विद्यार्थीका हातबाट सूर्य ढकालको पुस्तक विमोचन

एमालेको कार्यक्रममा देखियो नयाँ शैली

नेकपा एमालेको परम्परागत कार्यक्रम शैलीभन्दा फरक ढंगले कोहलपुरमा पूर्वमाननीय तथा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकालद्वारा लिखित ‘विचार, संघर्ष र रूपान्तरण’ पुस्तक सार्वजनिक गरिएको छ । लामो भाषण, घण्टौँसम्म चल्ने आसनग्रहण र ठूला नेताबाट उद्घाटन तथा विमोचन गराउने परम्परालाई छाड्दै पुस्तकको विमोचन उत्कृष्ट १० विद्यार्थीको हातबाट गरिएको हो ।

नेकपा एमाले जिल्ला शिक्षा तथा मानव स्रोत विभाग बाँकेको आयोजनामा भएको कार्यक्रममा कोहलपुर क्षेत्रका उत्कृष्ट विद्यालयका उत्कृष्ट विद्यार्थीलाई विमोचनको जिम्मेवारी दिइएको थियो । निर्धारित समयमा सुरु भएको कार्यक्रम पनि तोकिएकै समयमा सकिएको आयोजकले जनाएको छ ।

पुस्तक विमोचनको यो शैलीलाई पार्टीभित्रको वैचारिक सामग्री नयाँ पुस्तासम्म पु¥याउने प्रयासका रूपमा लिइएको छ । राजनीतिक कार्यक्रमलाई लामो औपचारिकताबाट बाहिर निकालेर विद्यार्थी तथा युवालाई प्रत्यक्ष रूपमा जोड्ने अभ्यासका रूपमा पनि सहभागीहरूले कार्यक्रमलाई लिएका छन् ।

‘विचार, संघर्ष र रूपान्तरण’ पुस्तकमा लेखक ढकालले विसं २०८३ भदौ २३ र २४ मा भएका घटनापछि देशभित्र र बाहिर विकसित राजनीतिक, सामाजिक तथा वैचारिक परिस्थितिका क्रममा आफूले व्यक्त गरेका धारणा, चिन्ता र निष्कर्षलाई समेटेका छन् । विभिन्न समयमा लेख, टिप्पणी र विश्लेषणका रूपमा सार्वजनिक भएका सामग्रीलाई पछि पुस्तकको स्वरूप दिइएको उनले बताएका छन् ।

ढकालका अनुसार, ती सामग्री पत्रपत्रिका, अनलाइन माध्यम तथा विभिन्न सामाजिक बहसका क्रममा प्रकाशित भएका थिए। समयक्रममा साथी, शुभेच्छुक र पाठकबाट ती सामग्रीलाई पुस्तकका रूपमा ल्याउन सुझाव आएपछि संग्रह प्रकाशनको निर्णय गरिएको हो । उनले इतिहासलाई वर्तमानसँग जोड्दै भविष्यको बाटो पहिल्याउने उद्देश्यले पुस्तक पाठकमाझ ल्याइएको बताएका छन्।

पुस्तकमा समावेश सामग्रीलाई उनले आफ्नो व्यक्तिगत विचार र दृष्टिकोणका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार पुस्तक कुनै पूर्वनिर्धारित सिद्धान्तगत ग्रन्थ नभई तत्कालीन घटना, राष्ट्रिय परिस्थिति, जनभावना र वैचारिक संघर्षका क्रममा अभिव्यक्त भएका विचारहरूको संग्रह हो ।

त्यसैले पुस्तकमा रहेका केही विषय, चिन्ता र निष्कर्ष विभिन्न लेखमा दोहोरिएजस्तो देखिन सक्ने उनले स्पष्ट पारेका छन् । परिवेश एउटै भए पनि घटना र प्रसंग फरक रहेकाले कतिपय विषय समान र कतिपय फरक कोणबाट प्रस्तुत भएको उनको भनाइ छ । प्रकाशित हुँदाको मूल भावनालाई जोगाउँदै लेखहरूलाई पुस्तकमा समावेश गरिएको र कृत्रिम रूपमा काटछाँट वा परिमार्जन नगरिएको उनले बताएका छन् ।

संग्रहमा ‘समृद्धि बाँकेको साझा एजेन्डा’, ‘कम्युनिस्ट आन्दोलनको रक्षा र विकास’, ‘राष्ट्रियता र लोकतन्त्र’, ‘विश्व मजदुर आन्दोलन र समाजवादी चेतनाको विकास’, ‘कानुन निर्माणको प्रक्रिया र अध्यादेश’, ‘नेपालको जियोपोलिटिक्स’, ‘युवाहरूको अवस्था, चुनौती र सम्भावना’, ‘राजनीतिक बहस’ र ‘केपी ओली विकास र राष्ट्रियता’ लगायत ३३ वटा शीर्षक समेटिएका छन् ।

पुस्तकका लेखमार्फत राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, जनजीविका, समाजवाद, इतिहास, वैचारिक संघर्ष, आर्थिक संकट, भू–राजनीति र नेपाली राजनीतिका समसामयिक विषयलाई विभिन्न कोणबाट उठाइएको छ । पुस्तकमा समेटिएका सामग्री एउटै विषयमा केन्द्रित नभई पछिल्लो राजनीतिक तथा सामाजिक अवस्थासँग सम्बन्धित विभिन्न पक्षमा फैलिएका छन् ।

ढकालले भदौ २३ र २४ का घटनाले नेपाली समाजलाई गम्भीर रूपमा तरंगित बनाएको अनुभव गरेको उल्लेख गरेका छन्। ती घटनापछि राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका मूल प्रश्न ओझेलमा पर्न सक्ने तथा विदेशी हस्तक्षेप खुला रूपमा बढ्न सक्ने खतरा देखिएको उनले बताएका छन् ।

राजनीतिक अस्थिरतासँगै आर्थिक, सामाजिक र कानुनी अस्थिरता थप गहिरिन सक्ने उनको चिन्ता छ । समाजमा अराजकता, दण्डहीनता र अविश्वास बढ्दै गए त्यसको असर अन्ततः राष्ट्रको क्षमतामाथि पर्ने उनको निष्कर्ष छ। देशलाई असफल राष्ट्रको दिशातर्फ लैजाने प्रवृत्तिबाट सचेत गराउनु पनि पुस्तकमा समेटिएका लेखहरूको एउटा उद्देश्य रहेको उनले बताएका छन् ।

इतिहासलाई राष्ट्रको आत्माका रूपमा व्याख्या गर्दै ढकालले वर्तमान बुझ्न र भविष्यको बाटो पहिल्याउन इतिहासको अध्ययन आवश्यक रहेको धारणा राखेका छन्। समाज, राजनीति र विचारको विकासक्रम स्थिर नरहने उनको भनाइ छ ।

उनले एउटै सन्दर्भलाई बुझाउन बालकले पहिलो पटक ‘बा’ भनेर बोल्दा परिवारमा खुसी छाउने तर त्यही बालक वर्षौंसम्म त्यही शब्दमै सीमित रह्यो भने चिन्ताको विषय बन्ने उदाहरण दिएका छन् । समाज र राजनीतिलाई पनि उनले यही गतिशील प्रक्रियासँग तुलना गरेका छन् । त्यसैले घटनामा आधारित आफ्ना लेखलाई त्यतिबेलाको समय, परिस्थिति र चेतनाको अभिव्यक्तिका रूपमा बुझ्न पाठकलाई आग्रह गरेका छन् ।

‘विचार, संघर्ष र रूपान्तरण’ लाई अन्तिम सत्यका रूपमा नलिई बहस र विमर्शको आधारका रूपमा लिनुपर्ने लेखकको धारणा छ । पुस्तकले आफ्नो विचार, भावना र दृष्टिकोण बुझ्न पाठकलाई सहयोग गर्ने विश्वास उनले व्यक्त गरेका छन् । साथै पुस्तकमा उठाइएका विषयले राष्ट्रिय बहसलाई थप गम्भीर, जिम्मेवार र तथ्यपरक बनाउन सानो योगदान पु¥याउने अपेक्षा पनि उनले गरेका छन् ।

पुस्तक प्रकाशनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने साथी, शुभेच्छुक, पाठक र परिवारजनप्रति ढकालले आभार व्यक्त गरेका छन् । उनीहरूको साथ, सुझाव र प्रेरणाले पुस्तक प्रकाशन सम्भव भएको उनले बताएका छन् ।

कार्यक्रममा एकराज शर्मा, इच्छा घर्ती र अपिल लम्सालले पुस्तकका विषयवस्तुमाथि चर्चा गरेका थिए । उनीहरूले पुस्तकमा उठाइएका राजनीतिक, सामाजिक तथा वैचारिक विषयबारे आफ्ना धारणा राखेका थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि पुस्तक र समसामयिक विषयसँग जोडेर आफ्ना विचार तथा अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अध्यक्षता सूर्य रोकायले गरेका थिए भने सञ्चालन खेमराज शर्माले गरे । नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागको आयोजनामा भएको कार्यक्रममा कोहलपुरका उत्कृष्ट विद्यालयका उत्कृष्ट विद्यार्थीको सहभागिता रहेको थियो ।

Exit mobile version