवालाले महिला तथा बालबालिकाको अधिकार संरक्षण, मानव बेचबिखिन रोकथाम र स्थानीय शासन प्रणालीलाई प्रभावकारी बनाउने विषयमा साझा प्रतिबद्धता व्यक्त गरे। सुरक्षित, समावेशी र उत्थानशील समुदाय निर्माणका लागि स्थानीय स्तरबाट निरन्तर काम गर्ने उनीहरूको प्रतिबद्धता थियो ।
बाँके युनेस्को क्लबले पनि प्लान इन्टरनेशनल नेपाल र स्थानीय सरकारसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ । ‘मानव बेचबिखिनमुक्त, सुरक्षित र सम्मानजनक समाज निर्माणका लागि समुदायमा आधारित दिगो प्रयासलाई आगामी दिनमा थप सशक्त बनाउने क्लबको प्रतिबद्धता छ,’ अध्यक्ष प्रवेजअली सिद्धीकीले दैनिक नेपालगन्जसँग भने ।
