मानव इतिहासमा घटेका प्रलयकारी घटनाहरुमा जापानको हिरोसिमा र नागासाकी सहरमा घटेको परमाणु बम विष्फोटन जस्तो सायदै कुनै होला । सन् १९४५ को अगष्ट महिनाको ६ र ९ तारिखमा दुईवटा छ्ुट्टाछुट्टै सहरमा भएको परमाणु वम विस्फोटनमा परी हजारौंहजार जनताको तत्कालै भएको हताहती र त्यसको प्रभावले पछिल्ला दिनहरूमा लाखौंलाख जीवनहरूलाई यो वा त्यो रूपमा नकारात्मक प्रभाव पारेको छ र अहिले पनि पारि नै रहेको छ । जापानका दुई सहर हिरोसिमा र नागासाकीको त्यो भयङ्कर घटनाको सन् २०२६ को अगष्ट महिनाको पहिलो हप्तामा ८१ वर्ष पूरा हुँदैछ ।

यो सम्झनाले मानव मष्तिस्कमा ठूलो चोट आज पर्यन्त दिइराखेको छ । आज जापानको हिरोसिमा र नागासाकी सहरमा परमाणु बमले ध्वंस मच्चाएको ८१ वर्ष पुग्दै गर्दा त्योे कहरको प्रभाव आजसम्म पनि महसुस हुन्छ, त्यसैले लाग्छ समय अलिक ढिलो गरी बितिरहेको छ । त्यो विभत्स घटनाको घाउ सदा बल्झिरहेको महसुस हुन्छ । ज्ञान– विज्ञानका रचनात्मक उत्पादनलाई विध्वंम्सको औजार बनाइएका घटना इतिहासमा अनेकौ छन् । तिनीहरूमा सबै भन्दा खतरनाक र दीर्घकालिन प्रभाव पार्ने घटना जापानका माथि गराइएकोे परमाणु बमको प्रहार नै हो ।
आजको जमाना विज्ञान र प्रविधिले उधुम नै प्रगति गरेको भएता पनि समाज र देशका वलिया र कमजोर बिच, सम्पत्र राष्ट्रहरू बिच पनि प्रभुत्वको द्वन्द छ । यसै गरि राष्ट्रिय अहँकार तथा अन्तर्राष्ट्रिय प्रभुत्व कायम गर्ने र प्राकृतिक श्रोत साधन उपभोगका लागि मात्र नभएर आजको युगमा त अन्तरिक्षमा समेत द्वन्दको प्रवृति बढिरहेको छ । यी द्वन्दहरूबाट निर्दोष जनताहरू नै मारमा परिरहेका छन् । किनकी आम जनताका जीवनस्तर उकास्नमा लगाउनु पर्ने श्रोत साधन हातहतियार र प्रभुत्व कायम गर्ने नकारात्मक कार्यमा लगाइएको छ । । विज्ञान र प्रविधिको क्षेत्रमा बिसौं शताब्दीमा चमत्कारपूर्ण आविष्कार र नवप्रवर्तनहरू भएका हुन् तर भयावह हुनेगरी विज्ञान र प्रविधिका चरम दुरूपयोग गरिएको उदाहरण हो जापानमा घटाइएको परमाणू बमकोे विष्फोटन । यसको कहरले त्यहाँ प्रत्यक्ष उत्पत्र गरेको अकल्पनिय भोगाइसम्म पुग्दा त्यस घटनाको पृष्ठभूमिमा थोरै विचार गर्नु आवश्यक देखिन्छ ।
सन् १९१४ मा अष्ट्रियाका फ्रान्ज फर्डिनान्डको सर्वियामा भएको हत्या नै प्रथम विश्वयुद्धको कारण बन्न पुग्यो । विभित्र देशहरूमा हुर्कदै गरेको अन्ध राष्ट्रवाद, साम्राज्यवाद, देशहरूविच गुट समूहहरूको निर्माण र सैन्यवाद जस्ता थुप्रै कारणहरू भएता पनि उक्त हत्याले सम्पूर्ण यूरोप महादेशमा अस्थिरता निम्त्यायो । प्रथम विश्वयुद्ध (सन् १९१४–१९१८) ले यूरोपमा पैदा गरेको अस्थिरताले अन्तर्राष्ट्रिय द्वन्द सिर्जना गरेको थियो र त्यसको दुई दशकपछि दोश्रो विश्वयुद्ध सुरू गरायो । प्रथम विश्वयुद्धलाई अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको सन् १९१९ को भर्सेलिज सन्धिमा भएका विभित्र प्रावधानहरूले गर्दा जर्मनीमा एक प्रकारको असन्तोष उत्पत्र भएको थियो र जर्मन जनताको असन्तुष्टिलाई प्रतिनिधित्व गर्दै जर्मनीका हिटलर अगाडि बढदै गर्दा सेम्टेम्बर १, १९३९ मा पोल्यान्डमाथि आक्रमण गरिएको थियो । त्यसको दुईदिन पछि बेलायत र फ्रान्सले हिटलरको नाजी जर्मनीसित युद्धको घोषणा गर्नासाथ दोश्रो विश्वयुद्धको सुरूवात भएको थियो ।
दोश्रो विश्वयुद्धको सुरूवाती वर्षमा संयुक्त राज्य अमेरिका आन्तरिक सशक्तीकरणमा लागेको हुनाले युद्धमा प्रत्यक्ष सामेल भएको थिएन । दोश्रो विश्वयूद्ध अगाडि बढ्दै जाँदा यूरोपमा हिटलर नेतृत्वको नाजी जर्मनी केन्द्रविन्दुमा रहन पुग्दा जर्मनीद्वारा अष्ट्रिया, तत्कालिन चेकोस्लोभाकिया, बेल्जियम, डेनमार्क र नर्वे आदि देशहरूमा कब्जा तथा आक्रमणका प्रयासहरू भए । अर्कोतिर एसियाको महाशक्ति राष्ट्रको रूपमा रहेको जापान र आफ्नो साम्राज्य र सैन्यशक्ति बढाउँदै लगेको अवस्थामा दोश्रो विश्वयुद्धमा प्रत्यक्ष संलग्न नदेखिएको अमेरिकाको हवाइ राज्यको पर्लहार्बरमा एक्कासी र कल्पनै नगरिएको जापानी आक्रमणपछि दोश्रो विश्वयुद्धमा नयाँ र खतरनाक मोड आएको मान्न सकिन्छ । अमेरिकाको शक्तिशाली जल तथा वायूसेनालाई ध्वस्त पारेर एसिया प्रशान्त क्षेत्रमा आफ्नो प्रभुत्व विस्तार गर्ने हेतुले जापानले डिसेम्बर ७, १९४१ आइतवारका दिन अमेरिकाको हवाइ राज्यको पर्लहार्बरमा सेनाको सैन्य अड्डामा अप्रत्यासित र निर्मम आक्रमण गरेको थियो । पर्लहार्वर अमेरिकी सेनाका ठूलाठूला जङ्गी युद्धपोतहरू राखिएको थियो । पर्लहार्बरमा ठूलो संख्यामा पानीजहाज, हवाई जहाज र युद्धपोतहरूको क्षति गराइएको थियो । लगभग दुई हजार चारसयको मृत्यु र एकहजार जना घाइते भएका थिए । उक्त आक्रमणको एकदिन पछि संयुक्त राज्य अमेरिकाका तत्कालिन राष्ट्रपति फ्रेङ्कलिन रूजवेल्टले पनि जापानका विरूद्ध युद्धको घोषणा गर्न पुगेका थिए ।
विश्लेषक र इतिहासकारहरूले पर्लहार्बर घटना नै परमाणु बमको निर्माण र त्यसको ध्वंसात्मक प्रयोगको कारक र सुरूवात रहेको बताएका छन् । पर्लहार्बर आक्रमणपछि राष्ट्रपति रूजवेल्टको निर्देशनमा अमेरिकाले बम बनाउने कामको लागि अतिगोप्य रूपमा म्यानहाटन परियोजना सुरू ग¥यो । म्यानहटन परियोजनाको लागि अमेरिकी राष्ट्रपति फ्रैन्कलिन रूजबेल्टले डिसेम्बर २८, १९४२ मा स्वीकृति दिएका थिए । त्यस महात्वाकांक्षी परियोजनाको लागि तमाम वैज्ञानिकहरू र सैन्य अधिकृतहरूलाई परमाणु बम बनाउने काममा खटाइएको थियो । यो यति गोप्य परियोजना थियो कि राष्ट्रपति रूजबेल्टले आफ्ना उपराष्ट्रपति ह्यारी ट्रुम्यानसम्मलाई पनि थाहा दिइएको थिएनन् ।
यसक्रममा यूरेनियम – २३५ र प्लुटोनियम – २३९ प्रयोग गरिएका बमहरू बनाउन सफलता प्राप्त गरिसकेपछि तिनको सफल परिक्षण पनि न्युमेक्सिको राज्यको विरान ठाउँमा गरिएको थियो । एसिया प्रशान्त क्षेत्रमा जापान र अमेरिकाको बिचमा युद्ध चर्किरहेको अवस्थामा अप्रिल १२, १९४५ मा अमेरिकी राष्ट्रपति रूजबेल्टको निधनपछि राष्ट्रपति बनेका ट्रुमेनले जापानलाई विना शर्त आत्मसमर्पण गर्न चेतावनी दिएका थिए । जापानले यदि आत्मसमर्पण गरेन भने यो नयाँ बनाइएको प्रलय ल्याउन सक्ने हतिहार जापानमाथि प्रयोग गरिने छ भनेर अमेरिकाले धम्क्याएको कुरा विश्वयुद्धको इतिहासमा उल्लेख गरेको पाइन्छ । युद्ध विराम नभएपछि विश्व इतिहासमा सन् १९४५ को अगष्ट ६ को भयानक दिन र समय पनि आयो । जापानी समय अनुसार बिहानको आठ बजे हिरो जस्ता सुन्दर हिरोसिमा सहरमा सूर्य उदाएर झलमल्ल हुँदै थियो त्यतिनै बेला अमेरिकी वम वर्षक बिमानबाट बम खसालियो र पूरै सहर आगोको लपेटोमा ताप र विकिरणमा जकडियो । जसमा लगभग ९०५ हिरोसिमा सहर ताप र रापले गर्दा ध्वंस भयो र तत्कालै करीव असी हजार भन्दा बढी मानिसले ज्यान गुमाउन पुगे । जापान लगायत विश्वभरी कोलाहल मच्चियो र संसारको लागि यो घटना कल्पना बाहिरको थियो । यसै बीचमा तीन दिनपछि ९ अगस्तका दिन नागासाकीमा अर्को बम खसालियो । बम दुई पहाडको बिचमा खस्न पुगेकोले तुलनात्मक रूपमा कम क्षति भएको थियो । नागासाकीको त्यो विपतमा चालिस हजार जनाले मृत्युवरण गर्नु परेको थियो । मानव इतिहासकै सबैभन्दा भयङ्कर, नयाँ तथा क्रूर घटनाले जापानी सम्राट हिरोहितोले अगस्त १५ का दिन रेडियो सन्देशबाट आत्मसमर्पण गरेको घोषणा गर्नुप¥यो । पछिल्ला प्रभावहरू तापको राप र रेडियो विकिरणको कारणले गर्दा हिरोसिमामा १,५०,००० र नागासाकीमा ७५,००० जनाको मृत्यु भएको थियो । जापानी सम्राट हिरोहितो त्यस बीभत्स घटना पछिका दिनहरूमा जीवनभर दुःखी रहनुप¥यो र विश्वयुद्धताकाका जापानी प्रधानमन्त्री तोजो हिडेकीलाई आत्महत्याको प्रयास गर्नुपर्ने तहसम्म पु¥यायो र पछि जापानको हारको कारक ठान्दै पछि मृत्युदण्डको सजाय दिइएको थियो ।
वर्तमान विश्वले रूस र युक्रेनको युद्धमा भयानक त्रासदी व्यहोरिरहेको छ । वर्तमान अवस्थामा विश्वमा अहिले पनि यस्तै खालका ध्वंस गर्ने हिसाबले विकास गरिएका घातक हातहतियारहरूको डरलाग्दो होडबाजी चलिरहेको छ । रूस र युक्रेन दुवै परमाणु हतियार भएका मुलकहरू भएको हुनाले परमाणु हतियारको प्रयोग होलाकी भत्रे त्रास पनि कायमै रहेको छ । संयुक्त राष्ट्र संघ मार्फत यस्ता क्रियाकलाप तथा होडबाजीलाई निस्तेज पार्नका लागि पहल गर्न प्रयास गरिए तापनि वास्तविक धरातलमा त्यो सफल हुन सकिराखेको छैन । भोक र गरिबीबाट मुक्तहुन एउटा ठूलो हिस्सा संघर्ष गरिरहेको छ भने हतियारको होडबाजीमा ठूलो धनराशी खर्च भइराखेको छ । परमाणु हतियार शक्ति सम्पन्न राष्ट्रहरूले नै भण्डारण गरेको हुनाले र यस्तै हतियारहरूको विकास र तिनका परीक्षणहरूले पनि मानव सभ्यतालाई विभिन्न कोणबाट चुनौति थपिदै गएका छन् । सँयुक्त राष्ट्र संघ शक्ति राष्ट्रहरूको सन्दर्भमा कठोर बत्र सकेको देखिदैन । आजभन्दा ८१ वर्ष पहिले घटेको घटनाको दीर्घकालीन प्रभाव अहिले पनि परिराखेको छ । शारीरिक विकृति, रक्त क्यान्सर लगायत तमाम आणुवंशिक रोगहरू र उत्परिवर्तनका घटनाहरू आजपर्यन्त देखापरिरहेका छन् । यसैगरी मध्यपूर्वमा देखापरेको द्वन्द्वले विश्वलाई नै भयानक आर्थिक मन्दितर्फ लैजाने खतरा छ । हिरोसिमा र नागासाकीको त्यो प्रलयकारी घटना र त्यसबाट मानवजातिले चुकाउनु परेको पीडा कति गहिरो बनेर मन मस्तिष्कमा रहेको छ भन्ने कुराको अनुमान मात्र पनि लगाउन गाह्रो हुन्छ ।
प्रत्येक घटना साना वा ठूला किन नहुन् तिनको अन्तर्यमा धेरै कुराहरू लुकेका हुन्छन् । दोश्रो विश्वयुद्घ चलिरहँदा चीनमा माअोत्सेतुङ्गको नेतृत्वमा सामाजिक तथा राजनीतिक रूपान्तरणको क्रान्ति चलिरहेको अवस्था थियो जो अहिले एशियाली राष्ट्रहरू मध्ये महाशक्तिको रूपमा उदियमान छ । जापानमा घटेको त्यो विभत्स घटनाले जापान संगै यूरोपको पनि हार भयो । विश्वको पहिलो परमाणु वमको आविष्कार र त्यसको सफल परीक्षण गरेपछि अन्तर्राष्ट्रिय राजनीतिमा रूपान्तरण भयो । सामुहिक विनाशको अत्यन्त शक्तिशाली हतियारको कारण शक्ति सम्पन्न राष्ट्रहरूको प्रतिस्पर्धामा नयाँ आयाम थपियो । दोश्रो विश्व युद्धपछि मध्यम विश्वशक्ति रहेको अमेरिका विश्वको नेतृत्व गर्ने शक्तिशाली देशको रूपमा उभिन पुग्यो । तिब्ररूपमा शक्ति र प्रभावमा भएको बढोत्तरीका कारण अमेरिकाका थप जिम्मेवारीहरू विश्वमाझ बढेर गए । अक्टोवर १९४५ मा सँयुक्त राष्ट्र सँघको गठनमा अमेरिकाको नेतृत्वदायी भूमिका रह्यो । द्वितीय विश्वयुद्धपछि दुई धु्रबिय सँयुक्त राज्य अमेरिका र सोभियतसँघ बिच लामो समय चलेको शीतयुद्धको चपेटामा विश्व परे तापनि हिरोसिमा र नागासाकी जस्ता अप्रिय घटना हुन पाएनन् ।
हिरोसिमा र नागासाकीमा परमाणु वम विस्फोट गराइएको ८१ वर्षपछि विश्व फेरि एउटा नयाँ मोडमा उभिएको छ । इतिहासबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बेलामा विश्वमा राष्ट्रहरूको सुरक्षा संयन्त्र मात्र होइन, मानव सभ्यतालाई धानेका वातावरणिय स्वास्थ्य र प्रणालीहरूलाई समेत गम्भिर क्षति पु¥याइरहको छ । परमाणु वम विष्फोटनलाई अन्य विपत्तीहरू भन्दा भिन्न बनाउने कुरा केवल यसको विनाशकारी शक्ति मात्र होइन यस्ता विष्फोटनहरूले सम्पूर्ण पारिस्थितिकी र जलवायु प्रणाली तथा विश्व खाद्यसुरक्षालाई समेत संकटमा लैजाने क्षमता राख्दछन् । वर्तमान विश्वमा ऊर्जाको बढ्दो माग पुरा गर्न परमाणु शक्तिको शान्तिपूर्ण उपयोग अपरिहार्य बन्दै गइरहेको छ । नेपालका छिमेकी भारत, चीन र पाकिस्तान पनि परमाणु शक्ति सपत्र राष्ट्रहरू भएका हुनाले त्रिकोणात्मक द्वन्दमा जानि नजानी हुन सक्ने सम्भावित दूर्घटनाद्वारा बाँच्न नेपालले अगाल्नु पर्ने नीति तथा कार्यक्रमका बारेमा पनि सचेतनतासँगै ठोस नीति अपनाउनु आवश्यक छ । संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय सुरक्षा वातावरणलाई कायम राख्न र प्रयोगलाई शान्तिपूर्ण बनाउन राज्यहरू बिच बढ्दो द्वन्द्वका सन्दर्भमा शान्ति कायम राख्ने उपायहरू खोज्दै सैन्यकरण मुक्त बनाउन अझ पहल गर्नुपर्दछ । मानव सभ्यतालाई बचाउन र समग्र विश्व वातावरणीय सुरक्षाको दृष्टिकोणले परमाणु वमको निर्माण, परीक्षण र प्रयोगमा बन्देज लागिनु पर्दछ नागासाकीमा। हिरोसिमा र नागासाकी घटनाको स्मृति वार्षिकीको यस घडीमा सम्पूर्ण दिवङ्गतजनमा भावपूर्ण शब्द श्रद्धाञ्जली !
(डा. शर्मा त्रिभुवन विश्वविद्यालय, रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक हुनुहुन्छ ।)